१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कर्जाको ब्याज दोब्वरले बढ्दा उद्योगीलाई मर्का

 काठमाडौं– कर्जाको ब्याज दोब्वरले बढ्दा उद्योगी व्यवसायीहरुलाई मर्कामा परेको गुनासो उनीहरुले गरेका छन् । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री युवराज खतिवडालाई मंगलबार सिंहदरवारमा भेट गरी उक्त समस्या समाधान गर्न आग्रह गरेका हुन्।

उनीहरुले अर्थमन्त्रीलाई भेटघाट गरी व्यापारव्यवसायका विविध समस्याबारे अवगत गराएका थिए । भेटघाटमा चेम्वरका अध्यक्ष श्रेष्ठले वैंकको चर्काे व्याजदर घटाउनेतिर सरकार लाग्नुपर्ने खाँंचो औंल्याए । ६ देखि ७ प्रतिशतमा रहेको व्याजदर अहिले बढेर १३ देखि १४ प्रतिशतको उकालो लागेको भन्दै यसले व्यापारीलाई समस्यामा पारेको बताए।

अध्यक्ष श्रेष्ठले हाल आयातित मालसामानहरु सन्दर्भ मूल्य अनुसार जाँंचपास गर्न लागेकोले उद्योगी व्यवसायीहरुलाई मर्कामा परेको अवगत गराएका थिए । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले कारोबार मूल्यको आधारमा भन्सारमा भन्सार जाँंचपास हुनुपर्नेमा जोड दिए।

साथसाथै उनले बजार अनुगमनको क्रममा व्यापारीको कुरै  नसुनी पहिला थुन्ने गरेको भन्दै यसतर्फ सरकारको विशेष ध्यान जानुपर्नेमा जोड दिए । पहिला सुन्ने अनि मात्रै अरु कारबाही हुनुपर्ने उनको भनाई थियो।

भेटघाटमा अर्थमन्त्री खतिवडाले व्यापारीले राखेका समस्या समाधानका लागि सरकार र निजी क्षेत्र संयुक्त रुपमा मिलेर अगाडि वढ्नु पर्नेमा जोड दिए । उनले मालसामान कारोबारमा विलविजकको आधारमा विक्री गरी सरकारलाई राजश्व परिचालनमा सहयोग प्रदान गर्न आहवान गरे । यसले भन्सारमा देखिएको समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । जुनसुकै समस्या समाधानका लागि इमान्दारिता अनि अनुशासन महत्वपूर्ण हुने उनले बताए ।

साथै उनले बजार अनुगमनका क्रममा फरकफरक निकायहरुले अनुगमन गर्दा समस्या उत्पन्न हुने गरेको भन्दै अव अख्तियारी प्राप्त निकायले मात्रै एकद्धार प्रणाली अन्तर्गत बजार अनुगमन हुने व्यवस्था मिलाउने जानकारी दिए ।

बैंकमा अहिले देखिएको तरलता समस्याको दीर्घकालिन समाधानका लागि स्वदेशी तथा विदेशी पुँंजीको परिचालन आवश्यक भएको उनले औल्याए । यसका लागि आवश्यक नीति नियम तर्जुमा गरिनु पर्नेमा जोड दिएको जारी बिज्ञप्तिमा उल्लेख छ।

टोलीमा चेम्वरका निवर्तमान अध्यक्ष सुरेश कुमार वस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु कमलेश कुमार अग्रवाल, दीपककुमार मलहोत्रा, ईच्छाराज तामाङलगायतका चेम्वरका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु सहभागी रहेको थियो।
 

प्रकाशित: ७ चैत्र २०७४ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App