१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अस्पतालमै लडेर सात महिनादेखि अचेत

काठमाडौं- पेट दुखेपछि रामेछाप, बेतालीका २३ वर्षीय विमल कार्की गत माघमा टिचिङ अस्पताल पुगे। केही दिन उपचारपछि घर फर्कन पाइने आशा थियो उनलाई। तर, सात महिना नाघ्यो, उनी अझै अस्पतालमै छन्, त्यो पनि अचेत अवस्थामा।

कार्की परिवारका अनुसार गत माघ ७ गते एक्कासि पेट दुखेपछि विमललाई अस्पतालको आकस्मिक कक्ष भर्ना गरिएको थियो। चिकित्सकले एपेन्डिक्स भएको ठहर्‍याएपछि भोलिपल्ट राति शल्यक्रिया गरियो।

त्यसको ठीक तीन दिनपछि माघ ११ मा उनी अस्पतालकै शौचालयमा लड्न पुगे। त्यससँगै अचेत भएका उनको अझै होस खुलेको छैन। लडेर बे्रनमा रगत जमेको भन्दै  चिकित्सकले पुनः शल्यक्रिया गरेका थिए।

अहिले उनलाई पेटमा पाइप जडान गरी कृत्रिम प्रक्रियाबाट खाना खुवाइँदै छ। दिमाग चल्दैन, कसैलाई चिन्दैनन्। लामो समय बेडमा सुताइँदा शरीरको पछिल्लो भागमा ठूला–ठूला गहिरो घाउ बनेको छ।

निरन्तर थपिएको पीडाले कार्की परिवार चिन्तामा डुबेको छ।

उपचारमा लागेको १५ लाखभन्दा बढी रुपैयाँ ऋणले  उत्तिकै पिरोलेको छ। अहिले गाविसले विपन्न नागरिक उपचार खर्चका रुपमा १ लाख रुपैयाँ बेहोरिदिएको आमा शान्ताले सुनाइन्। 'अब थप उपचार गर्न सक्ने स्थिति छैन,' उनले भनिन्, 'अस्पतालले उपचार निःशुल्क भने पनि औषधि नै धान्न सकिँदैन। दिनको तीनदेखि पाँच हजारसम्म खर्च लाग्छ।'

अस्पतालले बिरामीको हेरचाहबारे पर्याप्त परामर्श नदिनु र उपचार नपुग्नुले छोरा निको हुन नसकेको कार्की परिवारको गुनासो छ। 'त्यो दिन ज्वरो आएको थियो,कसैले ट्वाइलेट जान सक्दैन भनेन, छोरा आफंै गयो,' आमा शान्ताले भनिन्।

टाउकोको शल्यक्रियासँग जोडिएका कतिपय प्रतिवेदन प्रस्ट रूपमा बिरामी पक्षलाई नदेखाइएको आफन्त बताउँछन्। 'डाक्टरहरू खुलेर कुरा गर्नु हुन्न, अपरेसनअघिको रिपोर्ट पनि देखाइएन,' बिरामीका आफन्त समूल्य कार्कीले भने।

टाउकोको शल्यक्रिया गर्ने चिकित्सक टोली डा. मोहनराज शर्माले बिरामी अस्पतालको शौचालयमा लड्नु दुःखद विषय भएको बताए। लडेर बे्रनमा रगत जमेपछि तुरुन्तै  शल्यक्रिया गरे पनि अहिलेसम्म पर्याप्त सुधार आउन नसकेको उनको भनाइ छ।

शर्माका अनुसार बे्रन हेमरेज (दिमागमा रगत जमेका) का बिरामीमा एक वर्षसम्म सुधार आउने सम्भावना हुन्छ। त्यो अवधिमा सुधार नआए निको हुने सम्भावना कम हुन्छ।

विमलको टाउको शल्यक्रियामा चिकित्सकका तर्फबाट कुनै कमी नभएको डा.शर्माको दाबी छ। शल्यक्रियाका क्रममा बिरामी पक्षलाई हेरचाहबारे प्रायः चिकित्सकले परामर्श दिने चलन भए पनि विमलको बारेमा थाहा नभएको उनले बताए। 'एपेन्डिक्सको शल्यक्रिया गर्ने समूहले के गर्‍यो, थाहा हुन सकेन,' शर्माले भने।

कुनै पनि शल्यक्रियापछि अस्पतालका तर्फबाट बिरामीको हेरचाहका लागि कुरुवालाई एकमुष्ट परामर्श दिने चलन रहेको अस्पतालका मेडिकल रेकर्ड शाखा प्रमुख कुमार केसीको दाबी छ। 'आइसियु, एनआइसियुबाहेकका जनरल वार्डमा पूर्ण नर्सिङ सेवा हुँदैन, कुरुवाले नै दिसापिसाब गराउने हो,' उनले भने।

बिरामी पक्षले भने बिरामीलाई सौचालय लैजान हुने या नहुने बारेमा जानकारी नदिएको गुनासो गरे। 'नर्सले हिंडडुल गर्दै गर्नु पर्छ भनेका थिए,सौचालयमा संगै लगेर गएँकी थिएँ,एक्कासी ढल्यो'आमा शान्ताले भनिन्। एपिन्डक्सको शल्यक्रिया गरेको दिनदेखि नै बिमललाई ज्वरो आईरहेका बिरामी पक्षले बताए। बिमलकी आमाले नर्सहरुले हिंडडुल गर्न हुन्छ भनेका थिए सौचालयमा साथी चाहिन्छ भनेन्। छोड्न एक्ले छोडेको थिएन।

प्रकाशित: २४ श्रावण २०७३ ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App