१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

मच्छिन्द्रनाथलाई किन ललितपुरमा राखियो ?

किंवदन्तीअनुसार करिब एक हजार पाँच सय वर्षपहिले उपत्यकामा १० वर्षसम्म पानी परेन । पानी पर्न छाडेपछि सबैतिर हाहाकार मच्चियो । खेतीपाती हुन छाड्यो । डाँडापाखा र खेतबारी सबै सुक्खा भए । खानेपानीका मुहान सुक्न थाले।

बोटबिरुवा मर्न थाले । मानिसहरू खडेरीले व्याकुल भए ।उब्जनी हुन छाडेपछि अनिकाल लाग्यो । मानिसहरू अत्तालिए, यस्तो स्थिति सिर्जना भएपछि जान्ने–बुझ्ने केही व्यक्ति र राजाहरूले कसरी बाँच्ने होला भनेर जुक्ति खोज्न थाले । यसै बखतमा काठमाडौंका बन्धुदत्त बज्राचार्य, भक्तपुरका राजा नरेन्द्रदेव र ललितपुर पाटनका ज्यापुले मच्छिन्द्रनाथ देवतालाई उपत्यकामा ल्याएपछि पानी पर्छ भन्ने कसैबाट सुने।

यति थाहा पाउनासाथ तीनैजना मिलेर कामरुकामक्ष पुगेर मच्छिन्द्रनाथ ल्याउने निर्णय गरे । संस्कृतिविद् बुद्धिराज बज्राचार्यका अनुसार मच्छिन्द्रनाथ भनेको राक्षसका बच्चा हुन् । यिनलाई ल्याएपछि पानी पर्छ भन्ने सुनेर तीनजनाले ललितपुरको बुङमतीसम्म मच्छिन्द्रनाथ ल्याए ।‘लामो बाटो धाएर मच्छिन्द्रनाथ यहाँसम्म ल्याएपछि पानी परेको किंवदन्ती छ,’ उनले भने, ‘कामरुकामक्षबाट मच्छिन्द्रनाथलाई बोकेर ल्याएपछि कहाँ राख्ने भन्ने विषयमा फेरि तीनजनाबीच हानाथाप चल्यो, विवाद चर्कियो।’

मच्छिन्द्रनाथ ल्याउने तीनमध्ये पाटनका ज्यापु अलि बाठा स्वभावका थिए । उनले ती ज्येष्ठ नागरिकलाई अरुले थाहा नपाउने गरी दही लिएर भेट्न गए । दहीमा नुन पनि मिसाएका थिए । ती ज्येष्ठ नागरिकलाई नुन खाएपछि नुनको सोझो गर्नुपर्छ भन्ने थाहा थियो । त्यसपछि ती ज्येष्ठ नागरिकले ललितपुरमै राख्ने बताए ।

उनका अनुसार भक्तपुरका राजाले आफूले खर्च गरेर ल्याएकाले मच्छिन्द्रनाथलाई भक्तपुरमै राख्न पाउनुपर्ने अडान राखे । उनले त्यतिबेला मच्छिन्द्रनाथ देवता राख्नका लागि अहिले पाँचतले मन्दिर भएकै ठाउँमा सानो मन्दिर पनि बनाएका थिए । मन्दिर भएको ठाउँमा अहिले भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिर छ ।
‘सुरुमा ललितपुरको पाटन र बुङमतीमा राख्ने कुरा भयो,’ संस्कृतिविद् बज्राचार्य भन्छन्, ‘तर, काठमाडौं र भक्तपुरका राजा सहमत भएनन्, यति भएपछि पाटनका सबैभन्दा ज्येष्ठ नागरिकलाई सोधेर उनैले भनेको ठाउँमा मच्छिन्द्रनाथलाई राख्ने तीनजनाबीच सहमति भयो, ती ज्येष्ठ नागरिकले बुङ्मती तोकिदिएपछि यहीँ राख्न थालियो।’

पाटन मंगलबजार दरबार क्षेत्रमा फूल र माला बेच्दै आएका ७१ वर्षीय राधाकृष्ण अमात्यले तीनजनाको सहमतिमा मच्छिन्द्रनाथलाई कुन ठाउँमा राख्ने भनेर निर्णय गर्ने जिम्मा ज्येष्ठ नागरिकलाई दिइएको किंवदन्ती रहेको बताए।

उनका अनुसार मच्छिन्द्रनाथ ल्याउने तीनमध्ये पाटनका ज्यापु अलि बाठा स्वभावका थिए । उनले ती ज्येष्ठ नागरिकलाई अरुले थाहा नपाउने गरी दही लिएर भेट्न गए । दहीमा नुन पनि मिसाएका थिए । ती ज्येष्ठ नागरिकलाई नुन खाएपछि नुनको सोझो गर्नुपर्छ भन्ने थाहा थियो । ‘त्यसपछि ती ज्येष्ठ नागरिकले ललितपुरमै राख्ने बताए,’ उनले भने, ‘त्यसपछि मच्छिन्द्रनाथलाई बुङमती र पाटनको इटिटोलमा राख्ने निर्णय भएको हामीले सुनेका छौँ ।’ उनले यसको कुनै लिखित अभिलेख नभएको बताए।

संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको पाँचतले मन्दिर नेपाल संवत् ८२२ मा राजा भूपतिन्द्र मल्लले बनाएका थिए । त्योभन्दा पहिले उक्त मन्दिर भएको ठाउँमा बस्ती थियो । ‘राजाले बस्तीलाई अधिग्रहण गरेर मन्दिर बनाएका थिए,’ उनले भने, ‘त्यसपछि यहाँका स्थानीय राजासँग अति नै रुष्ट भए, जनताको उक्त पीरमर्का रामायणमा पनि उल्लेख छ ।’ उनले रातो मच्छिन्द्रनाथबारे आफूलाई खासै जानकारी नभएको बताए ।

 

प्रकाशित: १४ फाल्गुन २०७४ ०५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App