१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अवरुद्ध फोन सेवा मर्मत नहुँदा उपभोक्ता मारमा

खोटाङ – खोटाङको उत्तरी क्षेत्रमा पाँच महिनादेखि मोबाइल फोन सेवा अवरुद्ध बनेको छ। उत्तरी क्षेत्रको केपीलासगढी गाउँपालिका–१ फेदीमा राखिएको टेलिकमको रिपिटर टावरमा विद्युत अभावमा ब्याट्री चार्ज नहुँदा गत भदौदेखि मोबाइल सेवा अवरुद्ध भएको हो।

केपीलासगढी गाउँपालिका, ऐसेलुखर्क लगायतका गाउँपालिकाका विभिन्न वडामा लामो समयदेखि मोबाइल फोन अवरुद्ध भएपनि नेपाल टेलिकमले सुधारमा चासो नदेखाएको केपीलासगढी गाउँपालिका प्रमुख कृष्ण राईले बताए। टेलिकमले भने फेदीमा सञ्चालित टावरमा राखिएको सोलारले काम गर्न छाड्दा मोबाइल सेवा अवरुद्ध भएको जनाएको छ।

फोनको लामो समयसम्म टावर नआउने, आए पनि राम्ररी सम्पर्क नहुने, नबुझिने लगायतका समस्याले उपभोक्ताले सास्ती खेप्नु परेको छ। टेलिकमले अवरुद्ध बनेको नमस्ते तथा स्काई फोन सुधारमा ध्यान नदिँदा हजारौं उपभोक्ता मारमा परेका छन्। नेपाल टेलिकमले २ वर्षअघि फेदीमा सञ्चालनमा ल्याएको ९ सय मेगाहर्जको एसडिआर जिएसएम बिटिएसले काम गर्न छाडेपछि पाथेका, खार्मी, बासपानी, खार्ताम्छा, बाक्सिला, सप्तेश्वर, जालपा, हौंचुर र कुभिण्डे लगायतका सेवाग्राही टावर टिप्ने डाँडामा उक्लिएर फोन गर्न बाध्य छन्।

यस्तै, केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको घिनुडाँडास्थित टेलिकमको टावरले काम नगर्दा बैशाखयता स्काई तथा नमस्ते मोबाइल अवरुद्ध हुने गरेको छ। स्थानीयका अनुसार दिउँसो केही समय टावर आएपनि अन्य समय स्काई फोन अवरुद्ध हुने गरेको स्थानीय समिर राईले बताए।

दिउँसो ४ बजेपछि रातभर फोन नचल्ने समस्याले उपभोक्ता आजित छन्। यस बाहेक धुम्मिएको दिन पनि फोन नचल्ने समस्या छ। फोन नचल्दा कतिपय वडाध्यक्षसँग चाहेकोबेलामा सम्पर्क गर्न अप्ठ्यारो भइरहेको गाउँपालिका प्रमुख राईले बताए।

स्काई फोनमा आएको समस्याका विषयमा नेपाल टेलिकमको दिक्तेल शाखामा पटक–पटक जानकारी गराउँदा पनि समस्या हल नभएको स्थानीयको गुनासो छ। ‘दिउँसो घाम लागेको बेलामा केही घण्टा फोन चल्छ, अन्य बेलामा फोन नचल्दा उपभोक्ता मारमा परेको छ,’ गाउँपालिका प्रमुख राईले भने, ‘टेलिकमलाई पटक–पटक भन्यौँ तर अहिलेसम्म सुधार आएको छैन।’

प्रकाशित: २ माघ २०७४ ११:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App