१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शाैचालय बनिनसक्दै खुला दिसामुक्त घाेषणा

खुला दिसामुक्त जिल्ला घोषणा हुन लागेको सिरहा जिल्लाका एक विपन्नको घरमा भान्सासँगै जोडेर बनाइएको चर्पी । तस्बिर : मिथिलेश/नागरिक

लहान – नेपाललाई सन् २०१७ भित्र खुला दिसामुक्त घोषणा गर्ने नीति सरकारले लियो । यसनिम्ति विदेशी अनुदान र स्वदेशी पैसा खर्चेर घरघरमा शौचालय बनाउन अभियान चलाइयो।

सिरहा जिल्लालाई चैत ९ गत्ते ‘खुला दिसामुक्त’ घोषणा गरिँदैछ । तर, कतिपय घरमा शौचालय नभएको तथ्य बाहिर आइसकेको छ ।सिरहाका सबै अर्थात् १ लाख १८ हजार ९ सय ६२ घरमा शौचालय बनेको तथ्यांक भए पनि करिब २० प्रतिशतजति प्रयोगमै छैनन् । करिब १० प्रतिशतजति घरमा  शौचालय बनेकै छैनन्।

स्वास्थ्य र सरसफाइका दृष्टिले महत्वपूर्ण अभियान भए पनि यो सफल भइसकेको छैन । चर्पीमा दिसा गर्ने चलन यस जिल्लामा न्यून छ । कतिपय ठाउँमा बनेका शौचालयमा पानी नभएको र त्यहाँ दिसा गर्ने बानी नभएको देखिन्छ । दिसा धोएपछि साबुनपानीले हात सफा गर्ने चलनको अभाव पनि यस अभियानको अर्को चुनौती हो । यस्तो अवस्थामा विदेशी अनुदान पचाउन घरघरमा शौचालय बनेको तथ्यांक देखाएर प्रदेश २ को पहिलो ‘खुला दिसामुक्त जिल्ला’ घोषणा गराउनुलाई धेरैले लज्जास्पद मानेका छन्।

२०६८ देखि सञ्चालित खुला दिसामुक्त कार्यक्रममा अहिलेसम्म करिब १ अर्ब रुपैयाँ खर्चिंदा समेत सिरहामा सफल हुन बाँकी नै रहेको यो अभियानलाई ‘सफल भएको’ घोषणा गर्न तडकभडकमा थप अपव्यय गरिँदैछ । घोषणा कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्रीलाई सहभागी गराउने योजना बन्दैछ । घोषणा सभाका लागि ठूलो तामझामको तयारी गरिँदैछ । ठाउँठाउँमा स्वागतद्वार बनाउने तयारी हुँदैछ।

सुरुमा गाउँपालिका र नगरपालिकालाई ‘खुला दिसामुक्त’ घोषणा गर्न आयोजित सभामा पनि उत्तिकै फजुल खर्च गरिएको थियो । विकास बजेट काटेर ‘पूरा गरिएको’ अभियानमा त्यहींका मानिसमाझ ‘फलानो ठाउँ आजदेखि खुला दिसामुक्त भयो है’ भन्न एकै दिन तीन लाखदेखि पाँच लाख रुपैयाँ खर्चिएको थियो । ‘अभियानमा खटेको’ भन्दै महँगा होटलमा मासु–मदिरा खाँदै शौचालय बनेकामा रमाउने उच्च सरकारी अधिकारीसमेत सहभागी भएका थिए।

‘एक्काइसौं शताब्दीमा बल्लबल्ल शौचालय बन्नु, त्यसको खुसीयालीमा भोजभतेर गर्नु र हुँदाहुँदा ‘जिल्लाले गर्व गर्नुपर्ने विषय’ भन्दै तामझाम गरेर प्रमुख अतिथि बोलाएर फजुल खर्च गर्नु लाजै लाग्ने अवस्था हो’, लहानका बुद्धिजीवी विजय गुप्ताले भने, ‘हरेक घरमा शौचालय बन्नु खुसीको कुरा हो तर मन्त्रीलाई बोलाएर फजुल खर्च गर्नु पटक्कै सुहाउने कार्य होइन ।’ शौचालय पूर्णरुपमा बनिनसक्दै सिरहालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न मुख्यमन्त्री, मन्त्री आउनु सुहाउने कार्य नभएको यहाँका बुद्धिजीवीको भनाइ छ।

सिरहालाई प्रदेश २ को पहिलो ‘खुला दिसामुक्त’ जिल्लाका रुपमा घोषणा गर्न जिल्ला समन्वय समिति, खानेपानी तथा सरसफाइ कार्यालय, दातृ संस्थासहितका सरोकारवालाले साता दिनअघिदेखि तयारी तीव्र पारिरहेको अवस्थामा यसलाई ‘नौटंकी’ मान्ने पनि धेरै नै छन्।

व्यक्ति स्वस्थ रहन शौचालयको महत्व हुने भए पनि अभियानको प्रभावकारितामा चौतर्फी प्रश्न उठिरहेका बेला सरकारका मन्त्रीको मुखबाट ‘खुला दिसामुक्त’ घोषणा गराउन जरुरी नहुने नेपाली कांग्रेसका स्थानीय नेता शैलेन्द्र यादवको धारणा छ । ‘शौचालय, स्वास्थ्य र सरसफाइको महत्व हरेक व्यक्तिका लागि उत्तिकै महत्वपूर्ण हुन्छ’, यादव भन्छन्, ‘तर पूरा भइनसकेको र विपन्नलाई ऋणले थल्याएको अभियान भएकाले तामझाम गर्नु लज्जास्पद हो ।’

घोषणा भयो, कार्यान्वयन भएन
‘सिरहा जिल्लाको पहिलो नमुना खुला दिसामुक्त गाविस’ भन्दै तत्कालीन पडरिया गाविस (हाल लहान नगरपालिकामा गाभिएको) लाई चार वर्षअगाडि खुला दिसामुक्त घोषणा गरियो । वाटर एड नामक दातृ संस्थाले यो गाउँलाई खुला दिसामुतm घोषणा गराउन काम गरेको थियो । सरसफाइमा महत्वपूर्ण उपलब्धि हासिल गरेको ठहर्‍याउँदै यो गाविसलाई पाँच लाख रुपैयाँ आर्थिक अनुदानसमेत प्रदान गरिएको थियो।

घोषणाक्रममा निर्माणरत कतिपय शौचालय अझै अधुरै छन् भने बनिसकेकामा पनि दिसा गर्ने क्रम पातलिएको छ । कतिपय घरमा शौचालय बनेकै छैनन्, बनेकै पनि प्रयोगमा छैनन् । खाल्डोमात्रै खनेकालाई पनि शौचालय बनाइसकेको भन्दै घोषणा गर्न हतारो गर्दा यस्तो परिणाम आएको हो ।

ठूलो धनराशि खर्चिएर अभियान ‘सफल भएको’ घोषणा गरे पनि उपलब्धि प्रभावहीन बनेको छ ।
पडरियाका बेचना सदाय भन्छन्, ‘सुत्ने र भन्सा कोठामात्र अटाएको टाउँमा चुलोसँग टँसाएर चर्पी बनाउन लगाए ।  नबनाउँदा सिफारिस रोक्ने, प्रहरी लगाएर पक्राउ गराउने गर्न थालेपछि चर्पी त बनाएँ तर त्यहाँ दिसा कहिल्यै गरिनँ’, उनले भने,  ‘खाना पकाउने ठाउँमा कसरी दिसा बस्नु, मनले मान्दैन।’

पडरियाकी देवो सदाय भन्छिन्, ‘चुलोसँग चर्पीको प्यान भएकाले कहिल्यै प्रयोग गरेनौं ।’ चौरमा दिसा गरे रोग फैलिन्छ भन्ने हाकिमले चुलोसँग जोडेर चर्पी बनाउन लगाएको उनको गुनासो छ । ‘हाकिमहरु लाखौं खर्चेर नाचगानसहित खुला दिसामुक्त घोषणा सभामा रमाउँछन्’, उनले भनिन्, ‘हामी गरिबको आवाज हप्काएर दबाउँछन् ।’ जिल्लाका विपन्न सबैको अवस्था उस्तै छ । कसैको भान्सामा त कसैको सुत्ने कोठामा चर्पी बनाइएको छ ।


 

प्रकाशित: ७ चैत्र २०७४ ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App