१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

काठमाडौं- आगामी माघ ४ गते रिलिज हुन लागेको फिल्म ‘पिँजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका अभिनेता निखिल उप्रेतीको एक्सनलाई बढी प्राथमिकता दिइएको छ ।
फिल्मका निर्देशक हिमाल केसीले १९ वर्ष अघि निखिलले डेब्यु गरेको फिल्म ‘पिँजडा’ र अहिलेको ‘पिँजडा ब्याक अगेन’को कथा फरक रहेको बताए । ‘पहिला पिँजडा जबरजस्ती बनाइएको थियो । तर अहिलेको पिँजडा कसरी पिँजडा भयो भन्ने कुरा देखाइएको छ,’निर्देशक हिमालले भने,‘अहिलेको फिल्ममा माया र विछोडले मान्छे कसरी पिँजडा भित्र पर्छ भन्ने कुरा देखाइएको छ ।’ अघिल्लो ‘पिँजडा’ बन्दा हिमाल फिल्ममा ‘मुख्य सहायक द्वन्द्व निर्देशक’ थिए ।
नायिका सारा सिर्पालीले फिल्मको ट्रेलर हेर्न उत्सुक रहेको बताउँदै आफू समीक्षाको पखाईमा रहेको खुलाइन् । ‘ट्रेलर हेरेपछि सकारात्मक र नकारात्मक जुनसुकै प्रतिक्रिया आउन सक्छन् । त्यस्तो प्रतिक्रिया स्वीकार्न म भित्रदेखि नै तयार छु ’ उनले भनिन् । फिल्मका उपत्यका वितरक गोपालकाजी कायस्थले धेरै वर्ष अघिको ‘पिँजडा’ आफूले वितरण गरेको स्मरण गर्दै अहिलेको ‘पिँजडा ब्याक अगेन’ पनि आफ्नै जिम्मामा आएकामा खुशी व्यक्त गरे । ‘यो फिल्मले पनि पहिलेकै जस्तो चर्चा र पैसा कमाओस् भन्ने मेरो चाहना हो ’ उनले भने ।
फिल्ममा निखिल र सारासँगै पुकार भट्टराई, सुस्मिता केसी, ज्याक श्रेष्ठ, भोलाराज सापकोटा, कुसाग्र भट्टराईलगायतका कलाकारले अभिनय गरेका छन् । श्रीराम बरालको प्रस्तुति रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, हिमालकै द्वन्द्व, बसन्त सापकोटा, राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत, मिलन श्रेष्ठ र वनिष शाहको सम्पादन तथा सौरभ लामाको छायांकन छ ।

 

प्रकाशित: २७ मंसिर २०७४ ०४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App