१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

कविता र २१ मार्च

तस्बिरः एजेन्सी

डा. अमर गिरी

कविताका निम्ति २१ मार्चको विशेष महत्व छ । यसै दिन संसारभरि विश्व कविता दिवस मनाइन्छ । नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ।

युनाइटेड नेसन्स एजुकेसनल साइन्टिफिक एन्ड कल्चरल अर्गनाइजेसन (युनेस्को) को सन् १९९९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न सभाले २१ मार्चलाई विश्व कविता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सन् २००० देखि २१ मार्चलाई विश्व कविता दिवसका रूपमा मनाउन आरम्भ गरियो । परिवर्तित परिस्थिति र कविताको समाथ्र्य एवं भूमिकामाथि गम्भीरतापूर्वक विचार गर्दै युनेस्को विश्व कविता दिवस मनाउनुपर्ने टुंगोमा पुगेको थियो।

कविताको इतिहास निकै पुरानो छ । कवितालाई कैयाैँ चिन्तकहरू मनुष्यको मातृभाषाका रूपमा उल्लेख गर्छन् । कविता मनुष्यको हृदय, स्वप्न र संघर्षसँग जोडिएको छ नै, सभ्यता, संस्कृति, इतिहास एवं भाषासँग पनि गाँसिएको छ । कविता मनुष्यको हृदय, मस्तिष्क, सभ्यता, संस्कृति, भाषा, इतिहास सबैथोक हो । मनुष्यको सौन्दर्यात्मक आवश्यकताहरूको पूर्तिमा कविताले महत्वपूर्ण योगदान दिएको छ । जीवन र जगत्को संज्ञानमा पनि यसको महत्वपूर्ण भूमिका रहेको छ ।

समाजमा जागरण ल्याउन र परिवर्तनको प्रक्रियालाई अगाडि बढाउन पनि कविताले महत्वपूर्ण भूमिका खेलेको छ । मनुष्यको अघिल्तिरको यात्रालाई कविताले आरम्भबाटै सघाउन सुरु गरेको थियो र अहिले पनि सघाउँदै छ । कविता आफ्नो यस भूमिकामा आरम्भदेखि नै विलक्षण रहँदै आएको छ।

कवितासँग मनुष्यको प्रेम, यसको सौन्दर्यात्मक प्रकार्यसँग मात्र सम्बन्धित छैन, संज्ञानात्मक र विचारधारात्मक प्रकार्यसँग पनि सम्बन्धित छ । कवितामा मनुष्य बोल्छ, ऊ बाँचेको समय र त्यसका पदचाप बोल्छन् । कवितामा मनुष्यले आफूलाई नियाल्छ, पाउँछ र अघिल्तिर प्रस्थान गर्छ । सभ्यता, संस्कृति एवं भाषाको संरक्षण, परिष्कार, रूपान्तरण तथा समृद्धिमा कविताको महत्वपूर्ण भूमिका रहँदै आएको छ।

भाषा एवं संस्कृतिसँग कविता गाँसिएकाले यो मानव समुदायको पहिचानसँग पनि सम्बन्धित छ । यस प्राचीनतम कला रूपका माध्यमबाट वर्तमान समयमा सांस्कृतिक विभेदको अन्त्य, सामाजिक चेतनाको निर्माण, पहिचानको संरक्षण एवं सौन्दर्यात्मक आवश्यकताको पूर्तिका निम्ति धेरै कुरा गर्न सकिन्छ भन्ने दृष्टिकोण युनेस्कोको रहेको पाइन्छ।

२१ मार्चलाई विश्व कविता दिवसका रूपमा मनाउने निर्णय गर्दा युनेस्कोले केही महत्वपूर्ण विषयलाई गम्भीर रूपमा ध्यान दिएको थियो । आजको संसारमा मनुष्यका पूरा नभएका सौन्दर्यात्मक आवश्यकता छन् । कविताले पूरा नभएका सौन्दर्यात्मक आवश्यकतालाई पूरा गर्न सक्छ ।

सामाजिक सम्बन्धको निर्माणमा कविताले सञ्चारले जस्तो भूमिका खेल्छ । कविता सौन्दर्यात्मक मात्र होइन, सामाजिक आवश्यकता पनि हो । खासगरी यसले युवालाई आफ्नो धरातलतर्फ फर्कन, त्यसको महत्वलाई ठम्याउन र त्यसअनुरूप अघिल्तिर बढ्न प्रेरित गर्छ । आफूलाई गहिरो गरी नियाल्न र बुझ्न मद्दत गर्छ । कविता मनुष्यलाई आफूभन्दा बाहिरको अप्रतिरोध्य र सम्मोहनकारी प्रतीत हुने संसारबाट आफ्नो धरातलतर्फ फर्काउने र आफ्नो स्वलाई अक्षुण्ण राख्न सघाउने एक प्रभावकारी माध्यम हो।

एक व्यक्तिका रूपमा कविले कवितालाई समाजमा अझ बढी स्थापित गर्न र यसप्रति समाजको आकर्षण बढाउन नयाँ एवं प्रभावकारी तरिका अपनाउन सक्छ । पुराना सकारात्मक मूल्यहरूको प्रस्तुति, मौखिक परम्पराको संरक्षण, व्यक्तिको निर्माण र सामाजिकीकरणमा कविताको महत्वपूर्ण भूमिका रहन्छ । अहिले पनि आममानिस र सञ्चारमाध्यमले कवितालाई गम्भीरतापूर्वक लिँदैनन् र उचित महत्व पनि प्रदान गर्दैनन् । यस स्थितिलाई बदल्नुपर्छ र समाजमा कवितालाई समुचित स्थान प्रदान गर्नुपर्छ।

आजको संसारमा कविताका माध्यमबाट मनुष्य समुदायका निम्ति धेरै कुरा गर्न सकिन्छ । युनेस्कोले विश्व कविता दिवस मनाउन आरम्भ गर्दा गम्भीर रूपमा ध्यान दिएका विषय यिनै हुन् । विश्व कविता दिवस युनेस्कोको परिभाषित कार्य र भूमिकासँग जोडिएको छ ।युनेस्कोले विश्व कविता दिवसलाई राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा गरिने काव्यिक गतिविधिका रूपमा लिएको छ र यसप्रति भूमण्डलीय चासो र सहयोगलाई बढाउनुपर्ने कुरामा जोड दिएको छ।

परिवर्तित परिस्थिति र कविताको समार्थ्र्य एवं भूमिकामाथि गम्भीरतापूर्वक विचार गर्दै युनेस्को विश्व कविता दिवस मनाउनुपर्ने टुंगोमा पुगेको थियो।

युनेस्कोको मुख्य उद्देश्य काव्यिक गतिविधिका माध्यमबाट भाषिक विविधता एवं जोखिममा परेका भाषालाई जीवित राख्नु, सम्बन्धित समुदायमा सुनिन सक्ने बनाउनु र तिनको विकासका निम्ति योगदान पु¥याउनु रहेको पाइन्छ । युनेस्कोले यसका निम्ति कविता एवं अन्य कलारूपहरूका बीचमा संवाद स्थापित गर्नुपर्ने, शान्ति, अहिंसा एवं सहिष्णुताको संस्कृति आदिलाई कविताले अभिव्यक्ति दिनुपर्ने, दर्शन र कलाजस्ता विषयहरूलाई पनि परस्पर जोडेर लैजानुपर्ने, कविता अर्थहीन र असान्दर्भिक भइसकेको कलारूप हो भन्ने दृष्टिकोणलाई गलत साबित गर्नुपर्ने जस्ता कुरामा जोड दिँदै आएको छ । उसले कवितालाई पाठ्यक्रममा महत्व दिएर समावेश गर्नुपर्ने कुरामा पनि जोड दिएको छ।

विश्व कविता दिवसलाई विद्यालयमा अन्तर्अनुशासनात्मक कार्यक्रमका रूपमा अघि बढाउनुपर्ने धारणा पनि युनेस्कोले राखेको पाइन्छ । कवितासम्बन्धी पुरस्कारको व्यवस्था गरेर, कार्यक्रममा विभिन्न संघ–संस्थाको सहभागिता गराएर, भिन्नभिन्न राष्ट्रहरूको पारस्परिक सहयोग र संयुक्त प्रयासलाई बढाएर विश्व कविता दिवसलाई भव्य एवं सार्थक रूपमा मनाउन सकिन्छ भन्ने दृष्टिकोण युनेस्कोको रहेको छ।

वर्तमान समयमा युनेस्कोले कवितालाई दिएको महत्वप्रति हाम्रो समुचित रूपमा ध्यान जानुपर्छ र यसलाई सकारात्मक रूपमा हेर्नुपर्छ । जीवन र समाजका सन्दर्भमा कविताको भूमिकालाई युनेस्कोले दिएको महत्व प्रशंसनीय रहेको छ । विश्व कविता दिवस मनाउने घोषणाले कविताको विकास र प्रभाव विस्तारमा अनुकूल प्रभाव पारेको छ ।

कविताका निम्ति आजको समय त्यति अनुकूल मानिन्न  कतिपय चिन्तक त ‘वर्तमान समय कविताको समय होइन’ सम्म भन्छन् । कविताले आफ्नो यात्रामा अनेक प्रतिकूलताको सामना गरिरहेका बेला विश्व कविता दिवस मनाउने युनेस्कोको घोषणा महत्वपूर्ण कदम थियो । यसका केही विशिष्ट उद्देश्यले कतै कविताको व्यापक भूमिकालाई, यसको सौन्दर्यात्मक सामथ्र्य र यसका विशेषतालाई कमजोर त तुल्याउँदैनन् भन्ने प्रश्नहरू उठ्न सक्छन् ।

खासगरी कवितालाई भाषा र संस्कृतिसँग जोड्दै भाषिक विविधताको संरक्षण र संकटमा परेका भाषा र संस्कृतिको बचाउमा जोड दिने यसको दृष्टिले यस रूपमा सोच्न प्रेरित गर्न सक्छ । युनेस्कोले कवितालाई आफ्नो शैक्षिक र सांस्कृतिक भूमिकाका सन्दर्भमा लिएको छ र यसलाई त्यही रूपमा उपयोग गर्नुपर्ने कुरामा जोड दिएको छ । हामीले यससम्बन्धी युनेस्कोको धारणालाई यसैअनुरूप हेर्नुपर्छ र सकारात्मक योगदानलाई ग्रहण गर्नुपर्छ । युनेस्को कवितासँग सम्बन्धित संस्था होइन भन्ने कुरालाई पनि हामीले हेक्का राख्न जरुरी छ।

कविताको भूमिकालाई युनेस्कोले आफ्नो उद्देश्यअनुरूप प्रयोग गरेको छ र यो स्वाभाविक पनि छ । योभन्दा पर ऊ जान सक्तैन । यस्तो अपेक्षा पनि उचित हुन्न । कवितालाई माया गर्नेका निम्ति कवितालाई उसले दिएको महत्व नै पर्याप्त छ ।

विश्व कविता दिवसलाई हामीले कविताप्रति व्यापक अभिरुचि निर्माण गर्ने, यसको महत्वलाई गहिराइमा बोध गराउने र यसको भूमिकालाई अझ सार्थक बनाउने दिवसका रूपमा मनाउनुपर्छ । यो हाम्रा निम्ति एक उत्सव बन्नुपर्छ र सत्यं, शिवं र सुन्दरम्का हाम्रा आकांक्षासँग अझ बलियो गरी गाँसिनुपर्छ । कविता कुरूपविरुद्धको संघर्षको सार्थक कलात्मक हतियार बन्न जरुरी छ । यो नयाँको निर्माणसम्मै पुग्नुपर्छ।

कविताको महत्व जीवन र जगत्को रूपान्तरणका निम्ति यसले निर्वाह गर्ने भूमिकासँग सम्बन्धित छ । यससँग यसका संज्ञानात्मक, विचारधारात्मक र सौन्दर्यात्मक प्रकार्यहरू जोडिएका छन् । हामीकहाँ कविता प्रशस्त लेखिँदै छ, तर कवितालाई धेरै मानिसका बीचमा अझै पुर्‍याउन सकिएको छैन।

हाम्रो प्रयत्न कवितालाई धेरै मानिसका बीचमा पुर्‍याउने हुनुपर्छ । हामीले कवितालाई अझ गहिरोगरी जीवन, समाज र यसका सरोकारसँग जोड्नुपर्छ । यसलाई कलात्मक रूपले अझ शक्तिशाली बनाउनुपर्छ । हाम्रा कविताले नेपाली समाजको परिवर्तनमा, मानवीय गरिमा र सौन्दर्यको प्राप्तिमा महत्वपूर्ण योगदान दिन सक्नुपर्छ । हाम्रा कवितामा सुन्दर आगतका निम्ति संघर्ष गर्ने आँट हुनुपर्छ।

आजको समयमा कविता मनुष्यका लागि अझ बढी आवश्यक छ । मनुष्यको अस्तित्व, उसको गरिमा र सौन्दर्यमाथि सबैभन्दा बढी प्रहार भएको समय हो यो । बजार अतिवादको विकासले मनुष्यको ‘कमेडिफिकेसन’को प्रक्रियालाई बढाएको छ । उपभोक्तावादी संस्कृति डरलाग्दो गरी मौलाएको छ ।

कलाका सबै रूप बजार अतिवादबाट प्रताडीत छन् । कविताको चिरहरण गर्ने र यसलाई बजारको इमानदार सेवकमा बदल्ने प्रयत्न भएका छन् । यो समय कविताको रक्षार्थ संघर्ष गर्नुपर्ने समय पनि हो । कलालाई उसको गरिमा र भूमिकाबाट बेदखल गर्ने प्रयासविरुद्ध संसारभरि प्रतिवाद भएका छन् र हुँदै छन् । कवितालाई जीवन, समाज र यसको अघिल्तिरको यात्रासँग गहिरो गरी जोडेर नै यसमाथिको आक्रमणबाट यसलाई जोगाउन सकिन्छ।

कलिङबुडले कलालाई चेतनाको भ्रष्टीकरण विरुद्धको औषधिका रूपमा उल्लेख गरेका छन् । कलाले यो भूमिका इतिहासदेखि निर्वाह गर्दै आएको छ । यस भूमिकालाई आज अझ बढाउन आवश्यक छ । एक कलाका रूपमा कविताले यस्तो भूमिका प्रभावकारी रूपमा सम्पादन गरेको छ।

विभेद र स्वार्थमा आधारित समाज व्यवस्थाले मनुष्यको चेतनाको भ्रष्टीकरणलाई बढाएको छ । एक काव्य चिन्तक कविताले पाठकलाई पैसाजस्तै गनेर पर्समा राख्नका निम्ति केही दिँदैन, तर यसले जे दिन्छ, धेरै मूल्यवान कुरा दिन्छ भन्छन् । उनका अनुसार यसले पाठकको संवेदनालाई विस्तार गर्छ, उसको दृष्टिलाई बदल्छ । राम्रो कविता पढेपछि पाठक उस्तै रहन्न, बदलिन्छ । ऊ अझ बढी मनुष्य बन्छ । मुक्तिबोध मनुष्यलाई जे छ, त्योभन्दा सुन्दर चाहिन्छ भन्दै एउटा सुन्दर कविताले एउटा सुन्दर विकल्प प्रस्तुत गर्छ भन्छन् । आज मनुष्यलाई एक सुन्दर विकल्प चाहिएको छ । यसका निम्ति ऊ संघर्षरत छ । कविताले आफ्नो सामथ्र्यलाई आज अझ शक्तिशाली बनाउनुपर्छ।

हामीकहाँ वर्तमान समयमा कविता धेरै लेखिँदै छ, तर राम्रो कविता कम लेखिँदै छ । कवितासम्बन्धी गम्भीर विमर्श पनि कम हुने गरेका छन् । हामीलाई चाहिएको राम्रो कविता हो । राम्रोको तात्पर्य अन्तर्वस्तु र रूप दुवै दृष्टिले राम्रो । राम्रो कविताले नै मनुष्यको संवेदनालाई विस्तार गर्न, दृष्टिलाई परिवर्तन गर्न र सुन्दरका निम्ति संघर्ष गर्न प्रेरित गर्न सक्छ । विश्व कविता दिवसका अवसरका कवितासम्बन्धी हाम्रा सरोकार अझ प्रखर बन्नुपर्छ । युनेस्कोका आफ्ना सीमा छन् । हामी त्यसभन्दा अघि जानुपर्छ।

प्रकाशित: १० चैत्र २०७४ ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App