१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

असीमित अधिकार कसैसँग पनि छैन: प्रधानन्यायाधीश (भिडियो)

काठमाडौं-  प्रधानन्यायाधीश गोपाल पराजुलीले निरपेक्ष र असीमित अधिकार कसैसँग पनि नरहेको बताएका छन्। प्रेस काउन्सिल नेपालले सञ्चालनमा ल्याएको अनलाइन उजुरी प्रणालीको आइतबार शुभारम्भ गर्दै प्रधानन्यायाधीश पराजुलीले यस्तो बताएका हुन्।

पराजुलीले नेपालको प्रत्येक प्रजातान्त्रिक आन्दोलनमा प्रेसजगत्को महत्वपूर्ण भूमिका रहेको बताए। जनताको सञ्चारमाध्यममाथिको विश्वास चुलिएसँगै सञ्चारमाध्यमलाई समेत आफ्नो विश्वसनीयता कायम गर्ने चुनौती थपिएको  उनको भनाइ थियो।

पराजुलीले अनिश्चित र अनियन्त्रित  अधिकार सम्भव नहुने र त्यो लोकतान्त्रिक समाजको माग पनि नभएको बताए। ‘कुनै पनि अधिकार सीमाविहीन हुँदैन,’ उनले भने । पछिल्लो समय अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी सञ्चारमाध्यमबाट समाचार प्रकाशन भएको र यसले न्यायपालिकाको गरिमामा आँच आएको उनले बताए।  ‘हरेक मुद्दामा एक पक्षले जित्ने र अर्को पक्षले हार्ने निश्चत हुन्छ । यस्तो अवस्थामा हार्ने पक्षको संवेदनशीलतालाई मिडियाले उचाल्न हुँदैन,’ पराजुलीले भने। अदालत पनि अदालतजस्तै हुनुपर्ने उनको भनाइ थियो।

भिडियो हेर्नुहोस्

 

संविधानको मर्मअनुसार चल्ने अदालतको न्यायिक प्रक्रियामाथि भीडको आक्रमण र जुलुसको निर्देशनको कुनै गुन्जायस नरहने पराजुलीले बताए। ‘न्यायिक प्रक्रियाबाट छिनोफानो हुनुपर्ने विषय रत्नपार्क, मण्डला वा सडकबाट निर्णय हुने हो भने संविधानअनुसार चल्ने संस्थाको अन्त्य त्यही बिन्दुबाट हुन्छ,’ डा. गोविन्द केसीको आन्दोलनलाई  लक्षित गर्दै उनले भने। अदालत र न्यायाधीशविरुद्ध लेख्न पाइने तर तथ्यमा रहेर लेख्नुपर्ने उनको भनाइ थियो । कतिपय अवस्थामा न्यायाधीशले अप्रिय आलोचना सहनुपर्ने भए पनि जनतामै भ्रम छर्ने गरी गरिने प्रचारले न्याय सम्पादनमा अवरोध सिर्जना गर्ने उनले बताए।

 न्यायपालिकालाई होच्याएर, विवादमा मुछेर वा सर्वसाधारणमा अदालतप्रति अनास्था उत्पन्न हुने प्रयास गरेमा र निष्पक्ष न्याय दिन नसक्ने अवस्थामा पुर्‍याएमा त्यसको परिणाम न्यायाधीश वा अदालतले मात्र नभएर सिंगो राज्यले भोग्नुपर्ने उनको भनाइ थियो।

उनले समाचारमा कति लाइक वा सेयर आयो भन्ने भन्दा पनि कति सत्य छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा  जोड दिए । पराजुलीले ४० वर्षपहिले आफू पनि जीविकोपार्जनका लागि लेखनकार्यमा संलग्न रहेको स्मरण गर्दै जिम्मेवारीपूर्ण पत्रकारिताको अभ्यास हुनुपर्ने बताए । उनले इतिहासमा न्यायालय र प्रेस संकटका बेला एकअर्काले बचाएको भन्दै कसैसँग पनि निरपेक्ष अधिकार नरहेको र सबै अधिकार संविधान र कानुनद्वारा निर्देशित रहेको बताए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले कहिलेकाहीं  मिडिया हतियारका रुपमा प्रयोग भएको बताए । उनले पछिल्लो समय प्रधानन्यायाधीश पराजुलीबारे मिडियामा अनावश्यक र गलत प्रचार भएको बताए । ६०१ जना सभासद्ले अनुमोदन गरेको नागरिकता तथा शैक्षिक योग्यताका विषयमा सञ्चारमाध्यमले गलत प्रचार गरेको उनको भनाइ थियो । ‘उहाँ गलत हो भने ६०१ जनाले किन एक भएर प्रधानन्यायाधीका लागि अनुमोदन गरे ?’ श्रेष्ठले प्रश्न गरे । मिडियाले गलत प्रचार गर्दा उनको पारिवारिक जीवनमा समेत असर परेको श्रेष्ठले बताए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाई नागरिकलाई भन्दा बढी अधिकार नरहेको बताए।

काउन्सिलले सञ्चालनमा ल्याएको अनलाइन उजुरी प्रणालीले अब उजुरी दर्ता गर्न काउन्सिलकै कार्यालयमा जानुपर्ने अवस्था अन्त्य भएको छ । अब मिडियाबाट गलत सामग्री प्रकाशित भएमा वा पीडित भएमा देशविदेश जहाँसुकैबाट अनलाइन उजुरी दर्ता गर्न सकिनेछ।

प्रकाशित: ७ माघ २०७४ १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App