२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘सिलवाल फेला परेनन्’

काठमाडौं- कार्यसम्पादन फारम किर्तेमा जोडिएका पूर्वडिआइजी नवराज सिलवाललाई फेला पार्न नसकिएको जानकारी ललितपुर प्रहरीले महानगरीय प्रहरी परिसर, काठमाडौंलाई गराएको छ ।  महानगरीय प्रहरी परिसर, काठमाडौंले कार्यसम्पादन फाराम किर्तेमा जोडिएका सिलवाललाई उपस्थित गराउनू भन्दै ललितपुर प्रहरीलाई एक साताअघि पत्र पठाएको थियो । बुधबार सोही पत्रको जबाफ दिँदै महानगरीय प्रहरी परिसर, ललितपुरले सिलवाललाई फेला पार्न नसकिएको जानकारी गराएको हो ।
सर्वोच्च अदालतको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरिएको थियो । सोही जाहेरी आधारमा महानगरीय प्रहरी परिसर, काठमाडौंले पुस १८ मा सिलवाललाई उपस्थित गराउनू भन्दै ललितपुर प्रहरीलाई पत्र पठाएको थियो ।  
सरकारी दस्तखत छाप किर्ते अनुसन्धानका क्रममा सिलवालसँग पनि बुझ्नुपर्ने भएको भन्दै उनलाई नियन्त्रणमा लिई बुझाउन महानगरीय प्रहरी परिसर, काठमाडौंले ललितपुर प्रहरीलाई पत्र पठाएको थियो ।
ललितपुर निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिलवालको स्थायी ठेगाना ललितपुर रहेकाले काठमाडौं प्रहरीले उनको ठेगाना खुलाएर उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्र पठाएको थियो ।
ललितपुर प्रहरीले पत्रमा उल्लेख गरिएको ठेगानामा सिलवाल नभेटिएको प्रतिउत्तर लेखेर पठाएको स्रोतले बतायोे । काठमाडौं परिसरले पत्र काटेपछि सिलवाल आफ्नो निवासमा छैनन् । सिलवालले आफू कार्यक्रमको सिलसिलामा मलेसिया पुगेको दाबी गरेका छन् । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन रेकर्डमा सिलवाल नेपाल बाहिर गएको पाइँदैन ।
प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई बढुवा गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै सिलवालले कार्यसम्पादन मूल्यांकनमा आफू पहिलो नम्बरमा रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले कार्यसम्पादन मूल्यांकनको प्रतिलिपि दाबी गर्दै त्यसलाई रिट निवेदनसँगै राखेर  पेस गरेका थिए । सर्वोच्चले सिलवालको रिट खारेज गर्दै उनले पेस गरेको कार्यसम्पादन मूल्यांकन फारम किर्ते रहेको ठहर गरेको थियो । सर्वोच्चले त्यो फारममाथि अनुसन्धान गर्न सरकारका नाममा आदेश दिएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंले किर्तेमा जाहेरी लिएर अनुसन्धान सुरु गरेको थियो ।
पुसमा सार्वजनिक भएको पूर्णपाठमा सर्वोच्चले ‘अख्तियार प्राप्त अधिकारीले कानुनबमोजिम मूल्यांकन गरी गोप्य रुपमा राख्नुपर्ने कार्यसम्पादन मूल्यांकन फारम र रिट निवेदनसाथ पेस गरेको कार्यसम्पादन मूल्यांकन फारमको अंक फरक पार्ने कार्ययमा को–कसको संलग्नता छ भन्ने सम्बन्धमा अनुसन्धान गरी दोषीमाथि कारबाही चलाउन सम्बन्धित निकायमा लेखी पठाउनू’ भनेको थियो ।
फैसलामा ‘निवेदकले वैधानिक तवरबाट प्राप्त गर्न नै नसक्ने र गोप्य रहने कार्यसम्पादन मूल्यांकन फारमको अंक अनुचित माध्यमबाट प्राप्त गरी सोलाई तोडमोड गरी आफूले बढी अंक प्राप्त गरेको भनी इजलासलाई भ्रम पार्ने प्रयास गरेको’ उल्लेख छ । सो रिट निवेदक सिलवाल आफैं हुन् ।
सर्वोच्च अदालतको पूर्णपाठ प्रधानमन्त्री कार्यालय पुगेपछि गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयमा छानबिन गर्न पत्र आएको थियो । गृहको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयले पुस ५ मा महानगरीय प्रहरी आयुक्त कार्यालयले काठमाडौं प्रहरी परिसरलाई छानबिन गर्न पत्र पठाएपछि त्यसैलाई जाहेरी स्वीकार गरी अनुसन्धान अगाडि बढाइएको हो ।

प्रकाशित: २७ पुस २०७४ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App