१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्पेनका कामदार ‘नारीवादी हड्तालमा’

भाँडा बजाएर नारीवादी हडतालको सुरुवात गर्दै स्पेनी महिला । तस्बिर : एजेन्सी

म्याड्रिड– लैंगिक असमानता र यौनिक भेदभावविरुद्ध अन्तर्राष्ट्रिय नारी दिवसकै दिन स्पेनका महिला कामदारले अभूतपूर्व हडताल गरेका छन्।

स्पेनका केही महिला राजनीतिज्ञ, १० वटा यूनियनले सहयोग गरेको र ८ मार्च आयोगले आयोजना गरेको २४ घण्टे हडतालका कारण बिहीबार स्पेनभरको कामकाज ठप्प भएको बिबिसीले उल्लेख गरेको छ ।
स्पेनभर ‘यदि हामीले रोक्यौं भने विश्वले रोक्ने छ’ भन्ने नारा लगाउँदै सयौंको संख्यामा र्‍यालीको आयोजना गरिएको छ।

मार्च ८ का दिन स्पेनबाहेक विश्वभरका कैयौं देशमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाइएका छन् ।देशव्यापी रूपमा आयोजना गरिएको हडतालमा सहभागी भएका महिलाले आफ्नो काम रोकेका छन् । यस अघि मार्च ८ का दिन हड्ताल आयोजना गरेका आयोजकहरुले महिलालाई पैसा खर्च नगर्न र घरेलु काम नगर्न आग्रह गरेका थिए । यसैबीच महिलावादीको हडतालका कारण बिहीबार स्पेनका तीन सयभन्दा बढी रेलसेवा प्रभावित भएको स्पेनको यातायात मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार राजधानी म्याड्रिडमा रहेको भूमितग रेलसेवा पनि महिलावादीको हडतालका कारण प्रभावित भएको छ । राजधानी म्याड्रिड, बार्सिलोना, बिल्बाओ, भ्यालेन्सिया र अन्य कैयौं स्पेनी सहरमा दुई सयभन्दा बढी र्‍यालीको आयोजना गरिएको बिबिसीले उल्लेख गरेको छ।

हडतालको पछाडि स्पेनको मार्च ८ आयोगको संलग्नता रहेको छ । मार्च ८ को घोषणा पत्रमा ‘यौनिक विभेद, दमन र हिंसा रहित स्वतन्त्र समाजको माग’ गर्दै भनिएको छ, ‘न हामी काम गर्ने खराब अवस्था स्वीकार्दैनौं, न त समान कामका लागि पुरुषलाई भन्दा कम ज्याला नै दिने अधिकार छ ।’

स्पेनको ‘ई वान पेस’ नामक पत्रिकाले हडतालको प्रभावका बारेमा करिब एक हजार पाँच सय मानिसमा गरेको सर्वेक्षणमा ८२ प्रतिशतले समर्थन गरेका छन् भने ७६ प्रतिशतले स्पेनमा रहेका पुरुषको भन्दा महिलको जीवन कष्टप्रद रहेको धारणा राखेका छन्।

महिलाको अनुपस्थिति कत्तिको महत्वपूर्ण छ भनेर देखाउनका लागि मात्रै महिलावादीले एक दिने हडताल आयोजना गरेको बताइएको छ । तर स्पेनको कानुनअनुसार एउटा लिंगले मात्रै हडताल गर्न नसक्ने व्यवस्था भएकाले पुरुषले पनि महिलाको यस्तो कदमलाई स्वागत गरेको बताइएको छ । केहीले भने यस्तो हडतालको विरोध गरेको बिबिसीले उल्लेख गरेको छ ।

स्पेनको सत्तारुढ मध्यदक्षिणपन्थी पार्टिडो पपुलर (पिपी) दलले यस्तो कदम दैनिक समस्या भोगिरहेका महिलाका लागि नभएर उच्च महिलावादीका लागि भएको भन्दै विरोध गरेको छ । तरपनि, स्पेनको कन्जरभेटिभ सरकारमा रहेको पाँच जना महिला मन्त्रीमध्ये दुई, कृषि मन्त्री इसाबेल गारसिया तेजेरिना र म्याड्रिड क्षेत्रकी राष्ट्रपति क्रिस्टिना किफ्युटेसले भने आफूहरुले महिलाको यस्तो कदमको समर्थन गरेको आशय सार्वजनिक गरेका छन्।

यसैबीच अभिनेत्री पेनेलोप क्रुजले पनि महिला हडतालको समर्थन गर्दै मार्च ८ का लागि तय भएको उनको सम्पूर्ण सार्वजनिक कार्यक्रम स्थगित गरेकी थिइन् ।म्याड्रिड र बार्सिलोनका मेयर, म्यानुयेला कार्मेना र अदा कोलाउले पनि महिलाको हडताललाई समर्थन गरेको बताइएको छ।

युरोपेली राष्ट्र स्पेनको सार्वजनिक क्षेत्रमा महिलालाई पुरुष समकक्षीभन्दा १३ प्रतिशत र प्राइभेट क्षेत्रमा १९ प्रतिशत कम तलव वा ज्याला दिने गरिएको युरोपेली यूनियनको तथ्यांक प्रदान गर्ने युरोस्टाटलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
 

प्रकाशित: २५ फाल्गुन २०७४ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App