१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बढ्दै जघन्य अपराध

रौतहट– बौधीमाई नगरपालिका ७ सरमुजवा का २४ वर्षीय शेख ओसिअख्तरले गाउँकै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ।

गत फागुन १ र ३ गते राति किशोरी सुत्ने कोठामा अख्तर प्रवेश गरी जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ । किशोरीकी आमाले अख्तरका बुबालाई त्यस विषयमा भन्न जाँदा उल्टै खप्की खानुपरेको पीडितको भनाइ छ।

किशोरीका बुवाको मृत्यु भइसकेको छ । घरमा आमा र किशोरीमात्र छन् । आमा माइत गएको र घरमा किशोरी बाहेक अरु कोही नभएको मौका छोपी अख्तरले किशोरीलाई दुई रात जबरजस्ती करणी गरेका हुन्।

चालू आर्थिक वर्षमा जिल्लामा जबरजस्ती करणीसम्बन्धी १२ घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बलात्कारमात्र होइन, हत्या र गोली प्रहारजस्तो जघन्य अपराध पनि जिल्लामा बढेको पाइएको छ । 

जबरजस्ती करणीकै कारण किशोरीको महिनाबारी रोकिएको छ । महिनाबारी रोकिएपछि पीडित किशोरीले शुक्रबार आमासँगै जिल्ला प्रहरी कार्यालय पुगी लिखित उजुरी दिएकी हुन्।
यस्तै गत फागुन १५ गते गढीमाई नपा ६ की ३ वर्षीया बालिकालाई छिमेकी १६ वर्षीय छोटेलाल भनिने शेख फैजानले घरनजिकैको परालको कुन्युमा लगी बलात्कार गरेका थिए । बलात्कारले बालिकाको गुप्तांग च्यातिएर बेहोस भएकी थिइन् । बालिकाका हजुरबा परालको कुन्युमा केही गडबड भएको लागेपछि हेर्न जाँदा नातिनीको हालत देखेर चिच्याएका थिए । बलात्कार गर्ने युवक प्रहरी नियन्त्रणमा छ । युवकलाई छुटाउन केही स्थानीय नेताले घटनालाई मेलमिलापमा टुंग्याउने प्रयास गरिरहेका छन् । हिँडडुल राम्ररी गर्न नसक्ने अवस्थामा बालिकाको उपचार वीरगन्जमा भइरहेको छ।

यसैगरी गत फागुनको पहिलो साता गढीमाई ३ की १३ वर्षीया बालिकामाथि बलात्कार भएको थियो । बलात्कारमा परेकी बालिकाको उपचार भएको छ तर प्रहरीकै सहयोगमा भगाइएको अपराधी भने पक्राउ पर्न सकेको छैन । बलात्कारका आरोपी गरुडा नपा बिर्ताका शेख इब्रान फरार छन् । इब्रानलाई जनप्रतिनिधिको संरक्षण रहेको पीडित पक्षको आरोप छ।

चालू आर्थिक वर्षमा जिल्लामा जबरजस्ती करणीसम्बन्धी १२ घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बलात्कारमात्र होइन, हत्या र गोली प्रहारजस्तो जघन्य अपराध पनि जिल्लामा बढेको पाइएको छ। 

गत असोज ९ मा परोहा नपा २ जिंगडबा बेलबिछवामा अकबर भन्ने अब्बु स्वयबको गोली हानी हत्या र असोज १२ गते मौलापुर नपाका देवेन्द्र साहको गोली हानी हत्या भएको थियो । यसैगरी माघ ९ गते राजपुर नगरपालिका ९ बलुवाटोलका ६ वर्षीय मफुजा देवानको घाटी रेटेर हत्या भएको थियो भने त्यसको एक हप्ता नबित्दै माघ १५ मा राजपुर नपा बैरियाका शेख सैफुल्लामाथि गोलि प्रहार भएको थियो । गत शुक्रबार राजपुर नपा ३ बलुवाका कुखुरा व्यवसायी शेख सलिममाथि गोली प्रहार भएको छ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार यो आर्थिक वर्षको हालसम्म २ सय ३६ उजुरी दर्ता भएका छन्, जसमध्ये १२ वटा जबरजस्ती करणी र २२ वटा कर्तव्य ज्यानसम्बन्धी छन् । यो आर्थिक वर्षमा १ सय ६१ फरार अभियुक्तमध्ये २४ जना पक्राउ परेको र १ सय ३७ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी रामकुमार दानीले बताएका छन्।

भारतसित सिमाना जोडिएका कारण रौतहटमा अपराध बढेको स्थानीयको भनाइ छ । खुला सिमाना भएका कारण रौतहटमा अपराध गरी भारततिर पलायन हुने र भारततिर अपराधिक गतिविधिमा संलग्नले रौतहटमा शरण लिने गरेको देखिएको छ । खुला नाका भएका कारण नेपालका अपराधीका लागि भारततिर र भारतका अपराधीका लागि नेपालतिर शरण लिन सजिलो भएको नेपाल प्रहरीका पूर्वसई जिवछ मण्डलले बताए।

प्रकाशित: २८ फाल्गुन २०७४ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App