१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

शब्द हराएको साँझ

अनिता न्यौपाने
साँझको समय छ र अनुभूतिका तरेलीहरू हल्लिरहेका छन्, ओहोरदोहोर गर्दै । आँखामा सपना छ, तर निन्द्रा छैन । शरीरमा उमंग छ, तर जाँगर छैन । छोएर जाने बतास छ, तर रूख छैन । बत्तीले झिलिमिली भएको मन्दिर छ । ठूलो गजुर छ । गजुरकै आकारको अर्को रूख पनि छ।

एक बथान हामीहरू बसिरहेका छौँ, त्यसैको मुनि बगिरहेको वाग्मती छ । मान्छे मरेपछि ल्याउँदै गरेको मान्छेकै भीड छ । कोही भजनमा मख्ख छन् । कोही उफ्रिउफ्री ताली बजाइरहेका छन् । कोही नाचिरहेका छन् । कोही चन्दन घसेका छन् । कोही दीप बालिरहेका छन् । कोही ध्यानमा छन् । कोही रोइरहेका छन्, कोही हाँसिरहेका छन् । कोही प्रेममा लीन छन्, कोही अभावमा छन् । जो जो छन्, मान्छे छन्, मन्दिरमा छन्।

धेरै मान्छेहरूको आँखामा आँसु छ । धेरैको ओठमा हाँसो छ । केही पर छ, फूलको सजावट, अनि छेउमै छ पानीको जार । आकाश छ, जुनतारा छन् । लोकदोहोरी घन्किरहेछ । सुन्नका लागि दुई कान पनि छन् । अर्धबैंसे युवक नाचिरहेको यादहरू पनि छन् मनमा । पशुपतिलाई एक फन्को लगाएर घुमिरहेको धुवाँले आकाशलाई अझै कालो बनाइरहेको छ । लाग्दै छ, कालो दिनमध्येको सबैभन्दा कालो दिन हो यो । उडिरहेका छन्, परेवाहरू । चिया बेच्ने दिदी छन् । उनको ओठमा मुस्कान छ, तर मनमा खुसी छैन, उनले बोलेका शब्दले त्यही बुझाउँछ।

‘खाने चिया ?’ साथीहरू सोध्छन् । नखाने– मेरो उत्तर यति रहन्छ । जीवन बुझिन केटीले, पटक्कै बुझिन । आँखाबाट आँसुका थोपाहरू तप्प–तप्प खस्छन्, आँखालाई लगेर अडाउँछु, कसैको कुममा । अनि लाग्छ, पखालिन्छ मनको पीडा । आँसु नै निस्क्यो, जिस्काउँछन् साथीहरू । ध्यानमा एउटा साथी बोल्छ । हैन हैन, आँसु आँसु अर्को सम्झाउँछ । तर बुझ्दैन कोही मनको पीडा पखालिएको कुरा ।चिसो सिरेटोमा पनि आरती गर्न उभिएका तीन पुजारी छन्।

उनीहरूको हातमा भएको फूल, धुप र बत्ती देख्दा लाग्छ, जीवन एक उत्सव हो । उनीहरूको मनमा के छ ? म बुझदिनँ, तर मेरो मनमा उनीहरू छन् ।जाडो लागेको छैन होला, चिया खान मन छैन होला, कसैसँग मस्तसँग गफ मारेर बस्नुको रहर छैन होला, कुनै प्रेमिकामा लीन हुन मन छैन होला– यस्तै कुरा खेलिरहेछ मनमा ।  बिहान भर्खर एक टोली ओशो तपोवन पुगेर जीवनलाई सरल रूपमा बुझेर फर्केको भनेको साँझमा आइपुग्दा जीवन निकै जटिल लाग्दै छ । दोधारमा छ मन, कसको कुरा सुन्ने, कसको कुरा पत्याउने, कसले भनेको सही, कसले भनेको गलत।

एउटा मान्छे पूर्ण रूपमा जलेको हेरेको साँझ हो त्यो । उसलाई वाग्मतीको पानीमा खुट्टा डुबाएर राखेका बेलादेखि ऊ खरानी भएर पानीले पखालेपछि हिँडेको साँझ हो त्यो । केही न्यास्रो लाग्ने अनुहारहरू आएर घुम्छन् आँखाको अगाडि, सम्हालिन्छु।

उकाली–ओराली पार गरेर निधारका पसिनालाई आफैँले ओढेको स्कार्फले पुछेर केही मनका कुरा केही जीवनका कुरा गरेर फर्केका साथीहरूलाई फेरि एकपटक सोध्न मन छ– कुन जीवन सरल, कुन जीवन जटिल ?साथीहरू उसरी नै जवाफ दिन्छन्, ‘आमालाई छोरा जन्माए पनि छोरी जन्माए पनि पीडा उत्ति नै त हुने हो ।’ कुरा कसको सुन्ने, मनको या दिमागको द्वन्द्व चल्छ।

मैले कहिले देखिन मान्छेलाई चितामाथि राखेर जलाएको । धेरै मरे आफन्तहरू, तर हेर्न सकिएन ।
एउटा मान्छे पूर्ण रूपमा जलेको हेरेको साँझ हो त्यो । उसलाई वाग्मतीको पानीमा खुट्टा डुबाएर राखेका बेलादेखि ऊ खरानी भएर पानीले पखालेपछि हिँडेको साँझ हो त्यो । केही न्यास्रो लाग्ने अनुहारहरू आएर घुम्छन् आँखाको अगाडि, सम्हालिन्छु।

आकाशको एउटा चम्किलो तारामा गएर अडिन्छ मन । आकाशका स्वच्छन्दमा मनका दुःख कहिले आउँछन्, कहिले जान्छन् अनि निक्लिन्छ एक शब्द । बर्सौं भएछ बासँग कुरा नगरेको ।बा कहाँ हुनुहुन्छ ?साथीहरू केही आत्तिएर बोल्छन्– ऊ त्यहाँ के, आकाशमा । फेरि जिस्काउँछन्– कवि के कवि, कविताका कुरा।

हो त नि केही भयो भने पो जीवन, केही नभएर के जीवन । हाम्रा पनि छन् नि । व्यापार, व्यवसाय, पैसा परिवार अलिकति रहर अलिकति खुसी ।अनुभूति त ? मेरो प्रश्न ।कस्तो अनुभूति ?जीवनको ।बाँचुन्जेल त जीवन नै हो नि ।मेरो प्रश्न त्यो हैन ।के त ?कसैलाई पाउनु र कसैलाई गुमाउनुको अनुभूति । साथीहरू बोल्नुअगावै कोही पैसा माग्दै आउँछ । पछाडि केही थुप्रो लुगा बोकेर खरानी घसेको एक मान्छे । ‘जाऊ, अलि पर जाऊ । जाऊ भनेको सुनेनौ ?’ बेस्मरी रन्कन्छ । अघि नै देखि बत्तीमा तेल हालिरहेको मान्छे।

शब्दहरू केही केहीबेर हराउँछ । सब शान्त । सब कुरा मिलेको । तर नमिलेको मात्रै जिन्दगी हो । एक मनले सोच्छ । अर्को मनले मान्दैन । केही नहुनु झन् ठूलो जीवन हो । मनमा फेरि उठ्छन्, उही ज्वाराभाट । उही आकाशको चम्किलो तारा, उही बलिरहेको मान्छे, उही पुजारी, उही दियो।

करोडौँ किमिको यात्रा १० इन्च छोटो पैतालाबाट सुरु गर्नु छ । यही पैतालाबाट पनि एक–एक कदम नापेर जिन्दगीको गन्तव्यमा पुग्छु । गन्तव्यमा पुग्नका लागि हिँड्नु छ । केही अप्ठेरा परिस्थितिहरू, केही काला राताहरू, केही सुन्दर सपनाहरू, अनि केही धुमिल लाग्ने जिन्दगीको लयहरूलाई केही क्षण सम्हालेर राखेर टेक्नुपर्ने छ, उचाइको त्यो शिखरलाई, जसलाई धेरैले टेकेर अगाडि बढे । गन्तव्य जहाँ पनि हुन्छ, पहाडको फेदीमा र चुचुरोमा । फेदीमा पुगेकाहरू चुचुरोतिर लम्कन्छन्, अनि चुचुरोमा पुगेपछि फेदीतिर झर्छन्।

फेदी र चुचुरोको अनौठो तर सत्य मिलन छ । कोही पनि फेदीमा नपुगी चुचुरो चढ्न सक्दैन, अनि कोही पनि चुचुरोमा नपुगी फेदीमा आइपुग्दैन । चुचुरोबाट देखिन्छन्– ठूला घरहरू सानासाना, ठूला मान्छेहरू पनि साना, ठूला रूखहरू साना, ठूला गाडीहरू साना । जिन्दगीको यात्रामा कठिन छ, शिखर चढ्ने कला सिक्न, त्योभन्दा पनि कठिन छ झर्न ।झरेपछि ऊ त्यही खरानी बन्ने त हो– साथीले भनिन्।

त्यसैले त मलाई चुचुरो छुने रहर छैन त– अर्को साथीले भन्यो ।आज मात्रै हो कि भोलिका दिनमा पनि यही रहन्छ, जीवनको परिभाषा । परिभाषा त फरक–फरक समयमा फरक–फरक बन्छ होइन र भन्या ? जीवन भनेको त जे अभाव त्यही न हो । जाऊ बरु घर । छोराछोरीले होकवर्क गर्न सकेका छैनन्।

‘आज त नजाने, यो आरती नहेरीकन । तिमीहरू जाने भए जाऊ क्या म त जान्न,’ अर्कोको अडान ।
‘बसौँ–बसौँ, यहाँ जति जीवन बुझिन ठाउँ कहाँ होला र ? घरमा गएपछि उही कचकच त हो । केहीबेर आफ्ना लागि पनि बाँच्नुपर्छ मान्छे... ।’ तर्क अनेक छन्, साथीहरूका।कहिलेकाहीँ कवि भूपिनका शब्दहरूसँग साटिन चाहन्छु । उहाँ आफ्नो नदी र जीवनको एउटा अनुच्छेदमा लेख्नुहुन्छ– आँखाबाट उदाउने सपनाको घाम जीवनसँग छ ।

मनको अनाम गहिराइबाट हरदम निस्किरहन खोज्ने रहरहरूको ज्वालामुखी यससँग छ । नदीजस्तै स्वच्छन्दताको गन्न नसकिने तरंगहरू जीवनसँग छन् । नदीसँग जस्तै अभेद्य रहस्यको भूगोल छ, नदीले जस्तै प्रेम गरिरहेको अनन्त सम्भावनाको आकाश छ ‘नारायणगोपालका गीतहरू सुनेर रुने मान्छे मै हुँ,’ अनायासै म बोलेँ ।साथीहरू जिस्काउँछन्, ‘गीत सुनेर ?’‘सलमान खानको फिल्म हेरेर रुने पनि मै हुँ ।’‘सलमान रोमान्टिक हिरो कसरी रोइस् ओई !’आँसु आयो, रोइदिएँ । बुझ्दैनन् बुझदैनन्, मेरा मनका कुरा।

कति कुराहरू मेरा लागि नबुझिने हुन सक्छ, कति कुराहरू मैले नबुझ्ने । बुझ्ने कुराहरू कति छन्, नबुझ्ने कुराहरू पनि कति छन् । उसले मलाई बेहद प्रेम गर्छ अरे, तर म बुझ्दिनँ, कति रमाइलो कुरा नबुझ्नु । बुझेको भए कति टेन्सन हुन्थ्यो होला । को हो कहाँको हो ? कहिलेदेखि हो ? किन हो ? कारण के हो ? केही बुझिएन, सकियो । मैले यति भनेपछि साथीहरू खित्का छाडेर हाँसे । प्रेम पनि बुझ्ने कुरा हो त, फिलिंग्स हो फिलिंग्स।

बिस्तारै चिता सल्किएको एक फाको खरानीलाई पनि पानीले पखालियो, त्यो साँझ डुबे धेरैका जिन्दगी । सबैले फुकालेको जुत्ता लगायौँ, घाटबाट निस्कन एकले अर्कालाई आँखाले भन्यौ । बोल्नका लागि धेरै कुरा थिए, शब्दहरू थिएनन् । सबै शब्द हृदयमा बोकेर चुपचाप चुपचाप आफ्नो बाटो लागिरह्यौँ ।
 

प्रकाशित: १० चैत्र २०७४ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App