१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जाजरकोटमा ८ करोड १६ लाखको सुन्तला फल्यो

जाजरकोट- सरकारले सुन्तला जोन घोषणा गरेको जाजरकोटमा यस वर्ष ८ करोड १६ लाख बढीको सुन्तला फलेको छ। जिल्ला कृषि विकास कार्यालयको वार्षिक प्रतिवेदन अनुसार  जिल्लाको  कुल ३ सय ९२ हेक्टर जग्गामा लगाइएका बोटहरुमा  १६ सय  ३२ मेट्रिक टन सुन्तला  फलेको छ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत डा. श्रीराम घिमिरेले  यस वर्ष जिल्लामा  ८ करोड १६ लाखको सुन्तला फलेको बताए। उनले  गत वर्ष भन्दा  सुन्तलाको मात्रा घटेपनि  विक्रि गरेर  कमाइ हुने मुल्य भने  बढेको बताए। उनका  अनुसार गत वर्ष  जिल्लामा  १७ सय  ६० मेट्रिक टन अर्थात ७ करोडवढीको सुन्तला फलेको थियो।  यस वर्ष  मात्रा कम भए पनि   मुल्य बढेका कारण   किसानहरुले   यस वर्ष  वढी  मुल्य  जम्मा गर्न सफल भएको उनले बताए।

कार्यालयका अनुसार जिल्लाको कुसे गाउँपालिका ५  दम्दालामा सवै भन्दा बढी सुन्तला फलेको छ। दम्दालामा १ सय ४२ हेक्टरमा  ६ सय  ६  मेट्रिक टन अर्थात  ३ करोडको सुन्तला फलेको  बरिष्ठ अधिकृत  डा. घिमिरेले बताए। त्यस्तै  डाडागाउँ, खलंगा, झाप्रा लगाएतका गाउँहरुमा पनि सुन्तला फलेको  उनले बताए। सुन्तलाको विरुवामा  किराको आक्रमणले सुक्ने रोग लाग्नु, स्वस्थ विरुवाको अभाव हुनु, र सुन्तला खेती  अझै व्यवस्थित नहुनुले यस वर्ष  भने जति सुन्तला उत्पादन  हुन नसकेको   दम्दालाका किसान शक्तिवहादुर वलीले बताए। उनले  सडक, सिचाइ र ढुवानीका कारण  सुन्तला व्यावसायबाट आफुहरुले भने जस्तो लाभ लिन नसकेको  बताए।

अर्का किसान  चन्द्रवहादुर थापाले  सरकारले   सिंचाइ र  सुन्तला बगैंचा सम्म सडकको पहुच मार्ग  बनाइदिए   आफुहरु निकै लाभान्वीत हुने  बताए। सरकारले जाजरकोटलाई  यसै वर्षदेखि  प्रधानमन्त्री आधुनिक कृषि परियोजना अन्तरगत  सुन्तला जोन घोषणा गरेको छ। सुन्तला खेतीलाई व्यावसायिक बनाउन, सुन्तलाको बजार प्रवर्दन गर्न र सुन्तला उत्पादनलाई विकसित बनाउन विभिन्न गतिविधिहरु गर्ने सरकारले जिल्लालाई सुन्तला जोन घोषणा गरेको  परियोजनाको जाजरकोट इकालाई प्रमुख टंकप्रसाद रिजालले बताए।

उनका अनुसार  सरकारले  जिल्लाको  कुसे गाउँपालिकाका सवै वडा, भेरी नगरपालिकाको वडा नम्वर २ र   नलगाड नगरपालिकाको वडा नम्वर ३ लाइ सुन्तला जोन अन्तरगत  राखेको छ। जिल्लामा  सुन्तला खेतीलाई  व्यवस्थित र आधुनिक र  व्यावसायिक बनाउन सके  ५० करोडको सुन्तला फलाउन सकिने  जिल्ला कृषि विकास कार्यालयका  प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा.  घिमिरले बताए। 

प्रकाशित: २३ माघ २०७४ १०:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App