६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

‘सरकार कानुनबाहिर जाँदैन’

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले टीकापुर घटनाका आरोपित रेशम चौधरीलाई सांसदको शपथग्रहण गराउने आश्वासन दिएको बताए पनि सरकारले त्यसलाई अस्वीकार गरेको छ।
 
२०७२ साल भदौमा टीकापुरमा भएको घटनाका मुख्य योजनाकारको आरोप लागेका सांसद चौधरीलाई शपथ ग्रहण गराउन राजपाका नेताहरुले दबाब दिँदै आएका छन्। 

राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले सरकार चौधरीलाई शपथ ग्रहण गराउन सहमत भएको दाबी गरेका छन्। ‘तर कहिले गराउने र कहाँ गराउने केही भनेको छैन,’ रायले भने, ‘हामीले सरकारलाई शपथ ग्रहण गराउन दबाब दिइरहेका छौं।’

न्याय, कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले चौधरीलाई शपथ ग्रहणका विषयमा टुंगो लगिनसकेको बताए। 

सिंहदरबारमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले सरकारले कानुनबाहिर गएर निर्णय नगर्ने बताए। 

‘अभियोग लाग्दैमा कोही पनि दोषी हुँदैन। उनी जनताबाट निर्वाचित पनि हुन्,’ तामाङले भने, ‘उनलाई शपथ ग्रहण गराउने–नगराउने भन्ने विषयमा सरकारले टुंगो लगाएको छैन। सरकारले कानुनबाहिर गएर निर्णय गर्दैन।’ उनले जनताबाट निर्वाचित भएको भन्दैमा कानुनी कारबाहीबाट बच्न नसक्ने स्पष्ट पारे। 

जेलमा आमरण अनशन बसेका चौधरीको स्वास्थ्य अवस्था खस्केपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो। सरकारमा सहभागिता हुने विषयमा राजपा र सत्तारूढ दलहरुबीच छलफल चलिरहेको समयमा चौधरीको अनशन गृहमन्त्री रामबहादुर थापाले जुस खुवाएर तोडेका थिए।

प्रकाशित: ६ चैत्र २०७४ ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App