१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘सहरवासी गैरजिम्मेवार लाग्छ’

 पुष्कर शाह, साइकल यात्री

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई क्यान्डाको भ्यानकुभर ज्यादै मनपर्‍यो । यो सहर अरु देशका सहरभन्दा बेग्लै छ । यो सहरको माथि हिमाल र तल समुद्र छ । सबैतिर सफा र आकर्षक भएकाले यो सहरलाई कुनै जमानामा विश्वकै सुन्दर सहरका रूपमा राखिएको थियो । अहिले पनि यो सहर सुन्दर र व्यवस्थित नै छ। 

नेपालभित्र मनपर्ने सहर ?
पोखरा मनपर्छ । यो नेपालको एक सुन्दर सहरमध्ये गनिन्छ । पोखरामा मनोरञ्जन लिने र पैदल यात्रा गर्ने ठाउँहरू धेरै छन् । ताल, गुफा, पहाड, प्याराग्लाइडिङ लगायतले पोखरामा धेरैको ध्यान पुगेको छ। 

काठमाडौं उपत्यका कस्तो लाग्छ ?
काठमाडौं सास्कृतिक सम्पदा र पर्वहरूले सजिएको सहर हो । यो सहरका ऐतिहासिक पक्ष धेरै छन् । यहाँ मल्लकालीन सम्पदा छन् । यहाँको ऐतिहासिक पक्षबाहेक अरु पक्ष नकारात्मक लाग्छ । पहिलेको त्यति सुन्दर सहर अहिले फोहरी सहरका रूपमा चिनियो । सबैतिर फोहर र प्रदूषण मात्रै छ । सहरमा आन्नदको श्वास फेर्ने ठाउँ छैन । सबैतिर अस्तव्यस्त मात्रै छ ।

तपार्इं सानो छँदा काठमाडौं कस्तो थियो ?
मैले सानैदेखि काठमाडौंलाई चिन्न पाएँ । मैले साइकल चलाउन पनि यही सहरबाट जानेको हुँ । पहिलेको काठमाडौं सुन्दर थियो । यति धेरै घरहरू थिएनन् । बस्तीहरू पातला थिए । मान्छेहरु थोरै थिए । अहिले त जनघनत्व हवात्तै बढेको छ । सहरमा सवारी र मानिसको चाप बराबर छ । एउटा कचौरा आकारको ठाउँमा प्रदूषण भरिएको छ । बर्खामा तीन महिना पानीले पखाले पनि ९ महिनाको कार्वनडाइअक्साइड थुप्रिएर बस्छ । वातावरणको हिसाबले यो सहर बस्न उपयुक्त छैन । विकसित सहरमा एक जना बराबर एक कोठा हुन्छ । हाम्रोमा एउटै कोठामा चार–पाँच जना बस्नुपर्ने बाध्यता छ । काठमाडौं यतिसारै अस्तव्यस्त हुन थालेको ८—१० वर्ष भयो । त्यो भन्दा पहिले काठमाडौं अलि व्यवस्थित थियो । 

अहिलेको उपत्यका कस्तो लाग्छ ?
धेरै नै अस्तव्यस्त लाग्छ । यहाँका रहेक चोकहरू भिडभाड मात्रै देखिन्छन् । सबैतिर दिक्क लाग्दो दृश्यमात्रै देखिन्छ । खुला ठाउँको अभाव भइसकेको छ । यहाँका सरकारी निकायले काम नगरेका कारण सहर यति भद्रगोल भएको हो । यी निकायले जनताको जीवनमाथि ठाडो खेलवाड गरेका छन् । सरकारी निकायबीच पनि आपसी समन्वय नहुँदा सहर कुरूप देखिन्छ । सहरको एउटा समस्या समाधान हुनेबित्तिकै अर्को समस्या निम्तिन्छ । समस्या निम्त्याउने मुख्य निकाय भनेकै सरकारी निकाय हुन् । यहाँ सरकारको भन्दा पनि जग्गा दलालको रोजाई अनुसार सहरको बाटो बनाइन्छ । सहरमा साइकल कुदाउने लेन छैन । पैदल यात्रुहरू पनि सवारीको हुलमुलमा यात्रा गर्नुपरेको छ। 

तपाईंको विचारमा काठमाडौं कसरी राम्रो बन्ला ? 
विश्वका धेरैजसो सहरको संरचना निर्माणमा एकरूपता हुन्छ । सहरका घरहरु एउटै शैलीमा ठडिएका हुन्छन् । मापदण्ड पनि एकै किसिमको हुन्छ । हाम्रो देशमा त मनपरी छ, जसले जसरी पनि घर ठडाउन सक्छ । सहर बनाउने सरकारी निकायसँग सहरको परिकल्पना छैन । अब काठमाडौंलाई राम्रो र मौलिक सहर बनाउने उपाय एकमात्रै छ, त्यो हो यहाँका पूरै संरचना ध्वस्त पारेर नव निर्माण गर्नु । तर, यो सजिलो कुरा होइन । यति गर्ने सामथ्र्य हाम्रो सरकारसँग छैन । अहिलेकै अवस्थालाई पनि सुधार गर्न पनि सकिन्छ । जस्तै ः थालेका विकास निर्माणका कार्यलाई छिटो सक्ने, ट्राफिक जाम हल गर्ने, सार्वजनिक यातायातलाई सुधार गर्ने, बढी प्रदूषण आउने सवारी निस्तेज गर्ने, सडकलाई फराकिलो पारेर वरिपरि बिरुवा रोप्ने, साइकल र पैदल यात्रुको लेन छुट्याउने हो भने सहर अली व्यवस्थित र सुन्दर हुन्छ कि जस्तो लाग्छ।

काठमाडौंभन्दा बाहिरका सहर कतिको घुम्नुभएको छ ?
नेपालका प्रायः सबैजसो सहर पुगेको छु । उपत्यका बाहिरका सहरमध्ये पोखरा राम्रो छ । यसबाहेक अन्य सहरहरू पनि सुन्दर नै छन्।

तपाईं कुन कुन देशका सहर घुम्नुभएको छ ?
मैले एक सय ५० देशका सहर घुमेको छु । अरु देशका सहर धेरै नै सुन्दर र व्यवस्थित छन् । सबै सहर आधुनिक रूपमा विकसित भइरहेका छन् । व्यवस्थित, अनुशासित, शान्त र सुविधायुक्त भएकै कारण अरु देशका सहर राम्रा छन्। 

विदेशका सहर घुम्दा कस्तो महसुस भयो ?
विदेशका सहरमा साइकललाई पहिलो स्थानमा राखिन्छ, हाम्रोमा साइकललाई निम्न स्तरको साधनका रूपमा लिइन्छ । मैले पुगेका धेरै सहरहरू साइकलमैत्री थिए । ती सहरमा साइकललाई सडक राखिएको हुन्छ । हाम्रोमा त साइकल लेनको त परकै कुरा बाटोमा हिँड्दा किचेर मार्लान् भन्ने डर हुन्छ। 

हाम्रा सहर किन त्यस्तै बन्न सकेनन् जस्तो लाग्छ ?
बन्न त सक्लान्, तर नेता र उनीहरूको नीति ठिक हुनुपर्छ । हाम्रो देशका नेताहरूले सहरमा राजनीति गरेर सहरलाई नै कुरूप बनाए । यहाँको सहर र राजनीति फोहर छ। 

तपाईं बसेको सहर कस्तो होस् भन्ने चाहनुहुन्छ ?
सहरमा झिंगटी र इटाले बनेका साना–साना कल्लकालीन एकैनासे घर होओन् । सडक छेवैमा सुन्दर बगैचा होओन् । बालबालिका र वृद्धहरू रमाउने पार्कहरू बनाइयोस् । व्यवस्थित यातायात साधन सबैखाले सुविधा, स्वच्छ हावा, सहरवासीमा पनि सहयोगी भावना  देखियोस् । दुःख पर्दा एकले अर्कोलाई हात दिओस् । यति भयो भने सहरमा मन खुसी हुन्छ । 

काठमाडौंको प्रदूषण देख्दा दिक्क लाग्दैन ?
दिक्क मात्रै होइन, कस्तो सहरमा हुर्केछु भनेर पछुतो लाग्छ । यदि सबै मिलेर काम गरेको भए सहर यति धेरै कुरूप हुने थिएन । अहिले पहाडको बारी बाँझो राखेर सुन्दर भविष्यको कल्पना गर्दै हामी सहरमा पुग्छौं, तर सहर बस्न लायक छैन। 
यहाँका नकारात्मक पक्षहरू के–के हुन् त ?
सार्वजनिक यातायातको चर्को ध्वनि सुन्दा दिक्क लाग्छ । यहाँका सडक पनि धराप छन् । सबैतिर ट्राफिक जाम र अव्यवस्थित पार्किङ मात्रै देखिन्छ । सहरका यी पक्ष मन पर्दैन। 

यहाँका मन पर्ने पक्ष ?
यहाँको साँस्कृतिक पक्ष राम्रो लाग्छ । उपत्यकाका दरबारहरू नेपालकै गहना हुन् ।

सहरवासीको बानी कस्तो लाग्छ ? 
गैर–जिम्मेवार लाग्छ । हामी कोही पनि सहरप्रति जिम्मेवार नभएरै सहर यति धेरै कुरूप भएको हो । यदि नागरिकले पनि सहरको विषयमा आवाज उठाउने र सरकारी निकायलाई घच्घच्याउन सकेको भए सहर यति धेरै भद्रगोल हुने थिएन होला। 

तपाईं साइकलमै उपत्यकामा यात्रा गर्नुहुन्छ, साइकल चलाउन कत्तिको गाह्रो छ ?
काठमाडौंमा साइकल चलाउनु निकै जोखिम छ । ठूला सवारी साधनबाट च्यापिएर, हेपिएर हिँड्नुपर्छ । सहरमा साइकल चलाउनेले सानो ठानिन्छ । साइकल चलाउने लेन छैन । भएका लेन पनि फुटपाथ पसलेहरूले कब्जा गरेका छन् । 

पछिल्लोे समय घुमेको सहर कुन हो ? 
पछिल्लो समय अस्ट्रेलियाको राजधानी क्यानबेरा पुगेको थिएँ । सानो सहर भए पनि निकै व्यवस्थित छ। 

उपत्यका नजिकै घुम्न जानुपर्‍यो भने कता जानुहुन्छ ?
नगरकोट, ककनी, फुलचोकी डाँडा, चन्द्रगिरीलगायत ठाउँ जान्छु ।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
मलाई फेरी एकपटक न्युजिल्यान्ड, नर्वे घुम्ने मन छ।

उपत्यकाको मन पर्ने खानेकुरा ?
नेवारी परिकार मनपर्छ । 

प्रस्तुतिः शिवहरि घिमिरे

प्रकाशित: ८ माघ २०७४ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App