८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

टेलियालाई पुँजीगत लाभकर तिर्न ताकेता

काठमाडौं– सरकारले एनसेलको स्वामित्व बिक्री गरेर बाहिरिएको स्विडिस कम्पनी टेलिया (साबिकको टेलियासोनेरा) लाई पुँजीगत लाभकरबापत ६५ अर्ब रुपैयाँ तिर्न पुनः ताकेता गरेको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै ठूला करदाता कार्यालयले एनसेलको स्वामित्व बिक्री गर्दा नेपाल सरकारलाई बुझाउनुपर्ने पुँजीगत लाभकर, बेलैमा कर नतिरेका कारण थपिएको जरिवाना र ब्याजसहित ६५ अर्ब ४० करोड रुपैयाँ तिर्न भनेको हो ।

एनसेलको स्वामित्व लिएको मलेसियन कम्पनी आजियाटाले आफ्नो तर्फबाट तिर्नुपर्ने कर बुझाइसकेको छ । यसअघि उसले पुँजीगत लाभकर बापत २३ अर्ब ६० करोड रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला गरिसकेको छ । एनसेलको स्वामित्व दिएको आजियाटाले आफ्नो तर्फबाट सबै दायित्व पूरा गरे पनि बिक्रेता टेलियाले तिर्नुपर्ने कर अहिलेसम्म बुझाएको छैन । कार्यालयले १५ दिने सूचना जारी गर्दै टेलियालाई पुँजीगत लाभकरबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार तिर्न भनेको छ । हालसम्म कर नतिरेकाले लागेको ब्याज र जरिवाना स्वरुप ४ अर्ब ६९ करोड रुपैयाँ पनि बुझाउन भनेको छ । अब उसले पुँजीगत लाभकर, ब्याज र जरिवाना सहित ६५ अर्ब ४० करोड ३१ लाख ६० हजार १ सय ८० रुपैयाँ बुझाउनु पर्नेछ ।

कार्यालयले सूचना जारी गर्दै उक्त अवधिमा कर नतिरेमा कर ऐन २०५८ को दफा १०४ देखि १११ अनुसार आवश्यक कारबाही अघि बढाउने समेत जनाएको छ । टेलियाले आफ्नो ८० प्रतिशत सेयर बिक्री गर्दा सरकारलाई बुझाउनुपर्ने पुँजीगत लाभकर नबुझाएका कारण नेपाल राष्ट्र बैंक र अन्य बैंकमा रहेको उसको लाभांश लैजान रोक लगाएको थियो । सर्वोच्च अदालतले पुस १० गते लाभांश लैजान रोक्न नहुने भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।

असारमा राष्ट्र बैंकले गरेको लाभांश लैजान नदिने निर्णय कानुनविपरीत भएको ठहर गर्दै सर्वोच्चले लाभांश लैजान बाटो खोलेको थियो । सर्वोच्चले पुँजीगत लाभकर तिर्ने दायित्व बिक्री गर्ने कम्पनी (टेलिया) कै भएको समेत व्याख्या गरेको छ । सर्वोच्चको व्याख्यासहित आएको अन्तरिम आदेशलगत्तै ठूला करदाता कार्यालयले टेलियालाई कर तिर्न सूचना जारी गरेको छ ।
२०७२ पुस महिनामा टेलियासोनेराले आजियाटालाई ८० प्रतिशत सेयर बिक्री गरेको थियो । बाँकी २० प्रतिशत सेयर बिक्री गर्दा प्राप्त हुने २ अर्ब ८३ करोड रुपैयाँ पुँजीगत लाभकर सरकारले प्राप्त गरिसकेको छ ।
पुँजीगत लाभकर तिर्ने मुख्य दायित्व रहेको टेलिया भने ‘अफसोर डिलिङ’ भन्दै नेपालमा पुँजीगत लाभकर नतिर्ने अडानमा छ । टेलियाले पटकपटक विज्ञप्ति जारी गर्दै एनसेल बिक्री गर्दा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको, स्थानीय सरोकारवालासँग छलफलसमेत गरेको बताएको छ । उसले नेपालको कानुन अनुसार आफूहरूले कर तिर्न नपर्ने जिकिर गर्दै आएको छ । २०७३ फागनुको मन्त्रिपरिषद्ले पुँजीगत लाभकर तिर्ने दायित्व बिक्री गर्ने कम्पनी टेलियाको भएको ठहर गर्दै उसैबाट उठाउने निर्णय गरेको थियो ।  

हाल एनसेलको स्वामित्व लिएको मलेसियन कम्पनी आजियाटा एसियाको ठूलो कम्पनीमध्येको हो । उसले एनसेल किन्दा कम्पनीका विभिन्न देशमा २६ करोडभन्दा धेरै ग्राहक रहेको र २५ हजारभन्दा धेरै कर्मचारी कार्यरत रहेको जनाएको थियो । आजियाटाको मलेसिया, इन्डोनेसिया, श्रीलंका, बंगलादेश, कम्बोडिया, भारत, सिंगापुर र पाकिस्तान लगायतका एशियन देशमा दूरसञ्चार क्षेत्रमा लगानी रहेको छ ।
 

प्रकाशित: २० पुस २०७४ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App