१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्राइभेट कम्पनी दर्ता दुई तिहाइ

काठमाडौं – पछिल्ला वर्षहरुमा जागिर खानेभन्दा आफ्नै कम्पनी खोलेर स्वरोजगार बन्नेहरुको दौड देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनाको सरकारी तथ्यांकले पनि प्राइभेट कम्पनी खोलेर स्वरोजगार बन्नेहरु दुई तिहाइ रहेको देखाएको छ।

कम्पनी दर्ता गर्ने जिम्मेवारी पाएको सरकारी निकाय कम्पनी रजिस्ट्रारको कार्यालयको चालु वर्षको तथ्यांकअनुसार सात हजारको संख्यामा कम्पनी दर्ता भएकामा प्राइभेट कम्पनी खोल्नेहरु ६ हजार आठ सय २० छन्।

कम्पनी रजिस्ट्रार कार्यालयका उपरजिस्ट्रार गंगाधर पौड्यालले प्राइभेट कम्पनी दर्ता उल्लेख्य रुपमा बढेको देखिएको बताए । ‘चालु आर्थिक वर्षको चार महिनामा प्राइभेटतर्फ ६ हजार आठ सय २० कम्पनी दर्ता भएका छन्,’ उनले भने, ‘यही अवधिमा कुल कम्पनी दर्ताको संख्या सात हजार एक मात्र छ ।’ यो दुई तिहाइभन्दा धेरै भएको उनले बताए । गत आर्थिक वर्षमा पनि प्राइभेटतर्फ पाँच हजार आठ सय ७० कम्पनी दर्ता भएका थिए।  

उनका अनुसार चालु वर्षको पहिलो चार महिनामा गत वर्षको यही अवधिको तुलनामा नौ सय ८२ कम्पनी बढी दर्ता भएका छन् । गत आर्थिक वर्षको पहिलो चार महिनामा ६ हजार १९ कम्पनी दर्ता भएका थिए। 

उनका अनुसार पछिल्लो समय विकास, निर्माणका कम्पनी दर्ताको संख्या पनि उस्तै छ । भूकम्पपछि विकास, निर्माण र पुनःनिर्माणका कम्पनीहरु उल्लेख्य मात्रामा दर्ता भएको पौड्यालको भनाइ छ । ‘चालु आर्थिक वर्षको पहिलो चार महिनामा चार सय २६ निर्माण कम्पनी दर्ता भएका छन्,’ उपरजिस्ट्रार पौड्यालले भने, ‘गत वर्ष यही अवधिमा तीन सय ९४ मात्रै निर्माण कम्पनी दर्ता भएका थिए ।’ उनका अनुसार चालु आर्थिक वर्षको चार महिनामा (साउन–कात्तिक) ढुंगा, माटोसम्बन्धी काम गर्ने १६ वटा कम्पनी दर्ता भएका छन्। 

पोहोर मुनाफा वितरण गर्न नमिल्ने एक सय १७ कम्पनी दर्ता भएका थिए भने चालु आवको चार महिनामा यस्ता कम्पनी दर्ता संख्या एक सय ४६ पुगेको छ । यस वर्ष गत वर्षको पहिलो चार महिनाको तुलनामा विदेशी कम्पनी पाँचवटा बढी दर्ता भएका छन् । गत वर्ष सोही समयमा सातवटा विदेशी कम्पनी दर्ता भएका थिए । यस वर्ष पब्लिक कम्पनीमा भने दुईवटा कमदर्ता भएका छन् । गत वर्ष २५ वटा दर्ता भएको कार्यालयले जनाएको छ। 

पहिलो चार महिनामा एक सय ५६ वटा कम्पनी खारेज भएका छन् । विशेषता मिल्ने ६ वटा कम्पनी गाभिएको पौड्यालको भनाइ छ । यस अवधिमा २२ सय सातवटा कम्पनीले सेयर खरिद बिक्री वा जगेडा सेयर बिक्री गरिएको छ । यस्तै ६ सय ५५ वटा कम्पनीले पुँजी वृद्धि गरेका छन्। 

यस वर्ष चाउचाउ, फुड्ससम्बन्धी १० वटा कम्पनी दर्ता भएको छ । यस्तै अल्कोहल सम्बन्धी १४ वटा कम्पनी दर्ता भएका छन् । साथै प्राकृतिक ग्यास र कच्चा पेट्रोल उत्खनन गर्ने कम्पनी पनि दर्ता भएका छन्। 

एक लाखदेखि एक करोड रुपैयाँ लगानी हुने कम्पनी चार हजार ६ सय २९ दर्ता भएका छन् । यस्तै चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक करोडदेखि ५० करोड लगानी हुने कम्पनी १८ सय ५२ वटा दर्ता भएका छन् । गत वर्ष यही अवधिमा १६ सय ३८ कम्पनी दर्ता भएका थिए।

५० करोडदेखि एक अर्बसम्म पुँजी भएको पाँचवटा कम्पनी दर्ता भएका छन् । यो वर्गमा गत वर्षको तुलनामा नौवटा कम्पनी बढी दर्ता भएको तथ्यांकमा उल्लेख छ। 

यस्तै, पब्लिकतर्फ गत वर्षको यही अवधिमा तीनवटा कम्पनी दर्ता भएका थिए । निजी कम्पनी तथा प्रालि दर्ताको लागि सामान्यतया एक लाख रुपैयाँसम्मको लागि एक हजार रुपैयाँ राजस्व बुझाउनु पर्ने प्रावधान छ । एक लाखदेखि पाँच लाख रुपैयाँसम्म अधिकृत पुँजी भएकोमा चार हजार पाँच सय रुपैयाँ राजस्व बुझाउनु पर्छ । यस्तै एक करोडदेखि दुई करोड अधिकृत पुँजी भएकोलाई २२ हजार रुपैयाँ राजस्व लाग्ने गरेको छ । यस्तै, १० करोडभन्दा माथि प्रतिलाख ३० रुपैयाँका दरले राजस्व बुझाएर कम्पनी दर्ता गर्नुपर्छ। 

साथै, प्रालि कम्पनी दर्ताको तुलनामा पब्लिक लिमिटेड कम्पनीमा सहुलियत छ । एक करोड लगानी हुने पब्लिक कम्पनीको १५ हजार रुपैयाँ दस्तुर बुझाउनुपर्ने हुन्छ । ५० करोडभन्दा माथि अधिकृत पुँजी भए प्रतिकरोड तीन हजार रुपैयाँका दरले राजस्व बुझाउनुपर्ने प्रावधान छ। 

प्रकाशित: १७ मंसिर २०७४ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App