१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले–माओवादी दस्ताबेज साटासाट

काठमाडौं – पार्टी एकीकरण प्रक्रियामा अघि बढेका एमाले र माओवादी केन्द्रबीच पार्टीका राजनीतिक प्रतिवेदन र दस्ताबेज साटासाट भएको छ।

पार्टी एकीकरणका लागि एउटै अन्तरिम राजनीतिक दस्ताबेज बनाउने पूर्वनिर्णय कार्यान्वयनका लागि दुवै दलले आ–आफनो पार्टीका दस्तावेज साटासाट गरेका हुन् । दस्ताबेज लेखन कार्यदलको आइतबार बसेको पहिलो बैठकमा उक्त दस्तावेज साटफेर गरिएको हो । बैठक माओवादी मुख्यालय पेरिसडाडाँमा बसेको थियो। 

दुवै दलले कम्तीमा २ दिन अध्ययन गरेर अर्को बैठकमा पेस गर्ने कार्यदलका सदस्य देवेन्द्र पौडेलले बताए।  ‘दुवै पार्टीका तर्फबाट राजनीतिक प्रतिवेदन र दस्तावेज अध्ययन गर्नका साटफेर गर्ने कार्य सम्पन्न भयो,’ पौडेलले भने, ‘एकअर्काको प्रतिवेदन अध्ययन गरेर पुनः छलफलमा बस्छौं ।’ उनका अनुसार दुवै पक्ष राजनीतिक प्रतिवेदन र दस्तावेज अध्ययन गरी टिपोटसहित अर्को बैठकमा उपस्थित हुने सहमति भएको छ।

फागुन ७ गते एमाले र माओवादीबीच पार्टी एकीकरण गर्ने प्रारम्भिक आधारपत्रमा सहमति हुँदा निर्देशक सिद्धान्तको रुपमा ‘माक्र्सवाद लेनिनवाद’ लाई स्वीकार गरिए पनि अन्य विषयमा सहमति हुन बाँकी छ । त्यसका लागि दुवै पार्टीले अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन सहमति गरेअनुसार एमाले नेता माधवकुमार नेपाल नेतृत्वमा कार्यदल बनाइएको हो । जसको पहिलो बैठक पेरिसडाँडामा बसेको हो।

एमालेले मान्दै आएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादीले मान्दै आएको ‘माओवाद’ ले अवलम्बन गरेको विषयलाई विधिसम्म परिमार्जन र विकास गर्ने सहमतिअनुसार नै राजनीतिक प्रतिवेदन तयार पार्न लागिएको हो । कार्यदललाई पार्टी एकीकरण औपचारिक घोषणाअघि नै सो प्रतिवेदन बुझाउन भनिएको छ । कार्यदलले प्रतिवेदन तयार पार्न १५ दिनको समय पाएको छ । 
 

प्रकाशित: १४ फाल्गुन २०७४ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App