१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

आरती आनन्द

ज्ञानेन्द्र विवश

आरती आनन्दको उत्सवमा उफ्रिँदै मस्त भक्तजनको भीड एकातिर, आराध्यदेव पशुपतिनाथ किनारमा आध्यात्मिक जवानी जीवन खरानी हुँदै गइरहेको दुःखको पाटो अर्कोतिर । हर्ष र विस्मातका दृश्य देखिन्छन्।

आध्यात्मिक आनन्दको पक्ष छ । अन्तर्मनदेखि शान्तिको अनुभूति छ । सांसारिक झै–झमेलाबाट मुक्तिको सुस्केरामा सुसेलिँदै जीवनका पाइलाहरू ।वागमती किनार र श्लेष्मान्तक वन छ । मृगस्थलीमा अहिले मृग पनि दृष्टिगोचर हुन्छन् । उफ्रिरहेका, उघ्राइरहेका सैयौँ मृग ज्यानहरू । सुखको खोजीमा भौँतारिँदै आनन्दको आसमा आएका भक्तजनहरू यहाँ भेटिन्छन् ।आरती आनन्दमा अघाउँजी अलमस्त छन् । आरती आनन्दमा मन्त्रमुग्ध बनिरहेका छन् । जिन्दगीको यो उमङ्गसँगै मृत्यु पीडाका शाश्वत सत्य पनि त्यहाँ स्वतः उदघाटित् हुन्छ।

वनकालीका रुखहरू पनि आरती तालीमा व्यस्त छन् । मृगस्थलीको वातावरण पनि निकै शान्त र सुमधुर साँझको प्रीतिकर पाटोमा सामेल भइरहेको छ । एका बिहानैदेखि भक्तजनको घुइँचो । दिन ढल्किँदै जाँदा केही कमी हुँदै गए पनि साँझ नओर्लिंदै पुनः पूजा, प्रार्थना र भजनकीर्तन तमाम आध्यात्मिक अनुरागको आगमन हुन थाल्छ ।पशुपति प्राङ्गण । प्राचीन मन्दिर, पाटी र भव्य मूर्तिका बग्रेल्ती भीड । वास्तुकलाका अद्वितीय विरासत त्यहाँ ।जय शम्भु र हर हर महादेवका अनुगुञ्जनका आह्वान । ओम नमः शिवायका सुन्दर स्वर लहरी मन्दिर परिवेश हुँदै पवित्र वागमती किनार हुँदै गुञ्जिरहन्छ । म त्यही गुञ्जनमा गम खाइरहेको छु।

कुनै विदेशी, कुनै नेपाली धर्मप्रति विश्वास गर्छ भने उसले प्रथमतः पशुपतिनाथलाई आफूमा समाहित गर्छ । पशुपतिनाथमा समर्पित हुन्छ । पशुपति परिसरमा पुग्छ । पशुपतिनाथमा नतमस्तक हुन्छ ।त्यसैले पशुपतिनाथ प्रसिद्ध तीर्थधाम हो । पशुपतिनाथ धार्मिक आस्थाको धरोहर हो । पशुपतिनाथ श्रद्धा र सृष्टिको प्रतिविम्ब हो । पशुपतिनाथ जीवन–दृश्यका साक्षात्स्वरूप हो ।घन्टी र भजन । दर्शन र पुजन । फूल र प्रसाद । चन्दन र भक्तजन।

भक्तजनले भरिभराउ पशुपतिनाथ । भजनको सांगीतिक अनुरागको तरंग । आघात मान्छेका मन छुन आउँछन् । तनावले ग्रस्त मनमा शीतलता दिन आउँछन् । दुःखले व्यथित मनादशा बोकेर छट्पटिँदै आउने भक्तजनलाई शान्तिको रक्तसञ्चार गराउँछ ।मनमा बेग्लै आनन्दको उपस्थितिमा पशुपति–दर्शन अन्ततः सार्थक देखापर्छ । चिन्ता, चिता र चिन्तनको आयाम । आगो, पानी र साधु । बाँदरको हुल हमला।

सन्ध्याकालीन आरतीको बेग्लै आस्वादन । यो क्रम रात अँध्यारिँदासम्म अविच्छिन्न रहिरहन्छ । सुनौलो रङमा रक्तिम लालिमा । संगीतमा रूपान्तरित वातावरण । संगीतको सुसाइ । संगीतको संवाद । संगीतमय सरोवर समग्र । संगीतमय अनुभूति । भक्तिगानको समर्पण । पाप र पुण्यको संगम ।धर्म र कर्मको मिलन । जीवन र मरणको अनवरत शृंखला । पाप पखाल्न, धर्म कमाउन लालायितजनका धड्कनहरू।

मृत्युको कोलाहलबीच सत्यको उद्घाटन । मन र मुटुको टुक्रालाई खरानीमा रूपान्तरित गरिँदा उत्पन्न जीवनको सत्य । परमधाम प्रस्थान गर्ने आफन्तजनको विछोडले रोइरहेको आत्मा, छटपटिएको मनलाई सान्त्वना र सहानुभूतिको अप्रत्यक्ष अनुभूति।

आँसुको भेल, भक्कानो फुटाउनेहरू । मृत्यु चिन्तनका घटनाहरू । शोक र सुर्ताका पीडादायी पक्षहरू । दुःख र पीडाका कठिन कष्टमय क्षणहरू ।शरीरलाई छाडेर आत्मा बोकेर अनन्त यात्रामा कहिल्यै नफर्किने गरी कतै कसैले नदेख्ने गरी गएका प्रिय आफन्तजनहरू । अस्तु बगाउँदै । रुवाबासी, कोलाहल, एक्लोपनका उदास क्षणहरू।

मुर्छा परिरहेका मनहरू । मन बुझाउन नसकिरहेकाहरू । दनदनी आगोमा बलिरहेको भर्भराउँदो शरीर । सानै चोटले पनि चसक्क दुख्ने शरीर आगोको ज्वालामा कसरी आरामले जल्न सकेको । कति दुखेको छैन । एड्ढया, आथ्थोको हार–गुहार छैन ।दन्केको आगोमा जिन्दगी खरानी बनाउँदै । कति मायाले सँगालेको । कैयौँ हिउँदबर्खामा जोगाएर राखेको जीवन । जीवनका सारा माया र लोभका हुँकार जलाउँदै । सबै तनावहरू बिसाउँदै । अन्ततः जीवनको अन्त्य।

वास्तवमा जिन्दगी केही होइन रहेछ । आगोमा जलेर जिन्दगी आगोसँगै आगो जस्तै भएर बल्दो रहेछ । आगोको चितामा आगै भएर सकिँदो रहेछ । धुवाँ बनेर केही अंश हावामा उड्दै वायुमण्डलमा बिलाउँदो रहेछ । बाँकी रहेका जीवांश खरानी बनेर माटोमा मिसिँदो रहेछ।

यसरी मसानघाटमा मरेका मानिसको अन्त्य हुन्छ । हाम्रा मन र मुटुका टुक्राको आगोमा ज्यान सकिन्छ । पशुपतिनाथको किनार, मृगस्थलीको काख भष्मेश्वरघाटमा हजाराँै जिन्दगीले यसरी नै विश्राम लिइरहेका छन् ।कहाँको जन्म, कहाँको मरण ? जानुपर्ने सबैले एक दिन यसरी नै यही मसानघाटमा मुर्दा भएर । आफन्तहरूलाई रुवाएर आफू अनन्तको यात्रामा।

वागमती किनार र श्लेष्मान्तक वन छ । मृगस्थलीमा अहिले मृग पनि दृष्टिगोचर हुन्छन् । उफ्रिरहेका, उघ्राइरहेका सैयौँ मृग ज्यानहरू । सुखको खोजीमा भौँतारिँदै आनन्दको आसमा आएका भक्तजनहरू यहाँ भेटिन्छन् । आरती आनन्दमा अघाउँजी अलमस्त छन् । आरती आनन्दमा मन्त्रमुग्ध बनिरहेका छन् ।

शान्ति र सुस्केरा जीवनको परिभाषा । मृत्युबोधको धक्काले धर्मर हुँदै । एक सत्य सार्वजनिक हुँदै । हजाराैँको भीडमा एक्लो, नितान्त एक्लो, अनाथ र असहाय ।मृत्यु सबैको अनिवार्य कर्म हो भन्ने आत्मज्ञान । पशुपति र वागमतीको किनार आर्यघाट । घाटमा जीवनको विसर्जनका अन्तिम पल । यहाँ रुनेछन्, रुन नसक्ने जीवन पनि छन् । भक्कानो फुटाएर आफन्त मुर्दा भएको हेर्न नसक्ने अवस्थाका ज्यान समेत उपस्थित छन्।

यी सबैको मुक्ति हेतु आरती आनन्दमा आउने आगन्तुकहरू । आरतीमा ओइरो लागेको छ । पशुपति, वागमतीदेखि मृगस्थली माथिसम्म । मौन मुद्रामा जीवनको ध्यान आरती आनन्दमा छ । जीवनलाई हारबाट जितको अवस्थातिर लैजाने एउटा प्रयत्न । दुःख बिर्सिने चेष्टाको एक माध्यम । अनेक पारिवारिक प्रपञ्चहरूबाट उन्मुक्त क्षणको आशा।

श्रद्धा र भक्तिले भावविह्वल हुनेहरू । जीवन, प्रेम र पागलका पहेलीहरू । घात–प्रतिघातका परिघटना र तिनको मञ्चनका परिदृश्यहरू । समय क्रमका उपलब्धिहरू । आशा र निराशाका परिणामहरू ।
विश्वकै आध्यात्मिक धाम पशुपतिनाथ । शिवताण्डव स्तोत्र पाठको गुञ्जन गुञ्जिरहन्छ, अहोरात्र ।
शिव ताण्डव–नृत्यका दृश्य र डमरुको डिमिडिमीले दर्शकलाई नै जुरुक्क जुरुक्क उठाउँछ ।
रुद्राक्षको माला । अनि, माला गलामा लाउने र हातमा जप्नेहरूको भी ।

तीखो त्रिशूल, मृगको छाला । जाज्वल्यमान मुहार–मुद्रा । शान्त र स्निग्ध शिवशक्तिको विम्ब । यहीँ भेटिन्छ, भजनकीर्तनका तमाम तमासाहरू । जिन्दगीलाई विरक्ति वर्तमानबाट भुल्याउने माध्यम । आफन्त गुमाउनुको पीडाबाट मुक्तिको सानो बिसाउनी । यही हो, आरती आनन्दको अपत्यारिलो सांगीतिक सौजन्य ।यही हो आराध्य पशुपतिनाथ । यहीँ हुन्छ, आरती आनन्दको आध्यात्मिक अध्यायको आरम्भ । जिन्दगी अघिका अवस्थाको मनन गर्नेहरू । जिन्दगी पछिको शून्य संसारको परिकल्पनामा भावुक बन्ने जनहरू सबै यहाँ छन्।

आस्था र आराधनाको दिव्य स्वरूप पशुपतिनाथ । नाथहरूका नाथ यी भोलेबाबा पनि आरती आनन्दमा लट्ठिन्छन् । भजनमा मस्त, पूजामा व्यस्त, आरतीमा मग्न तमाम आध्यात्मिक मनहरू जस्तै ।
यसमा भगवान्प्रतिको अन्ध भावना जागृत छैन । ईश्वरप्रतिको अनर्गल प्रहार र प्रकोप छैन । मानवीय मनहरू साझा सामाजिक कर्ममा भेला भएका छन् । अन्ध भक्ति र अन्धविश्वासभन्दा माथि उठेर जीवनको सत्य–सौन्दर्य उद्घाटन गर्ने प्रयत्नमा छन् । जातीय समानताको पक्षमा छन्।

आरती आनन्दमा अवतरित हुँदै गइरहेको मन जातीय विभेदभन्दा माथि उठ्न चाहन्छ । अनेक लाञ्छना र पीडाबाट मुक्त हुन चाहन्छ । शोषण र अन्यायको नीलडामबाट न्यायको संसारमा अवतरित हुन लालायित छ ।अतः आरती आनन्दमा अघाउँजी आत्माले जीवनमा शान्तिको सुस्केरा फेर्दै समानताको संसारमा विचरण गर्दछ । आरती आनन्दले आत्मविभोर हुँदै सबैमा मानवीय संवेदनाको अनुभूति संवरण गर्दछ।

प्रकाशित: १० चैत्र २०७४ ०२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App