१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बार्सिलोनाको अग्रता मजबुत

मड्रिड – भिल्लारियालसँग २–१ ले पराजित भएसँगै एट्लेटिको मड्रिडको स्पेनिस ला लिगामा उपाधि होड कमजोर भएको दिन आइतबार बार्सिलोनाले एथलेटिक बिल्बाओलाई २–० को नतिजामा हराउँदै शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ। क्रिस्टियानो रोनाल्डोको ४ गोलप्रेरित रियाल मड्रिडले जिरोनामाथि ६–३ को विजय हासिल गरे पनि जिनेदिन जिदानको टोली अझै उपाधि होडबाट बाहिर छ। 

एन्टोनियो ग्रिजम्यानले २०औं मिनेटमा गरेको पेनाल्टी गोलसँगै एट्लेटिकोले बार्सिलोनामाथिको दबाब कायम राख्ने संकेत गरेको थियो। तर युनेस युनलले अन्तिम समयमा गरेको गोलमा भिल्लारियालले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गरेको थियो। ८२औं मिनेटमा बराबरी गोल गरेका युनलले इन्जुरी समयमा विजयी गोल गरेका थिए । भिटोलोले अन्तिम समयमा रातो कार्ड सामना गरेपछि भ्रमणकारी एट्लेटिकोले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।

‘हामीले खेलमा राम्रो नियन्त्रण कायम राखेका थियौं। तर अन्तिम समयमा गरेका दुई गल्तीको मूल्य चुकाउनुप-यो,’ एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले भने, ‘हामीले गर्नुपर्ने काम गरिरहेका छौं। खेल जित्दै सक्दो धेरै अंक बटुल्ने प्रयास कायम राख्नुपर्छ।’

त्यसअघि लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले क्याम्प नोउमा एथलेटिक बिल्बाओलाई २–० को नतिजामा हराएको थियो। आठौं मिनेटमा फ्रान्सिस्को एल्कासरको गोलबाट अग्रता लिएको बार्सिलोनाका लागि मेसीले ३०औं मिनेटमा अर्को गोल थपेका थिए। पछिल्लो ६ खेलमा मेसीको यो आठौं गोल हो। उनले जोर्डी अल्बाको पासलाई पोस्टको दिशा दिएका हुन्। 

‘मेसीले प्रत्येक दिन केही फरक गर्न सक्छु भनेर प्रमाणित गरिरहेका छन्,’ झन्डै तीन महिनापछि गोल गरेका बार्सिलोनाका फरवार्ड एल्कासरले भने। मेसीको प्रेरणादायी प्रदर्शनमा सुरुबाटै खेल नियन्त्रणमा राखेको बार्सिलोनाको यो सबैखाले प्रतियोगितामा गरी लगातार चौथो जित हो। अर्जेन्टिनाका फरवार्ड मेसीले गरेको दुई गोलको प्रेरणामा बार्सिलोनाले बुधबार चेल्सीमाथि ३–० को नतिजा निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो। उनले पछिल्ला सबै ६ खेलमा गोल गरेका छन्।

जिरोनामाथि ६–३ को विजयी नतिजा निकाल्ने क्रममा रोनाल्डोले पहिलो हाफमा १ तथा दोस्रो हाफमा ३ गोल गरे। यससँगै सबैखाले प्रतियोगिता गरी पछिल्लो ११ खेलमा रोनाल्डोको गोलसंख्या २१ पुगेको छ।  सान्टियागो बेर्नाबेउ रंगशालामा पोर्चुगलका स्टार रोनाल्डोले लुकास भाजक्वेजको गोलमा पनि अवसर सिर्जना गरिदिएका थिए। रियालका लागि अर्को गोल गारेथ बेलले गरेका थिए। 

रियालका पछिल्ला सबै ८ खेलमा रोनाल्डोले गोल गरेका छन्। यससँगै जारी सिजनको लिगमा उनको गोलसंख्या २२ पुगेको छ। जुन बार्सिलोनाका लुइस स्वारेजको भन्दा १ गोलले बढी हो भने लियोनल मेसीको भन्दा ३ गोलले कम हो। ‘यो अविश्वसनीय प्रदर्शन हो,’ रोनाल्डोबारे रियालका रक्षक नाचो फर्नान्डेजले भने, ‘पुनः एक पटक उनले आफूलाई उत्कृष्ट साबित गरेका छन्।’

जिरोनाका लागि क्रिस्टेन स्टुएनीले दुई तथा जुवानपेले एक गोल गरेका थिए। रियालका प्रशिक्षक जिदानले रक्षक सर्जियो रामोसलाई आराम दिएका थिए भने बेल, लुका मोडरिच, इस्को र कासेमिरोलाई बेन्चमा राखेका थिए। यससँगै जिरोनाको तीन खेलसम्मको विजयी यात्रामा पूर्णविराम लागेको छ। सिजनको सुरुआतमा उत्कृष्ट प्रदर्शन गरेको जिरोना सातौं स्थानमा छ। जुन छैटौं स्थानको सेभियाभन्दा २ र पाँचौं स्थानको भिल्लारियालभन्दा ४ अंकले पछि हो। 

लेगानेससँग २–१ ले हारेपछि सेभियाको युरोपा लिग खेल्ने सपना धरापमा परेको छ। मड्रिडको दक्षिण भेगमा भोगेको पराजयले सेभियालाई छैटौं स्थानमा धकेलिदिएको छ। जुन युरोपा लिगमा स्वतः छनोट हुने अन्तिम स्थान हो। पछिल्लो सयम जितका लागि संघर्ष गरिरहेको सेभियाले यसअघि नै शीर्ष चारको सम्भावना गुमाइसकेको थियो। सेभिया चौथो स्थानको भ्यालेन्सियाभन्दा १४ अंकले पछि छ। आइतबारै दशौं स्थानको सेल्टा भिगोले पुछारमा रहेको मालागासँग गोलरहित बराबरी खेल्यो। 

प्रकाशित: ६ चैत्र २०७४ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App