१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सिनेमा, सेक्स र महिला

सन् १८९५ डिसेम्बर २८ तारिखमा विश्वमा पहिलोपटक प्रदर्शित मूक सिनेमा ‘दी अराइभल अफ दी ट्रेन’ फ्रान्सका लुमाएर दाजुभाइले बनाएका हुन्।

यसमा कुनै महिला पात्रको भूमिका थिएन र निर्माणमा पनि कुनै अहं भूमिका महिलाको रहेन । सन् १८९५ देखि सन् १९२५ सम्म सिनेमा निर्माण गर्ने प्रमुख राष्ट्रमा फ्रान्स, अमेरिका, इटाली, रुस, डेनमार्क, बेलायत र भारत रहे । यो लामो दौरान सिनेमाले मूक युगमा आवाज खोज्ने क्रममा धेरै कोसिसका बाबजुद रुसका केही सिनेकर्मीमध्ये सजग रूपमा सर्जेई आइन्स्टाइनले महिलाको अहं भूमिकामा ‘मदर’ नामक सिनेमा बनाए, सन् १९२६ मा।

यसअघि सन् १९१५ मा अमेरिकी निर्देशक डेविड वार्क ग्रिफिथले ‘द वर्थ अफ नेसन’मा नेपथ्यबाट महिलाको उपस्थिति देखाएपछि त्यसलाई सन् १९२५ मा रुसका फिल्मकर्मी सर्जेइ आइजेन्स्टाइनले ब्याटलसिप पोटेम्पकिनमा अस्पतालबाट ट्रलीमा बच्चा लिएर आउँदै गरेकी आमा र उनको संवेदनालाई क्लोज अपमा अभिव्यक्त गर्ने प्रयास गरेका थिए । सिनेमा निर्माण क्रममा पहिलो सिनेमा ‘दी अराइभल अफ दी ट्रेन’ देखि ‘ब्याटलसिप पोटेम्पकिन’का बीचमा लामो समय महिलाको उपस्थिति र स्वर शून्य बराबर रह्यो।

सन् १९१६ मा रुसमा राष्ट्रीयकरण भएपछि लेनिनको शासनकालमा उदाएका तीन फिल्मकार कुलेशाव, डबजेन्को र आइजेन्स्टाइनमध्ये आइजेन्स्टाइनले सशक्त रूपमा महिलाको स्वरलाई पर्दामा उठाए, यो सिनेमा नै विश्वमा महिलाको विषय तत्व लिएर बनाइएको पहिलो कथानक सिनेमा थियो । र, यही सिनेमाले नै विश्वका आमूल सिनेकर्मीको विचारलाई बदल्न सघाउ पुर्‍यायो । यही सिनेमाको प्रभावमा भारतमा महबुब खानले सन् १९५७ मा ‘मदर इन्डिया’ बनाए ।

‘मदर इन्डिया’ प्रदर्शन भएर सफल भएको नौ वर्षपछि नेपालमा सन् १९६५ को मार्चमा ‘आमा’ चलचित्रको निर्माणको घोषणा भयो । आमा सरकारी लगानीमा यो नेपालीमा बनेको नेपालको पहिलो सिनेमा मानिन्छ, यसै सिनेमाको प्रदर्शनसँगै सन् १९६५ मै निजी क्षेत्रबाट पहिलोपटक माइतीघर नामक सिनेमा बन्यो, बीएस थापाद्वारा निर्देशित यस सिनेमामा भारतीय अभिनेत्री माला सिन्हाको प्रमुख भूमिका रहेको थियो । यस सिनेमामा उनकै जीवनको समस्या, संकट र चुनौतीवरिपरि यो सिनेमा केन्द्रित थियो, (सायमी, पृ. २४ : २००१)।

माइतीघर निर्माणको १८ वर्षपछि सन् १९८२ मा निजी क्षेत्रबाट ‘जुनी’ नामक सिनेमा बन्न सक्यो । निजी क्षेत्रका निर्माताको लगानीमा बनेको यस चलचित्रमा ‘जुनी’की निर्माता मञ्जु राणा स्वयं एक महिला भएका कारण यस फिल्मको ब्यानरको नाउँ पनि महिलाकै नाउँबाट सुजाता फिल्मस् राखिएको थियो र यसमा सम्पूर्ण कथावस्तु नायिका मीनाक्षी आनन्दवरिपरि घुमेको थियो, यसमा नारीको जीवनमा आउने समस्या, उनले पार गर्ने सत्तासंघर्ष र समन्वयका बारेमा कथा केन्द्रित थियो।

‘माइतीघर’, ‘परालको आगो’, ‘जुनी’पछि निजी क्षेत्रबाट चलचित्र बनाउने क्रममा काठमान्डु उपत्यका, पोखरा र विराटनगरका धेरै निर्माता निर्देशक सक्रिय देखिए भने भारतको मुम्बई र कोलकोता अनि भारतकै बाइसौँ राज्य सिक्किम पनि अत्यन्त सक्रिय देखिए।

त्यसमध्ये निजी क्षेत्रका प्रायः निर्माता निर्देशक आफ्नी आमा, पत्नी वा छोरीबाट प्रेरित भएर सिनेमा बनाउने हुनाले प्रायःले आफ्नो सिनेमाको ब्यानरको नाम देवी, भगवती, कालीको नाममा राखेको पाइन्छ भने कतिले आफ्नै पत्नी वा आमाको नाममा पनि राखेको पाइन्छ । उदाहरणार्थ, निजी क्षेत्रबाट दोस्रो चरणमा सिनेमा बनाउने चलचित्र उद्यमी डिबी थापाले मायाप्रीति (सन् १९८६) बनाउँदा आफ्नो ब्यानरको नाम शान्ति फिल्मस् राखे भने नायक निर्माता भुवन केसीले आफ्नै छोरीको नाममा काजोल फिल्मस् राखेका छन्।

यसबाहेक कैयौँ निर्माता निर्देशकले विवाहपछि सिनेमामा सक्रिय बनाउन अनेक सिर्जनात्मक कार्यमा सम्बद्ध पनि बनाएका छन्, निर्देशक तुलसी घिमिरेले आफ्नी पत्नी भारती गजमेरलाई सहायक निर्देशकमा र निर्माता निर्देशक शम्भु प्रधानले आफ्नी पत्नी नूतन प्रधानलाई संवाद लेखकका रूपमा प्रवेश गराएका छन् । मूलतः नेपाली सिनेमाका निर्माता, निर्देशक वा उद्यमी यस व्यवसायलाई लक्ष्मीले धान्ने भएको भएर पनि महिलाको सहभागितालाई प्रमुख मान्दछन्।

यस्ता कैयौँ उदाहरण निजी क्षेत्रका चलचित्र उद्योगले दिएका छन् भने कैयौँ सुधार गर्नुपर्ने अहिलेको परिप्रेक्ष्यमा देखापर्दै आए पनि सिनेमाको पर्दामा महिलाको तस्बिर अस्पष्ट र धुमिल देखिन्छ, यसै विषयलाई अभियोजन गरेर यो आलेख तयार पारिएको छ ।
 
विषय :१
‘काल्पनिकीमा तिनी निकै उच्च महŒवमा रहेकी तर वास्तविकीमा तिनी परिचयहीन बनेकी छिन् । तिनले कवितालाई आदिदेखि अन्त्यसम्म सामीप्य दिएकी छिन् तर तिनी इतिहासबाट गायब छिन्,’ विश्वप्रसिद्ध उपन्यासकार भर्जिनिया उल्फकृत ‘अ रुम अफ वन्स वन’का यी पंक्ति पढ्दा विपर्यास लाग्छ, महिलाको जीवन । पुरुष तिनलाई चाहन्छ, माया गर्छ, तिनको पूजा गर्छ र तिनको बारेमा लेख्छ, तर उनीहरूले ती सबै आफ्नो अस्तित्वका निम्ति गरेको देखिन्छ।

‘जीवनरेखा’मा खलपात्र अर्जुनजंग शाहीले बोलेको संवाद मलाई त्यही माल चाहिन्छ । वा, नायिका रेखा थापाले बनाएको ‘कसले चोर्‍यो मेरो मन’मा रेखाले आर्यन सिग्देललाई ‘तिमी राम्रो माल छौ’ भन्ने जस्ता संवाद महिलाले लेखेको भए, अझै स्तरीकृत वा सम्पादित हुन सक्थ्यो ।

उद्धृत मन्तव्यले समाजमा महिलाको स्थितिलाई स्पष्ट दर्शाउँछ, त्यो चाहे उच्च घरानामा होस् वा निम्नकोटिमा । तर, त्यसमा महिलाले आफैँ सक्रियता देखाउनका निम्ति पहिलो सहभागिता आफैँ नै एक विषय वा आग्रह बन्न जरुरी छ।

र, आफैँलाई सहभागी बनाउन महिलाले सिर्जनात्मक सहभागिता र समन्वय हुने क्षेत्रमा आफूलाई उभ्याउन आवश्यक देखिन्छ ।नेपाली चलचित्रका क्षेत्रमा महिला चलचित्रकर्मीको शून्यबराबर उपस्थिति रहेको क्षेत्र हो, सिर्जनात्मक क्षेत्र । सिर्जनात्मक क्षेत्रलाई सिनेमाले तीन प्रभागमा विभक्त गरेको देखिन्छ :कथा लेखन, संवाद लेखन र गीत लेखन।

यी तीनै क्षेत्रमा महिला चलचित्रकर्मीको उपस्थिति हुन सके, यहीँबाट अभियान सुरु हुन्छ । सिनेमा खाली पानाको कालो अक्षरबाट थालिन्छ, र खाली पानामा जस्तो विषयलाई पनि उठाउन सकिन्छ । जस्तै, कथावस्तुको चयन, पात्रको नाम वा चरित्र चित्रण।

यसमा महिलाको सहभागिता हुन सके, महिलाका विषयमा जिउँदा–जाग्दा विषवस्तुको प्रकटन हुन सक्छ । सिनेमा निर्माण वा लेखन सामाजिक स्रोतको प्रेरणा वा उपज भएकाले हाम्रो समाजमा भएका सबल पक्षलाई हामीले वरण गर्न सक्छौँ । नेपाली समाज हिन्दू राष्ट्रवादबाट अत्यधिक प्रभावित भएकाले यसले दुर्गा, कालीजस्ता शक्तिरूपी पात्रलाई पर्दामा रूपायित गर्न महिलाको कलमको सहायता लिन सक्छ।

दोस्रो, संवाद लेखन पनि महत्वपूर्ण पक्ष हो । दुई घन्टाको सिनेमा हेरिसकेर दर्शकको दिल–दिमागमा बस्ने पछिल्लो चिज संवाद नै हो । यसले वर्षौंसम्म प्रभाव पारिरहन्छ । उदाहरणका लागि, माइतीघरमा सुनीता रेग्मीले बोलेको घैँटोभित्र घाम लागे मात्र आइमाईले संसार देख्न पाउँछ, वा सिन्दुरमा खलनायक नीर शाहले बोलेको संवाद, यो घर एउटा स्टेज हो र तँ मेरी स्वास्नी ।

वा, ‘जीवनरेखा’मा खलपात्र अर्जुनजंग शाहीले बोलेको संवाद मलाई त्यही माल चाहिन्छ । वा, नायिका रेखा थापाले बनाएको ‘कसले चोर्‍यो मेरो मन’मा रेखाले आर्यन सिग्देललाई ‘तिमी राम्रो माल छौ’ भन्ने जस्ता संवाद महिलाले लेखेको भए, अझै स्तरीकृत वा सम्पादित हुन सक्थ्यो।

तेस्रो पक्ष हो, गीत लेखन, जसमा नारीको उपस्थिति चलचित्रमा बौद्धिक शून्यबराबर छ । पुरुषले लेखेका गीतमा महिलाको रूप, साजसज्जा र लावण्यको मात्र चित्रण भएको पाइन्छ, मस्तिष्क वा मानसिकता कतै देखिन्न । यसलाई एक रुचिसम्पन्न महिलाले सहभागिता दिन सके तटस्थ नभए पनि तर्कातीत हुन सक्छ ।

विषय : २

चलचित्र निर्माण सिर्जनात्मक कार्य हो भने त्यति नै हदमा संरचनात्मक कार्य पनि हो । संरचनात्मक कार्यमा समूहगत उपस्थिति अनिवार्य छ । सिनेमालाई एकल पद्धतिमा नसोचेर अगि बढाउन समूहको सामीप्य राख्ने हो भने लेखनमा जस्तै छायांकन, सम्पादन र संगीत संरचनामा महिला चलचित्रकर्मीले गतिलो भूमिका निर्वाह गर्न सक्छ ।

तर, यो जत्तिकै प्रभावकारी कदम अर्को पनि हुन सक्छ, हरेक चलचित्र निर्माण कम्पनीले निर्देशन विभागमा निर्देशकका सहायकका रूपमा महिला सहायक निर्देशक राख्ने पद्धति बनाएमा ती महिलाबाट निर्देशकले वा दृश्यांकनमा समन्विति वा सहभागिता सम्मानपूर्वक पाउन सक्छ ।

वेशभूषा, केशविन्यास, साज–सजावट लगायत रंग संयोजनमा समेत उल्लेखनीय सहभागिता पर्दामा हुन सक्छ ।नेपाली चलचित्र बन्न थालेदेखि आजसम्मको परिवेशमा चेतन कार्कीले यो परम्परालाई थाले पनि अरु निर्देशकले न्यून रूपमा यसको पालना गरेको पनि देखिन्न, निजी क्षेत्रका निर्माताले यस पद्धतिलाई गम्भीर रुपमा हेर्न वा सोच्न सकिन्छ ।
 
विषय : ३

चलचित्रको लेखन, निर्देशन, निर्माण छाडेर तेस्रो अत्यन्त प्रभावकारी पक्ष हो, प्रचार । चलचित्र जुनसुकै विचार वा विषयमा बनाइए पनि यसलाई बाहिर प्रदर्शनमा ल्याउने बेला गरिने प्रचारले समाजमा शीघ्रातिशीघ्र प्रभाव पार्छ, त्यही प्रभावले समाजमा नयाँ शक्ति समीकरण बनाउँछ । सिनेमा एउटा सम्मानित दुनियाँको वास्तविक छवि हो, सिनेमाले एउटा काल्पनिकी संसार त अवश्य बनाउँछ, तर सिनेमा स्वयंमा वास्तविकता हो । यही वास्तविकतालाई सिनेमा रुचि राख्नेले पनि, नराख्नेले पनि आफ्नो अवधारणा बनाउन सक्छ।

जनस्थानमा जाने प्रचार–प्रसार एवं प्रवर्द्धन सामग्रीमा वामा–शक्ति भागी हुन सके, त्यस्ता सामग्रीमा पनि महिलाको गरिमा न घट्ने, समाजलाई कुत्सित नबनाउने सत्कार्य गर्न सकिन्छ । यसले जीवनको गौरव जोगाइराख्न सकिन्छ । पोस्टर, क्यासेटको ज्याकेट, टिभी वा पत्रपत्रिकाका निम्ति बन्ने प्रकाश्य सामग्री वा टिजरमा महिलाको सोचबाट नयाँ ढंगबाट न्यायपूर्ण काम हुन सक्छ ।
 
विषय : ४
सिनेमा मनोरञ्जनको माध्यम भए पनि यो शिक्षाको जग पनि हो, तर सिनेमा हेर्नुअघि नै जनसाधारणमा हेर्ने सिनेमा हेर्ने चेतना वा शिक्षा हुन जरुरी छ, सिनेमा केका लागि बनाउने भन्दा, केका लागि के हेर्ने भन्ने ज्ञान वा विवेक हुन जरुरी छ । सिनेमा महिलाका निम्ति के के कारण शिक्षा हुन सक्छ, दर्शकका रूपमा बुझ्न जरुरी छ, यसका लागि सिनेमालाई पाठ्यपुस्तकमा राख्न जरुरी छ, तर यो हाम्रो जनजीवन, भावभूमि र परिवेशमा आधारित हुन जरुरी छ।

यसबारे सन् १९७८ को युनेस्कोको मिडिया शिक्षा साधारण पाठ्यसामग्रीको प्रस्तावना हेर्ने हो भने स्पष्ट हुन सक्छ । सिनेमा वा शिक्षा, एक खाद्य पदार्थ नभई यो एउटा मानसिक उपलब्धि हो । यो सबै ठाउँमा एउटै स्वादमा नजान सक्छ, युनेस्को यो प्रतिवेदन राम्रो भईकन पनि सकारात्मक भएन, किनकि युनेस्कोको गतिविधि र सक्रियता पश्चिमी मुलुकको अनुभव र औद्योगिक राष्ट्रको उपलब्धिका आधारमा हुने हुनाले पूर्वीय मुलुकमा यसको ठीक उल्टो प्रभाव पर्न गयो।

सिनेमा–शिक्षा यसकारण असफल हुन पुग्यो, यसलाई वैज्ञानिक वा शिष्ट तरिकामा लाने हो भने यसबाट अझै महिला चलचित्रकर्मी लाभान्वित हुन सक्छन् ।सिनेशिक्षा स्कुल माध्यमबाट नभईकन रोजेरियन पद्धतिमा जान सके सिनेमा सीधै महिलाको रुचिको विषय बन्न सक्छ, सिनेमा हेरेपछि त्यसमा अन्तक्र्रिया वा छलफल गरेर स्त्री विषयक खोजखनिज गर्न सकिन्छ ।

जस्तो :सिनेमा हेर्ने । सिनेमामा के छ, के छैन, सामूहिक छलफल गर्ने । हेरिएको सिनेमाको जनजीवनमा प्रभाव हेर्ने । र, त्यसको वस्तुपरक मूल्यांकन गरेर महिलालाई अभिप्रेरित गर्ने ।प्रणालीगत रूपमा सिनेमा र समाजको सम्बन्धले केही अर्थ राख्छ, तर यसलाई गुणदोषका आधारमा मात्र हेरिने दृष्टिकोण फेरिनुपर्छ ।हामीले यसबाट सिनेमाका अरु सम्भावनाका मार्ग प्रशस्ति गर्न सक्छौँ, वा यसकै करण वामा शक्तिमा आर्थिक रूपान्तरण हुन सक्छ।

सिनेमाले धेरैको जीवन, र गति बदल्न सक्छ, तर हामीलाई यो पनि थाहा छ, सिनेमाका निम्ति हामीले बाटो बदल्न सक्यौँ भने स्वभावतः सिनेमा पनि बदल्न सक्छ । भनिन्छ, राइट लिभिङ एट राइट टाइम । त्यसैको प्रतीक्षामा नेपालीय सिनेमाले खोजेको परिवर्तन महिला चलचित्रकर्मीबाट भएमा दक्षिण एसियाई भूखण्डमा राम्रो सन्देश जान सक्छ ।
 

 

प्रकाशित: ३ चैत्र २०७४ ०५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App