१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नक्कली पत्रकार बनेर पाँच तारे होटलमा चोरी

काठमाडौ- ललितपुर लेलेका अशोक केसी भन्ने हरिशरण केसीको दैनिकी हरेक दिन बिहान रेडियो तथा पत्रपत्रिकाबाट दिनभर हुने कार्यक्रमबारे जानकारी लिएर सुरु हुन्थ्यो।

उनले विशेष गरी काठमडौंका पाँचतारे होटल तथा अन्य ठूला होटलमा दिनभर हुने कार्यक्रम तथा त्यहाँ उपस्थित हुने अथितिका बारेमा जानकारी लिन्थे। विभिन्न कार्यक्रमको जानकारी संकलन गरेपछि उनी टाइसुटमा सजिएर सम्बन्धित होटल पुग्थे। केसीले एउटा नक्कली पत्रकार परिचयपत्र समेत घाँटीमा भिरेका हुन्थे। उनको ड्रेसअप, घाँटीमा प्रेसकार्ड र हातमा डाइरी समेत हुनेभएकाले कसैले पनि उनी चोर हुन भन्ने भेउ पाउँदैनथे। कार्यक्रमका आयोजक, होटलका कर्मचारी तथा अन्य सहभागीले समेत उनलाई पत्रकार नै हुन भनेर विश्वास गर्थे। 

कार्यक्रम सकियपछि केसी पनि अन्य सहभागीहरुसँगै लन्च तथा डिनरमा सहभागीता जनाउँथे। उनी यत्तिकैमा रोकिंदैनथे। सहभागीले ब्याग, ल्यापटप, महंगा वस्तु कतै राखेर खानपिनमा व्यस्त रहेका बेला केसीले मौकाको फाइदा उठाउँथे। उनले सहभागीले राखेका महंगा बस्तु चोरेर त्यहाँबाट हिँड्थे।

तारे होटलमा पत्रकारको भेषमा प्रवेश गरेर महंगा वस्तु तथा व्याग र नगद चोरी गर्नु उनको दैनिकी थियो। त्यसरी चोरेका महंगा ग्याजेट तथा वस्तु उनले सस्तो मुल्यमा बिक्री गर्ने गरेको प्रहरी बताउँछ। ठूला होटलबाट ल्यापटप लगायतका महंका सामग्री हराएको भन्दै प्रहरीमा निवेदन आइरहँदा प्रहरीले भने चोर पत्ता लगाउन सकिरहेको थिएन। पत्रकारको भेषमा टाइसुट लगाएर जाने होटलमा जाने केसी चोरी कार्यमा संलग्न छन् भन्ने कुरामा प्रहरी समेत विश्वस्त हुन सकिरहेको थिएन। 

गत शनिबार काठमाडौको कान्तिपथमा रहेको यल्लो पगोडा होटलमा बैंकरको तालिम चलिरहेको थियो। सहभागीहरु लन्च समयमा व्यस्त रहेका बेला होटलको गणेश हलबाट  तीनवट लेडिज ब्याग तथा ३२ हजार रुपैयाँ भन्दा बढी नगद हराएको उजुरी प्रहरीको अपराध महाशाखामा पर्‍यो। प्रहरीले होटलमा लगाइएको सिसिटिभि फुटेजका आधारमा  गत मंगलबार ललितपुरको लगनखेलबाट केसीलाई पक्राउ गर्‍यो। अनुसन्धानबाट केसीले नै यल्लो पगोडाबाट व्याग र नगद चोरेर फरार भएको स्विकार गरे। उनले पत्रकारको परिचयपत्र देखाउँदै हलमा प्रवेश गरेर चोरी गरेका थिए।

पाँचतारे होटल र्‍याडिसन तथा अन्नपूर्ण होटलमा भएका ल्यापटप लगायका सामग्री चोरीका घटनामा समेत केसीको संलग्नता पाइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी निरीक्षक भरत थापाले जानकारी दिए।  ‘पाँच तारे होटलमा समेत चोरी भएको उजुरी आएपछि हामीले चोरीमा संलग्न व्यक्तिको खोजिमा थियौँ, यल्लो पगोडामा चोरी भएको घटना पछ्याउँदै जाँदा अन्य तारे होटलको चोरी घटनामा पनि केसीको संलग्नता पाइएको छ,’ प्रहरी निरीक्षक थापाले भने।

केसीका साथबाट प्रहरीले  एक थान मोबाइल, दुई थान घडी, एक थान निलो ब्याग, फायर साइड दैनिक पत्रिकाको पत्रकार परिचय पत्र, एक थान डायरी तथा दुई थान सिमकार्ड फेला पारेको छ। पक्राउ परेका उनलाई कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

 

 

          

             

 

 

प्रकाशित: २४ माघ २०७४ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App