१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषि विकास बैंककाे३३ प्रतिशत कर्जा कृषि क्षेत्रमा

काठमाडौं -नेपाल राष्ट्र बैंकले बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह नगरेको भनी आरोप लगाइरहेका बेला कृषि विकास बैंक लिमिटेडले कृषिमा ३३ प्रतिशत कर्जा लगानी गरेको छ । बैंकले ५१औं वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा बुधबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो ।

नेपालको कृषि क्षेत्रको विकासका लागि सरल तथा सुलभ रूपले कृषि कर्जा तथा अन्य आवश्यक वित्तीय तथा प्राविधिक सेवा उपलव्ध गराउँदै कृषि क्षेत्रलाई व्यावसायीकरण गर्ने जस्ता मुख्य उद्देश्य लिई २०२४ माघ ७ गते स्थापना भएको उक्त बैंकले स्थापनाकालदेखि नै कृषिको व्यावसायीकरण, औद्योगीकरण तथा ग्रामीण विकास लगायतका सम्पूर्ण बैंकिङ सेवामा प्राथमिकता दिँदै आएको जानकारी प्रमुुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले दिए ।

गाउँदेखि शहरसम्म बैंकिङ कार्यक्रम सञ्चालन गरिरहेको उक्त बैकले ‘तपाई हाम्रो घर आँगनको बैक’ भन्ने नारा अघि सारेको छ । आधुनिक प्रविधि सहितको अग्रणी वाणिज्य बैंकिङ सेवाहरु ग्रामिणस्तरसम्म विस्तार गर्ने लक्ष्यका साथ पहुँचमा विस्तार गर्दै गुणस्तरीय सेवामुखी कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गर्दै आएको जानकारी सिटौैलाले दिए ।

कृषि विकासको लागि आवश्यक अन्य साधनहरू सँगसँगै पुँजीको आवश्यकता पुरा गर्ने उद्देश्यले २०४१ सालमा बैंकिङ क्षेत्रमा आधुनिक प्रविधियुक्त वाणिज्य बैंकिङ सेवा प्रदान गर्ने अनुमति पाएको थियो । उक्त बैंकमा हाल २ हजार ७ सय ७६कर्मचारीले २ सय ५३ कार्यालयहरुबाट देशभरी बैकिङ सेवा प्रदान गरिरहेका छन् ।

कृषि क्षेत्रमा बैंकले स्थापनाकालदेखि हालसम्म ८ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरिसकेको छ भने ७ खर्ब ७० अर्ब कर्जा असुली भइसकेको बैंकले जनाएको छ ।  हाल करिव १ लाख ५१ हजार ग्राहकहरूमा ९५ अर्ब २० करोड कर्जा लगानी गरिसकेको छ ।  त्यसैगरी  १० लाख ९१ हजार निक्षेपकर्ताको ९६ अर्ब ४८ करोड निक्षेप परिचालन गरेको छ ।

बैकको हाल पुँजी कोष सवल रहेको जानकारी सिटौलाले दिए । गत वर्ष १२ प्रतिशत रहेको पुँजीकोष यस अवधिमा १७ प्रतिशत पुगिसकेको छ ।बैंकले आर्थिक वर्ष २०७३-७४ मा  १ खर्ब ९ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ । जुन लक्ष्यको तुलनामा १०६ प्रतिशत तथा अघिल्लो वर्षकोे तुलनामा १० प्रतिशतले बढी भएको बैंकले भनाई छ ।  कर्जा असुली सोही अवधिमा ९९ अर्ब ८३ करोड गरेको छ । जुन लक्ष्यको तुलनामा ११२ प्रतिशत रहेको तथा अघिल्ला वर्षको तुलनामा १३ प्रतिशतले बढी हो ।

ब्याज असुली ११ अर्ब १९ करोड निक्षेप गरेको छ । जुन लक्ष्यको तुलनामा एक सय प्रतिशत र अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।निक्षेप संकलन ९९ अर्ब ९२ करोड गरेको छ  । जुन अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत बढी हो । सोही अवधिमा बैंकले २ अर्ब ८५ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षमा कर अघिको खुद मुनाफा ४ अर्ब २४ करोड र कर तथा वोनस व्यवस्था पछिको खुद मुनाफा २ अर्ब ७८ कारोड रहेको छ ।

विगत ५ वर्षको अवधिमा बैंकले निक्षेपमा ८३ प्रतिशत, जगेडा कोषमा ११६ प्रतिशत, लगानीमा रहिरहेको खुद कर्जामा ६१ प्रतिशत, कुल सम्पत्ति र दायित्वमा ५४ प्रतिशत, व्याज आम्दानीमा ४८ प्रतिशत वृद्धि गर्न सफल भएको छ । यसै अवधिमा बैंकको व्याज खर्चमा ४३ प्रतिशत र कर्मचारी खर्चमा ४२ प्रतिशत वृद्धि हुन पुगेको छ ।

चालु वर्षको २०७४ मंसिरसम्म्मा कर्जा प्रवाह  ४२ अर्ब ७४ करोड, साँवा असुली ४० अर्ब २८ करोड, व्याज असुली ४ अर्ब ९४ करोड र निक्षेप संकलन ९६ अर्ब ४८ करोड भइ गत वर्षको सोही अवधिको भन्दा ९ प्रतिशतले बृद्धि भएको छ भने लगानीमा रहिरहेको कर्जा ९५ अर्ब २० करोड भइ गत वर्षको सोही अवधिको भन्दा ८ प्रतिशतले बृद्धि हुन पुगेको छ ।

बैंकको नयाँ पुँजी योजनामा कुल अधिकृत पुँजी १८ अर्ब, जारी पुँजी १२ अर्ब ५२ करोड ३ लाख रहेको छ । जसमध्ये साधारण चुक्ता पुँजी ७ अर्ब ८ करोड ७६ लाख ८० हजार छ भने नेपाल राष्ट्र बैंकले परिभाषित गरे अनुरूपको साधारण चुक्ता पुँजी २०७३-७४ को लाभांशबाट २० प्रतिशत वोनस सेयर प्रदान गर्दा ८ अर्ब ५० करोड ५२ लाख १६ हजार हुने छ । यो विषय निकट भविष्यमा हुने बैंकको एघारौ वार्षिक साधारण सभामा अनुमोदनका लागि पेश गरिने सिटौलाले जानकारी गराए ।

प्रकाशित: ४ माघ २०७४ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App