१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘तीन वर्षभित्र सबै सडक कालोपत्रे ’

हर्ष महर्जन, वडाध्यक्ष
कीर्तिपुर नगरपालिका– १

वडाध्यक्ष भएपछि के–के काम गर्नुभयो ?
जनप्रतिनिधि भएर आउँदा वडा कार्यालय अस्तव्यस्त र भद्रगोल थियो । अहिले वडा कार्यालयलाई व्यवस्थित र आकर्षिक बनाएका छौँ, वडाले दिने सेवाप्रवाहलाई समेत चुस्तदुरुस्त बनाएका छौँ । मालपोत कार्यालयदेखि कीर्तिपुर फलामे पुलसम्मको असरल्ल र भताभुंग सडकलाई व्यवस्थित बनाएर सवारीसाधन गुड्ने अवस्थामा ल्याएका छौँ । वडाका विभिन्न स्थानमा ढुंगा तथा ब्लक ओछ्याउने काम तीव्र गतिमा भइरहेको छ । बाघभैरव क्षेत्रमा २२ मिटरको पर्खाल बनाएका छौँ । खाल्डाखुल्डी पुर्नेदेखि मर्मतसम्भार लगायत कामलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छु ।

जनप्रतिनिधि भएर काम गर्न कतिको सहज रहेछ ?
जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्नेबित्तिकै केही समय काम गर्न केही अप्ठेरो भएको थियो । सुरुसुरुमा कसरी काम गर्ने ? के गर्ने भन्ने अन्योल रह्यो । अहिले पहिलेजस्तो छैन । १८ वर्षसम्म जनप्रतिनिधि नहुँदा वडा कार्यालय र सेवाग्राहीबीचको सम्बन्धमा धेरै नै खाडल परेको रहेछ । हामी आएसँगै त्यो खाडल पुर्ने काम भइरहेको छ । ‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ धेरै नै सुनियो । तर, व्यावहारिक रूपमा सिंहदरबारको अधिकार अझै पनि गाउँमा आइपुग्न सकेको छैन । वडाको बजेट अत्यन्तै न्यून छ । जनताको चाहना र आकांक्षा ठूलो छ । त्यसैले जनप्रतिनिधिलाई काम गर्न सोचेजस्तो सहज छैन ।

तपाईंको वडामा अधिकांश सडक कच्ची छन्, कहिलेसम्म कालोपत्रे गर्नुहुन्छ ?
मेरो वडाका अधिकांश सडक कच्ची छन् । वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकबाट सर्वसाधारण पीडित भइरहेका छन् । कच्ची सडकलाई कालोपत्रे गर्न वडा कार्यालयसँग पर्याप्त बजेट छैन, त्यसैले वडा कार्यालयले नगरपालिका र सहरी विकास योजनाअन्तर्गत सडक कालोपत्रे गराउने योजना अघि सारेका छौँ । त्यसका लागि पहलकदमी भइरहेको छ । सम्भवतः अबको तीन वर्षभित्रै वडाका सम्पूर्ण चार किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छु ।

तपाईंको वडामा रहेको १५ शैयाको विष्णुदेवी अस्पतालमा नियमित डाक्टर नबस्ने जनगुनासो छ नि ?
हाम्रो वडामा रहेको एक मात्रै विष्णुदेवी अस्पताललाई नियमित बनाउन सकिरहेका छैनौँ । १५ शैयाको अस्पतालमा नियमित डाक्टर नबस्ने समस्या छ । त्यसैले नगरपालिका र वडा कार्यालयले अस्पतालको सेवालाई नियमित गराउन पहलकदमी गरिरहेका छन् । अस्पतालमा साँघुरो ठाउँमा भएकाले नियमित डाक्टर नबस्ने समस्या देखिएको छ । त्यसैले अस्पतालको सेवालाई नियमित र जनमैत्री बनाउने प्रयत्न गरिराखेका छौँ । अब नियमित अस्पताल नबस्ने डाक्टरलाई मन्त्रालयसँग समन्वय गरेर कारबाही प्रक्रिया अघि बढाउनेछौँ ।

ऐतिहासिक कीर्तिपुर दरबार जोगाउने योजना के छ ?
ऐतिहासिक कीर्तिपुर दरबार मासिँदै गइरहेको छ । कीर्तिपुर दरबार क्षेत्रमा स्थानीयले धमाधम घर बनाएर बसिरहेका छन् । वडा कार्यालयले यो दरबारको तस्बिर संकलन गरिरहेको छ । पुरातत्व विभाग र अन्य निकायसँग समन्वय गरी कीर्तिपुर दरबारको जीर्णाेद्धार गर्नेछौँ । वडा कार्यालयसँग पर्याप्त बजेट नहुँदा दरबार संरक्षण र संवद्र्धन गर्न सकिएको छैन ।

ऐतिहासिक सम्पदा तथा कला–संस्कृति कसरी संरक्षण गर्दै हुनुहुन्छ ?
कला–संस्कृति जीवन्त इतिहास हो । त्यसैले वडा कार्यालयले ऐतिहासिक सम्पदा तथा संस्कृति संरक्षणका लागि बजेट विनियोजन नै गरेको छ । वडा कार्यालयले कीर्तिपुर क्षेत्रमा रहेका बाजागाजा, कला–संस्कृति संरक्षणमा स्थानीयसँग समन्वय गरेर काम गरिरहेको छ । कीर्तिपुर दरबार क्षेत्रको पुराना घर भत्काएर नयाँ बनाउँदा अनिवार्य रूपमा पुरानै ढाँचा र स्वरूपमा पुनर्निर्माण गर्न प्रोत्साहन गरिरहेका छौँ ।

तपाईंको वडामा सार्वजनिक स्थलमै फोहोर थुप्रिएका छन्, कसरी व्यवस्थापन गर्नुहुन्छ ?
मेरो वडा कीर्तिपुरको कोर एरियामा पर्छ । त्यहाँ साँघुरा गल्ली र चोक छन् । जसकारण फोहोरमैला संकलन गर्ने सवारीसाधन जान सक्दैनन् । स्थानीयले सार्वजनिक स्थलमै फोहोरमैला थुप्रार्ने गरेका हुन् । वडा कार्यालयले जथाभावी फोहोरमैला नफाल्न बारम्बार अनुरोध गरिसकेको छ । कीर्तिपुर नगरपालिकामा फोहोरमैला संकलन गर्न चारवटा निजी संस्था छन् । अब ती संस्थासँग समन्वय गरेर फोहोरमैला व्यवस्थित जमर्काे गरिराखेका छौँ ।
भूकम्पपीडितले राहत नपाएको गुनासो गरिरहको छन् नि ?
वडाका अधिकांश भूकम्पपीडितले राहत रकम पाएका छैनन् । भूकम्पबाट एक सय ५० परिवार प्रभावित छन् । लगभग १५ देखि ३० घरधुरीले पहिलो किस्ताबापतको रकम समेत पाएका छैनन् । केही भूकम्पपीडितसँग लालपुर्जा नहुँदा राहत उपलब्ध गराउन समस्या भएको छ । त्यसैले वडा कार्यालयले भूकम्पपीडितका लागि समन्वयकारी भूमिका खेलिरहेको छ ।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट ५० लाख रुपैयाँको बजेट विनियोजन भएको छ । वडा कार्यालयले सडक, ढल निर्माण, खानेपानी लगायत योजनाका लागि २५ लाख रुपैयाँ विनियोजन गरेर धमाधम काम भइरहेको छ । वडा कार्यालयले खानेपानी, सडक मर्मतसम्भार, ढल निर्माण र महिला सशक्तीकरण लगायत योजनालाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।

कस्तो वडा बनाउने सपना छ ?
मेरो वडा इतिहास बोकेको वडा हो । त्यसैले वडामा रहेका ऐतिहासिक सम्पदाको संरक्षण र संवद्र्धन गर्नेछु । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजना अघि सारेको छु । वडा कार्यालयमा ढल, खानेपानी, सडकलगायत अत्यावश्यक पूर्वाधार तयार गरी जनतालाई सहज र सरल सेवा उपलब्ध गराउनेछौँ ।               
प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: ४ फाल्गुन २०७४ ०६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App