१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पुसमा सर्ट फिल्म फेस्टिभल

काठमाडौं- राजधानीमा हालसालै दुईवटा फिल्म फेस्टिभलको मैझारो भयो । ‘फिल्म साउथ एसिया’ र ‘एकादेश’ले दुई हप्ताको अन्तरालमा राजधानीका दर्शकलाई डकुमेन्ट्री र छोटा फिल्मको स्वाद चखाएका थिए । दुई अन्तर्राष्ट्रिय स्तरका फेस्टिभल सकिएको केही समय बित्न नपाउँदै अर्को छोटो फिल्म फेस्टिभलको तयारी शुरु भएको छ । सर्ट फिल्म निर्माता तथा निर्देशकलाई प्रोत्साहन गर्न चाँडै नै तेस्रो संस्करणको ‘काठमाडौं सर्ट फिल्म फेस्टा–२०१७’ हुन लागेको छ ।

छाँयाछवि क्रिएसनले आयोजना गर्न लागेको फेस्टाका लागि आयोजकले छोटा फिल्म दर्ता गराउन निर्माता तथा निर्देशकलाई आव्हान गरेको छ । आयोजकले पुषको अन्त्यमा हुन लागेको फेस्टाका लागि मंसिर १५ सम्म सर्ट फिल्म दर्ता गराउन समयसीमा तोकेको छ । ‘यो फेस्टामा वृत्तचित्र, चलचित्र, कार्टुन÷एनिमेशन फिल्मले भाग लिन पाउने छन् । सम्बन्धित फिल्मको लम्बाई ३ मिनेटदेखि ४५ मिनट भित्रको हुनुपर्ने छ,’क्रिएसनका अध्यक्ष शान्तिप्रियद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘जुनसुकै विधा र शैलीका फिल्मले पनि फेस्टामा भाग लिन पाउने छन् ।’

फेस्टामा छोटा फिल्मको प्रदर्शनसँगै फिल्मसम्बन्धी अन्तरक्रियालगायतका कार्यक्रम पनि गरिने आयोजकले जनाएका छन् । फेस्टामा सहभागी फिल्मले प्रथम, द्वितीय, तृतीय पुरस्कारसँगै ‘बेस्ट फिक्सन सर्ट फिल्म’, ‘बेस्ट डकुमेन्ट्री सर्ट फिल्म’, ‘बेस्ट एनिमेशन सर्ट फिल्म’, ‘जुरी अवार्ड’, ‘इनकरेजमेन्ट अवार्ड’ र ‘पब्लिक च्वाइस अवार्ड’ सहित केहि विधामा अवार्ड पाउनेछन् ।

प्रकाशित: ११ मंसिर २०७४ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App