१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चुनावका लागि तराईका सीमा ७२ घण्टा सिल गरिने

भारत विहारको सीतामढीस्थित कलेक्टरियट कार्यालयमा भएको ‘क्रस बोर्डर’ बैठकमा सहभागीहरू । तस्बिर : नागरिक

महोत्तरी  – आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको दोश्रो चरणको निर्वाचनका लागि भारतको सितामढी जिल्ला संग जोडिएको महोत्तरी, सर्लाही र रौतहट जिल्लाका एक सय ६ किलोमिटर सीमा ७२ घण्टा(तीन दिन)को लागि सिल गर्ने निर्णय भएको छ ।

भारत विहारको सीतामढीस्थित कलेक्टरियट कार्यालयमा भएको ‘क्रस बोर्डर’ बैठकमा निर्वाचनकोे बेला सुरक्षा अवस्था चुस्तदुरुस्त पार्न र निर्वाचनमा खलल पुग्ने सक्ने अवांक्षित गतिविधि नियंत्रण गर्न डिसेम्बर महिनाको ५ तारिख मध्ये रातिदेखि मतदान अवधिभर सीमा सील गर्ने निर्णय भएको हो।
 
चुनावी सुरक्षा केन्द्रित गरेर आयोजना गरिएको उक्त वैठकले चुनावको शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखि भारतको सितामढी जिल्लासंग सिमा जोडिएका महोत्तरी , सर्लाही , र रौतहट जिल्लाको सिमा ७२ घण्टा (तीनदिन)को लागि सिल गर्ने निर्णय भएको जानकारी प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले दिएको छ। 

‘प्रतिनिधि सभा र प्रदेश सभा चुनावको बेला खुल्ला सिमाको फाइदा उठाउँदै अपराधिक समूहले चलखेल गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी तीन वटै जिल्लाको सीमा सिल गर्ने सहमति भएको हो ।’ प्रजिअ श्रेष्ठले भने ‘ सीमा सिल भएको अवधिमा कसैलाई पनि सिमावर्ती क्षेत्र भएर आवतजावत गर्न पूर्णरुपमा रोक लगाइने छ ।’

भारत विहारको सितामढी जिल्लासंग जोडिएको महोत्तरीको ३८ किलोमिटर, सर्लाहीको ५२ किलोमिटर र रौतहटको १६ किलोमिटर सीमा गरी एक सय ६ किलोमिटर सीमा सिल गरिने उनले बताए।
  
क्रस बोर्डर बैठकमा साना हथियारको चलखेल र यसले निर्वाचनका बेला पार्ने असर बारे समेत गंभीर छलफल भएको प्रजिअ श्रेष्ठले बताएको छ। 

भारतीय सीमासंग जोडिएका नेपालका महोत्तरी, सर्लाही र रौतहट जिल्लाका पदाधिकारी र भारत विहारको सीतामढी जिल्लाका समकक्षिबीच निर्वाचन लगायत समसामयिक विषयमा करिव ४ घण्टा लामो बैठक चलेको र निर्वाचन अवधिभर दुवैतर्फका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्तरुपमा सघन गस्ती र सुरक्षाकर्मी परिचालन बढाउने सहमति समेत भएको छ।

भारतसँग सीमा जोडिएका प्रदेश २ का ८ जिल्लामा मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुँदैछ। 

विभिन्न ठाउँहरूमा उम्मेदवारलाई नै लक्षित गरेर भइरहेका शृंखलावद्ध आक्रमणका घटना नियन्त्रण गर्न दुवैतर्फका सुरक्षा निकायले मतदानको सात दिन अघिदेखि नै सीमा क्षेत्रमा चेकजाँच र निगरानीलाई थप कडा पार्ने पनि सहमति भएको छ । 
सीमा आउजाउ गर्नेमाथि कडा निगरानी राख्ने, आपराधिक गतिविधिको सूचना आदानप्रदान गर्ने र शान्ति सुव्यवस्थामा खलल पार्ने क्रियाक्लाप नियन्त्रणमा कडाइ गर्ने सहमति भएको एक सहभागीले बताए। 

सीतामढी जिल्लासँग महोत्तरीको ३८ किमी, सर्लाहीको ५२ र रौतहटको ३२ गरी १ सय २२ किमि खुला सीमा जोडिएको छ । यी खुला सीमाबाट अवैध हतियारको कारोबार, लागूऔषध तस्करी, मुद्रा अपचलन र मानव बेचबिखनलगायत सीमा अपराधजस्ता घटना हुँदै आएका छन्।

महोत्तरी प्रहरी प्रमुख एसपी कुवेर कडायत र सीतामढी जिल्लाका समकक्षी हरिप्रसाद एसले अपराध गरी एक–अर्काको मुलुकमा लुकेर बसेकाहरूको लामो सूची आदानप्रदानसमेत भएको  जनाइएको छ। 

सीमा बैठकमा यस्तो सूची आदान प्रदान पहिलो पटक गरिएको हो । यसले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहज र प्रभावकारी हुने दुवैतर्फका पदाधिकारीले बताए। प्रजिअ श्रेष्ठका अनुसार भारतबाट दुईमुखे सर्पको नेपालतर्फ तस्करी भइरहेको नयाँ विषय पनि उठान भएको छ।

बैठकमा लागुऔषध कारोवार तथा मदिरा नियंत्रण बारे समेत गंभीर छलफल भएको थियो। आसन्न निर्वाचनको शान्ति सुरक्षा र भारतको विहारमा मदिरा निषेध भएकाले दशगजादेखि ५० मिटर भित्र पर्ने नेपाली क्षेत्रमा महोत्तरी प्रशासनले यसअगि नै मदिरा कारोवारमा पूर्ण प्रतिबन्ध लगाइसकेको छ। त्यस्तै नेपाली अधिकारीको आग्रहमा सीमापारीबाट हुने कोरेक्स, नाईट्रोसन ट्याब्लेट, टीडीजेसिक इन्जेक्सन लगायतका लागुऔषधको तस्करी नियंत्रणमा कडा कदम चालिने विश्वास दिलाएका थिए। 

बैठकमा सहभगी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका एसपीद्वय कुवेर कडायत एवं मुरारी बस्नेतका अनुसार मुख्यत निर्वाचन सुरक्षामा केन्द्रित सितामढी बैठकमा सीमा नाकामा सशस्त्र प्रहरी र एसएसबीको सघन गस्ती (ज्वाइन्ट पेट्रोलिङ) र निगरानी बढाउने, आपराधिक सूचनाको आदान प्रदान लगायत मदिरा तथा लागु औषध नियन्त्रण एवं सीमा अतिक्रमणबारे समेत छलफल गरिएको थियो। 

बैठकमा नेपाली पक्षको नेतृत्व महोत्तरी प्रजिअ वाबुराम श्रेष्ठ र भारतीय पक्षको नेतृत्व सीतामढी डिएम ब्रजकिशोर सदानन्दले गरेका थिए।

बैठकमा महोत्तरी, सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारी, शस्त्र एवं प्रहरी प्रमुख, महोत्तरीका राष्ट्रिय उप अनुशन्धान निर्देशक दीपक खड्कालगायतको सहभागिता थियो। 

त्यस्तै भारतीय पक्षका सीतामढी डिष्ट्रिकट मजिष्ट्रेट सदानन्दसमेत, विहार प्रहरीका एसपी हरिप्रसाथ एस, एसएसबीका जिल्ला कमाण्डेण्ट हेमाम बसन्तकुमार सिंह, लोकेश सिंह एसडीओ र अनुमंडल अधिकारी एवं सीमा सुरक्षा प्रभाग दुई पक्षीय शान्ति सुरक्षाबारे धारणा प्रस्तुत गरेका थिए।

अन्य चुनावमा ४८ घण्टा मात्रै सीमा सिल हुँदै आए पनि नेपालमा अहिले हुन लागेको चुनाव स्थानीय स्तरको भएकाले ७२ घण्टाको लागि सिमा सिल गर्ने सहमति भएको हो। 

प्रकाशित: ८ मंसिर २०७४ १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App