१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कालिकोटको स्थिति सामान्य बन्दै

कालिकोट– तीन दिनदेखि तनावग्रस्त बनेको सदरमुकाम मान्मको अवस्था सामान्य बनेको छ । शुक्रबारदेखि झडप र हिंसात्मक गतिविधिमा परिणत भएको आन्दोलन सामान्य बनेको हो । म्यादी प्रहरीलाई प्रहरीले गोली हानेर हत्या गरिएको प्रकरणलाई लिएर तीन दिनसम्म कालिकोटको स्थिति तनावग्रस्त बनेको थियो ।
रास्कोट नगरपालिका वडा नम्बर २ का म्यादी प्रहरी विवेक ऐडीको शुक्रबार प्रहरीले गोली प्रहार गरी हत्या गरिएको थियो । म्यादी प्रहरीले पाउने सेवा सुविधामा असन्तुष्टि जनाएपछि प्रहरी र म्यादी प्रहरीबीच झडप भएको थियो ।
शनिबारदेखि लगाएको कफ्र्यू प्रशासनले सोमबार बिहान ८ बजे फिर्ता लिएको छ । गृह मन्त्रालयका सहसचिव डाक्टर मानबहादुर विकको नेतृत्वमा छानबिन टोली कालिकोट पुगेपछि स्थिति सामान्य बन्दै गएको हो ।  
पीडितपक्षले गोली हानेर हत्या गर्ने प्रहरीलाई छानबिन गरी पत्ता लगाएर कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् । त्यस्तै पीडित पक्षले उचित क्षतिपूर्ति तथा राहतको माग गरेका छन् । आफ्ना माग पूरा नगरेरै बाध्यता लगाएर प्रशासनले लाश बुझ भनेर दबाब आएको मृतकका बुबा हरिबहादुर ऐडीले बताए । उनले भने, ‘मेरो छोरालाई भैँसीले हानेर मारेको होइन । जंगलको बादरलाई मार्न नपाइने पनि कानुनमा छ । तर, यसरी म्यादी प्रहरी बनेको छोरालाई प्रहरीबाटै गोली हानेर हत्या गर्नु महाअपराध हो ।’
 
म्यादी प्रहरीलाई गोली हाने हत्या गर्नु अमानवीय व्यवहार प्रहरीबाट भएकाले विवेकलाई सहिद घोषणा गरिनुपर्ने पीडितले माग राख्दै आएका छन् । घाइतेलाई निशुल्क उपचार गर्ने, गोलीबाट मृत्यु भएका विवेक ऐडीका आफन्तलाई राहत दिने तयारी भएको प्रशासनले बताएको छ । जिल्ला प्रशासनले कफ्र्यू फिर्ता लिए पनि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय वरिपरि कडा सुरक्षा अपनाएको छ । बजारमा समूहमा हिँड्न नदिने र जमघट भएर नबस्न प्रहरीले स्थानीयलाई आग्रह गरेको छ ।

 

प्रकाशित: १० पुस २०७४ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App