१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश राजधानी हेटौंडाबाट नसर्ने माओवादी अध्यक्षको दाबी

मकवानपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश नम्बर ३ को राजधानी हेटौंडा नै स्थायी हुने बताएका छन्। राजधानीका लागि हेटौंडा नै प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा उपयुक्त स्थानमा रहेकाले दायाँबायाँ सार्न नहुने उनले बताए।

हुलाकी राजमार्गको कार्यक्रममा सहभागी भएर सिराहाबाट मंगलबार दिउँसो आएका उनले हेटौंडा उपमहानगरपालिका–१० राप्तीतट स्थित गोरक्षश्वरधाम आएका उनले यस्तो खुलाशा गरेका हुन्। गोरक्षश्वरधाममा बैशाख १ गतेबाट हुने महायज्ञबारे कार्यक्रममा उनले हेटौंडा राजधानी हुँदा आफु खुशी हुने बताउँदै हेटौंडेलीलाई ढुक्क हुन आग्रह गरे।

अतिवादीहरुले आफुहरुलाई धर्म विरोधी भएको प्रचार गरेको बताउँदै प्रचण्डले आफुहरु धर्मलाई सम्मान गर्ने राजनीतिक संस्कार भएको दाबी गरे। धार्मिक पर्यटनको लागि मकवानपुरको गोरक्षश्वरधामलाई सरकारले सहयोग गर्न तयार रहेको समेत उनले बताए। गोरक्षश्वरधामको रेखदेखमा व्यवसायी अजेयराज सुमार्गीले प्रमुख भुमिका निर्वाह गर्दै आएका छन।

कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, राष्ट्रियसभाका सदस्य रामनारायण विडारी, माओवादी केन्द्रका जिल्ला संयोजक एवम् प्रदेश सभाषद् प्रेमबहादुर पुलामी लगायतको आतिथ्यता रहेको थियो।

त्यस्तै, मकवानपुरे कम्युनिष्ट नेता रामकृष्ण श्रेष्ठलाई भेटेपछि उनले राजधानी सार्ने भन्ने बिषय हल्ला मात्र भएको जिकिर गर्दै हल्लाको पछि नलाग्न आग्रह गरे। ‘हेटौंडा राजधानी भइसक्यो, तपाईहरु ढुक्क रहनुस्,’ उनले भने, ‘अब हेटौंडा अस्पताललाई राजधानीमा रहने अस्पताल जस्तै सफा तथा नमुना बनाउनु पर्छ।’ प्रदेश राजधानीमा राम्रो र सुविधासम्पन्न अस्पताल चाहिने भन्दै उनले हेटौंडा अस्पतालको स्तरीकरण गर्न आफुले पहल गर्ने बताए।

हेटौंडा उपमहानगरपालिका–४ का पूर्ववडाध्यक्ष एवम् माओवादी कार्यकर्ता श्रेष्ठलाई उनले मंगलबार दिउँसो हेटौंडा अस्पताल पुगेर भेटेका थिए  हेटौंडा अस्पताल उपचारार्थ भर्ना गरिएका क्यान्सर रोगबाट पीडित श्रेष्ठलाई भेटेर स्वास्थ्य अवस्थाबारे उनले जानकारी लिएका थिए। उनी बुधबार बिहानै पत्रकार भेटघाट गरेर काठमाडौं फर्किने उनको निजी सचिवालयले जनाएको छ।

प्रकाशित: ६ चैत्र २०७४ १५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App