१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्वराज भ्रमण सम्बन्ध सुधारको प्रयास

काठमाडौं – यति बेला भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणको समय सही थियो कि थिएन भन्ने बहस चर्केको छ । प्रतिनिधिसभाको चुनाव सम्पन्न भएको तर नयाँ सरकार बनिनसकेको अवस्थामा छिमेकी देशका विदेशमन्त्रीले हतारिएर गरेको भ्रमणको औचित्यमाथि समेत प्रश्न उठेको छ ।

नेपाल आइपुगेकी भारतीय विदेशमन्त्रीले आफूले सद्भावना भ्रमण गरेको बताउँदै छिमेकी देशसँगको सम्बन्ध बलियो बनाउने विषयमा जोड दिइन् । पछिल्लो समयमा नयाँदिल्लीमाथि छिमेकीसँगको सम्बन्ध सुधारका लागि प्रयास गर्न दबाब परेको छ । भारतले दक्षिण एसियाली छिमेकी मुलुकलाई आफ्नो प्रभाव क्षेत्रको रुपमा परिभाषित गर्दै आएको छ । प्रभाव क्षेत्रलाई भारतको आर्थिक, सैनिक, सांस्कृतिक निर्देशभित्र रहनुपर्ने देश भनेर बुझिन्छ । जन्मजात शत्रुका रुपमा रहेको पाकिस्तानबाहेक अन्य छिमेकी देश सबै विषयमा आफूबाट निर्देशित होऊन् भन्ने चाहन्छ ।

चीनको बढ्दो प्रभावसामु दक्षिण एसियाली देशहरुमा भारतले भूमिका गुमाउँदै गएको भारतीय विश्लेषकको धारणा छ । भारतीय सञ्चारमाध्यमले नेपालमा वामपन्थी गठबन्धनको जित, श्रीलंकाको हम्बानटोटासहितका बन्दरगाहमा चिनियाँ लगानी, मल्दिभ्सले चीनसँग गर्न थालेको स्वतन्त्र व्यापार सम्झौता, बंगलादेशमा चिनियाँ लगानीजस्ता विषयलाई प्रमुखताका साथ उठाउँदै आएका छन् ।
२०७३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ बंगालदेश गएका बेला चीनले २० अर्ब अमेरिकी डलरको लगानी सम्झौता गरेको थियो । भारतपरस्त मानिएकी प्रधानमन्त्री शेख हसिनाविरुद्ध सुरु भएको आन्दोलनले पनि भारतलाई सशंकित बताएको छ । अवामी लिगकी हसिना दोस्रो कार्यकाल शासनमा छिन् ।बंगलादेशमा यसै वर्ष चुनाव हुँदैछ र अगामी लिगविरोधी लहर चलेको छ ।

पाकिस्तानमा चीनले ४० अर्ब अमेरिकी डलर लगानी गरिसकेको छ । चीन–पाकिस्तान आर्थिक कोरिडर (सिपेक) निर्माण सुरु भएको छ । चीनको कास्गारदेखि अरब सागरकिनारमा रहेको बन्दरगाह ग्वादरसम्म सडक, रेल, औद्योगिक कोरिडोर, ऊर्जा उत्पादन केन्द्रहरुमा तीव्र रुपमा लगानी भइरहेको छ । यसको कार्यान्वयनले दक्षिण एसियाको भूराजनीतिमा ठूलै परिवर्तन आउने अनुमान गरिएको छ ।

दोक्लाम घटनापछि भुटानभित्र पनि उत्तरतर्फको छिमेकी चीनसँग सम्बन्ध विस्तार गर्नुपर्ने धारणा प्रकट हुँदै आएको छ । दक्षिण एसियामा चीनसँग कूटनीतिक सम्बन्ध नभएको भुटानमात्रै हो ।‘स्वराजको अहिलेको नेपाल भ्रमण प्रभाव क्षेत्रमा प्रभाव जोगाइराख्ने भन्ने विषयमा केन्द्रित छ’, राजनीतिक विश्लेषक हरि रोकाले भने, ‘मोदी सरकारमाथि प्रभाव क्षेत्र जोगाउन नसकेको भन्ने आरोप लागेको छ, जसको असर आगामी चुनावमा पर्ने डर सत्तामा रहेको भारतीय जनता पार्टीमा छ ।’

भारतमा चार वर्षअघि भएको लोकसभा चुनावमार्फत भाजपाले बीस वर्षपछि पहिलोपटक स्पष्ट बहुमत ल्याएको थियो । त्यति बेला भाजपाले ३१ प्रतिशत मत पाएको थियो । त्यसपछिका विधानसभा चुनावमा भाजपाको भोट प्रतिशत घट्दै गएको छ । आगामी वैशाखसम्ममा भारतमा लोकसभाको नयाँ चुनाव हुनेछ।
नोटबन्दी र वस्तु तथा सेवा कर (जिएसटी) का कारण आन्तरिक रुपमा समालिन समस्या भएको भाजपा सरकारका लागि बाह्य सम्बन्धको विषयले पनि उत्तिकै पिरोल्न लागेको छ ।

नब्बेको दशकमा आर्थिक उदारीकरणसँग आफूलाई विकास गर्दै ल्याएको भारत विश्वशक्ति बन्ने खोजेको छ । त्यसका लागि  दिल्लीलाई प्रभाव क्षेत्र जोगाउनुपर्ने अवस्था छ । दोक्लाम विवादपछि भारत भ्रमणमा गएका चिनियाँ विदेशमन्त्री याङ यीले अन्तर्राष्ट्रिय मामिलामा प्रभाव क्षेत्रको अवधारणा अस्वीकार गर्ने बताइसकेका छन् । चीनले प्रभाव बढाएर आफूलाई घेर्ने रणनीति अवलम्बन गरेको भारतीय बुझाइ छ ।

‘भारतको प्रभाव विश्वमा परेको होला तर जसलाई परम्परागत प्रभाव क्षेत्रका रुपमा लिने गरेको थियो त्यहाँ प्रभाव खस्केको छ’, दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख निश्चलनाथ पाण्डेले भने, ‘डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि संसारभर अमेरिकी प्रभाव कमजोर बन्दै गएको छ र त्यो स्थान चीनले लिँदैछ । चीनको प्रभाव त्यसैअनुसार दक्षिण एसियाका देशहरुमा विस्तार भएको छ ।’ पाण्डे दक्षिण एसियामा साना देशको ‘बार्गेनिङ पावर’ बढेको बताउँछन् ।

भारतसँग आर्थिक तथा सांस्कृतिक रुपमा जोडिएका दक्षिण एसियाका देशसँगको भारतीय सम्बन्ध राम्रोसँग अघि बढ्न सकेको छैन । भारतीय पक्ष दक्षिण एसियाली देशका आवश्यकता सम्बोधन गर्न चुकेको छ । यसका उदाहरण नेपालमै पाइन्छ । भारतीय पक्षले जिम्मा लिएका परियोजना पूर्वनिर्धारित समयमा पूरा हुन सकेका छैनन् । तराईको हुलाकी मार्गमात्रै नभएर ठूलाठूला विद्युत् परियोजना भारतीय पक्षले ओगटेर राखेको छ तर लगानी जुटाउन भने सकेको छैन ।

‘भारतीय पक्षले परियोजना ओगटेर राख्ने तर समयमा पूरा नगर्दा पछि ती काम गर्न निकै महँगो पर्ने गरेको छ,’ रोकाले भने, ‘यस्तो अवस्था नेपालमा मात्रै नभएर अन्य देशमा पनि छ । दक्षिण एसियामा भारतीयहरु गफमात्रै गर्छन्,  काम पूरा गर्दैनन् भन्ने छाप परेको छ । त्यसले उनीहरुको प्रभाव कमजोर बनाउँदै लगेको छ ।’
 

प्रकाशित: २० माघ २०७४ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App