१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

औषधि र न्यानो सामग्री बोकेर रौतहट पुगे डा. केसी

रौतहट- चौधौँ सत्याग्रहपछि डा. गोविन्द केसी पहिलोपल्ट मधेस झर्दै रौतहटका केही बस्तीका दलित परिवारलाई न्यानो कपडा वितरण गरेका छन्। जिल्लामा शीतलहरले धेरै क्षति पुर्‍याएको र विगत साउनको बाढीले पनि सबैभन्दा बढी क्षति रौतहटमा नै पुर्याएको हुनाले आफ्नो रोजाइमा रौतहटका दलित परिवार परेको डा. केसीले बताए।

गढीमाई नगरपालिकाको सुन्दरपुर, समनपुर, टोकार, लक्ष्मीपुर, हथिऔल, हरैया र वृन्दावन नगरपालिकाको पल्टुआका डोम, दुसाद, चमार, मुहसर, सरभंग लगायतका जातका अत्यन्त विपन्न परिवारलाई डा. गोविन्द केसीले घरघरै पुगेर कम्बल, ज्याकेट, टोपी, स्वीटर, साडी, ट्राउजर, बिस्कुट, चकलेट लगायतका सामग्री बाँडेका हुन्। डा. केसीले डेढ सय अति विपन्न परिवारलाई अत्यावश्यक सामग्री वितरण गरे।

डा. केसीले समनपुर स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थय शिविरको आयोजन पनि गरेका छन्। यस अघि चार पटक रौतहट आएकाले रौतहटको अवस्थाबारे आफूलाई जानकारी रहेको र दलित तथा विपन्न परिवारलाई छनौट गरेको उनले बताए।

दु:खको बेला आफूले नागरिक कर्तव्य निर्वाह गरेको डा. केसीले बताए। मधेसमा हरेक वर्ष शीतलहर चल्नुमा सम्भवतः ग्लोबल वार्मिङ मुख्य कारण रहेको अनुमान गर्दै सबैले मधेसको जाडोविरुद्ध एकजुट भएर सहयोग गर्नुपर्ने उनको भनाई छ।

मुख्यतः राज्य संयन्त्रको कमजोरी रहेको बताउँदै देशमा प्रजातन्त्र आएको तीन दशक बिते पनि सर्वसाधारण विपन्न नागरिकमा प्रजातन्त्रको अनुभूति हुन नपाएको डा. केसी बताउँछन्। देशमा प्रजातन्त्रभन्दा पनि लुटतन्त्र आएकोले केही नेताहरु लुटमा लागेको आरोप लगाउँदै डा. केसी सर्वसाधारण विपन्न दलित नागरिकको जनजीवनमा सुधार आउन नसक्नुमा राज्य पक्ष जिम्मेवार रहेको बताउँछन्।

जिल्लामा २४ जनाको जाडोले मृत्यु भइसकेको अवस्थामा राज्य चुप लागेर बसेकोमा आक्रोश पोख्दै डा. केसी गरिब र दलितलाई जाडोबाट जोगाउन पहिले नै तयारी गर्नुपर्ने बताएका छन्। हरेक वर्ष शीतलहर चल्न थालेपछि पहिले तयारी गर्न सकिने डा. केसीको भनाई छ।

हथियौलका अनुठा मल्लीले न्यानो कपडाको सामग्री पाउँदा भगवान नै घरमा आएको भन्ठान्दै भाव विह्वल बनेका थिए।

डा. केसीले जाडोबाट कठांग्रिएर मृत्यु भएका, एकल, गर्भवती, सुत्केरी महिलाहरुलाई भेटेरै न्यानो कपडा प्रदान गरे।

न्यानो वितरणपछि स्वास्थ्य शिविर

न्यानो कपडा वितरणपछि डा केसीको टोलीले समनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा औषधिसहितको निशुल्क स्वास्थ्य शिविर गरेका छन्। शिविरमा करिब पचास जनाले उपचार गराएका छन्। डा. केसीको टोलीमा डा. अभिषेकराज सिंह र डा. तोसिमा कार्की रहेका छन्। स्वास्थ्य शिविरमा हाडजोर्नी, तथा जाडोले रुघाखोकी, ज्वरो, निमोनिया, दम लगायतका समस्या देखिएको डा. सिंहले बताएका छन्।

प्रकाशित: ४ माघ २०७४ १२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App