१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चिसोमा भुवाको चप्पल

काठमाडौं–चिसो बढ्दै गएपछि यसबाट बच्न विशेष ध्यान दिन जरुरी छ । चिसो लाग्न नदिन शरीरलाई न्यायो राख्ने पहिलो उपाय न्यानो कपडासहित जुत्ता, चप्पलको जोहो गर्नु राम्रो हो । 
जाडोबाट जोगाउन बजारमा विभिन्न प्रकारका जुत्ता, चप्पल पाइन्छन् । चिसोबाट जोगिन भनेरै विशेष किसिमका जुत्ता चप्पल उत्पादन गरेको म्याजिक फुटवयरका कन्ट्रि हेड महेश बाहेतीले बताए । ‘जाडोलाई भनेर हामीले भुवादार चप्पल उत्पादन गरेका छौं,’ बाहेतीले भने, ‘यी चप्पलले जाडोबाट खुट्टा जोगाउन मद्दत गर्छ ।’
उनका अनुसार बच्चादेखि पाका उमेरसम्मका लागि यी चप्पल उपलब्ध छन्, यी चप्पलमा भित्र भुवा प्रयोग गरिएको हुन्छ । ‘यी चप्पल घरभित्र र बाहिर प्रयोग गर्न सकिन्छ,’ बाहेतीले भने, ‘यस्ता चप्पल मूल्यमा सस्ता पनि छन् ।’ उनका अनुसार यस्ता चप्पल तीन सयदेखि पाँच सय रुपैयाँमा उपलब्ध छन् । 
म्याजिकले भुवा चप्पलमात्र होइन महिला पुरुषको लागि क्याजुअल र स्पार्ट जुत्ता, चप्पल पनि उत्पादन गर्दै आएको छ । यी उत्पादनले जाडोबाट बच्न सहयोग गर्ने उनको भनाइ छ । 
म्याजिकको मात्र होइन बजारमा अन्य कम्पनीका जाडोमा प्रयोग गरिने जुत्ता, चप्पल उपलब्ध छन् । दर्जनौं कम्पनीले उत्पादन गरेका यी जुत्ता चप्पल ग्राहकको लागि छानीछानी किन्ने अवसर मिलेको छ । 
हाल देशभर छालाका जुत्ता, चप्पल उत्पादन गर्ने दुई हजारभन्दा धेरै उद्योग सञ्चालनमा छन् । यी उद्योगले प्रत्यक्ष रुपमा एक लाख ५० हजारभन्दा धेरैलाई रोजगारी दिइरहेका छन् । यस क्षेत्रमा १५ अर्ब रुपैयाँभन्दा धेरै लगानी भएको र वार्षिक ३५ अर्ब रुपैयाँको कारोबार भइरहेको व्यवसायीको भनाइ छ । त्यसमध्ये आठ सय ५० भन्दा धेरै घरेलु उद्योगमा र दुई सय ५० उद्योग कम्पनी राजिस्ट्रारको कार्यालयमा दर्ता छन् । झन्डै पाँच सय हाराहारीमा घर–घरमा स–साना जुत्ता, चप्पल उत्पादन गरिरहेका छन् । 
परम्परागत शैली र नयाँ प्रविधि आत्मसात गर्न नसक्दा नेपाली जुत्ता, चप्पलले विदेशीसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् । भारत र चीनबाट न्यून बिजकीकरण गरेर ल्याइएका जुत्ता, चप्पल नेपाली उत्पादनका लागि चुनौती भएको बाहेतीले बताए । ‘भारत र चीनबाट न्यून बिजकीकरण भएर जुत्ता चप्पल आइरहेका छन्,’ उनले भने, ‘यो क्रम नरोकिएमा भविष्यमा यो नेपाली उद्योगका लागि ठूलो समस्या हुन सक्नेछ ।’ त्यसरी जुत्ता, चप्पल आयात हुँदा राजस्व छलिने मात्र नभएर गुणस्तरहीन सामान समेत आयात भइरहेको, जसले उपभोक्तालाई झुक्याइरहेका छन् । 
छाला जुत्ता, चप्पलमा आत्मनिर्भर र निर्यात बढाउन कच्चा पदार्थ र प्रविधिमा सुधार गर्नुपर्ने आवाज व्यवसायीले उठाउँदै आएका छन् । दक्ष जनशक्तिको अभाव र नयाँ प्रविधि आत्मसात गर्न नसक्दा व्यवसायीले चाहे अनुसारको प्रगति हुन नसकेको उनीहरूको भनाइ छ । 
आत्मनिर्भरताको बाटोमा रहेको यो उद्योग २०७२ वैशाखमा गएको भूकम्प र त्यसपछि भारतले लगाएको नाकाबन्दीका कारण थप समस्यामा परेको व्यवसायीको गुनासो छ । भूकम्पअघिसम्म झन्डै ६५ प्रतिशत माग स्वदेशी उत्पादनले धानिरहेको थियो । 
स्वदेशमा उत्पादन भइरहेका जुत्ता, चप्पलको निर्यात पनि बढ्दै गएको छ । नेपालबाट खासगरी किरण सुज म्यानुफ्याक्चरिङका गोल्डस्टार जुत्ता निर्यात धेरै भइरहेका छन् । जुत्तासँगै छालाबाट बनेका ज्याकेट, पर्स, ब्याग, बेल्ट, ऊनीका जुत्ता र चप्पल निर्यात भइरहेका छन् । नेपाली जुत्ता, चप्पल भारत, चीन, भुटान लगायत देशमा निर्यात हुन्छ । ठूलो संख्यामा नेपाली जुत्ता निर्यात हुने गरेपनि छालाबाट बनेका उच्चस्तरीय केही जुत्ताको माग भने स्वदेशी उत्पादनले पूरा गर्न सकेको अवस्था छैन ।
कच्चा पदार्थ, प्रविधि र जनशक्तिको सीपमा सुधार हुने हो भने नेपाली जुत्ता, चप्पल उद्योगले ठूलो फड्को मार्ने व्यवसायी बताउँछन् । जुत्ता, चप्पल बनाउन चाहिने छाला, सोल, केमिकल लगायत कच्चा पदार्थ भारत, पाकिस्तान र चीनबाट ल्याइन्छ । उच्चस्तरका कच्चा छाला प्रशोधन मेसिन, डिजाइनिङ प्रविधिलाई उद्योगीसँगै सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने व्यवसायीको भनाइ छ । आधुनिक मेसिन, छाला प्रशोधन गर्ने ठूला मेसिन स्थापना गर्न ठूलो लगानी गर्न सक्ने अवस्था नभएकाले सरकारले पहल गर्नुपर्ने व्यवसायी बताउँछन् । दक्ष जनशक्ति उत्पादन गर्ने संस्कार नहँुदा र तालिमको व्यवस्था नहुँदा धेरै जनशक्ति बाहिरबाट ल्याउनुपर्ने अवस्था छ ।

 

प्रकाशित: २८ मंसिर २०७४ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App