२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

मुक्त लेखन

कृष्ण धरावासी

साहित्य किन, केका लागि र यो कस्तो हुनुपर्छ? यी र यस्ता अनेक प्रश्न, चिन्तन, सोच र तर्कहरू सदा उब्जिरहन्छन्। प्रत्येक पुस्ताका लेखनमा यस्ता विषयले बहसको माध्यम खोजिरहेका हुन्छन्। बहस, तर्क, छलफल र चिन्तनले साहित्यलाई झन्झन् अघि बढ्न प्रेरित गरिरहेको हुन्छ। प्रेरणबाट जन्मिएका कृतिहरूको स्तर र प्रस्तुतिको विषय बोधगम्य हुन्छ।

 दृष्टिकोणहरू जन्मिरहन्छन्, तिनै दृष्टिकोणका आधारमै चिन्तनको प्रारम्भ हुन्छ। कहीँ न कहीँ कुनै आधारलाई नटेकी वस्तुले कसरी उभिनु? टेकिने आधारहरू अनेक हुन्छन्। आआफ्ना विश्वासका आधारहरू टेकेर, समातेर लेखकहरूले आफूलाई उभ्याउने प्रयत्न गर्छन्। व्यक्ति विश्वास, समाज विश्वास र राष्ट्रिय विश्वासभन्दा ठूलो हुन्छ लेखकको आफ्नो विश्वास। उसलाई बालककालदेखि परेका छाप र प्रभावहरूले उसभित्र खडा गरेको विश्वासका अघि अरू सबै विश्वास पछि सर्दै जान्छन्। आफैले, आफैभित्र उत्पादित विचारले नसमातेको लेखक स्तरीय रचनाकार हुन पनि सक्दैन।

 लेखक आफै पनि एक अत्यन्त संवेदनशील र गहिरो मनोवैज्ञानिक प्रभावले ग्रस्त व्यक्ति हो। अरू तमामभन्दा भिन्नैजस्तो लेखक बन्न उसलाई प्रेरित गर्ने अनेकौँ अभिलेखमा नआएका तत्व बढी सक्रिय रहेका हुन्छन्। उसले परिवार र समाजमा बनाएको स्थिति, उसको हेर्ने दृष्टिकोण, ऊ हुर्किएको परिवेश, उसको सोच्ने शैलीमा प्रभाव पार्ने सामाजिक, धार्मिक, राजनीतिक, आर्थिक, पारम्परिक परिवेश सबै नै ऊ हो। उसको जातीय संस्कार, पारम्परिक मान्यता, चाडपर्व आदि सबै कुरा अरू सबैभित्र जस्तै ऊभित्र पनि हुँदाहँुदँ ऊभित्र भएका ती तत्वहरू बढी जागृत, बढी गतिशील र अभिव्यक्तीय बन्छन्। लेखक त्यसैले देख्दा एउटा देखिए पनि ऊभित्रै ठूलो संसार हुन्छ। न्याय–अन्याय, उचित–अनुचित, असल–कमसल, लोभ–मोह, पाप–धर्म, दया–घृणा सबै एकै ठाउँ पत्रपत्र बनेर सचेततापूर्वक गतिशील रहेका हुन्छन्। तिनैले उसलाई चलाउँछन्, लेखाउँछन्, बकाउँछन्, प्रयोग गर्छन्। लेखक व्यक्ति स्वयंले आफ्नो निर्णयले केही लेख्दैन, उसले लेख्नुपर्ने कुराहरूको छनोट समाजले गर्छ, समाजले उसलाई लेख्न प्रेरित गरेको विषय उसलाई लेख्नुपर्ने बाध्यता हुन्छ।

 उसको अगाडि कस्तो समाज सक्रिय छ, कस्तो वातावरण गतिशील छ, ऊ बाँचिरहेको परिवेशमा भइरहने घटनाक्रमहरू कस्ता छन्, तिनै कुराको प्रतिबिम्ब लेखकको कृतिमा देखिन्छन्। लेखकमा हुने विशिष्टता भन्नु उसको भाषा र कलात्मक अभिव्यक्ति शिल्पमात्र हो, विषयवस्तुको खोज र सन्देश उसको आफ्नो हुँदैन।

 समाजमा एउटाले अर्काेलाई दबाब नदिए, दुर्घटनाहरू नभए, असल कार्यहरू नभए, दानी, त्यागी, विद्वान्, विश्वास, अन्धविश्वास केही पनि नभए लेखकले के लेख्छ? एउटाले अर्कालाई शोषण गर्छ, ऊ शोषणका विरोधमा लेख्छ, एउटाले अर्काको हत्या गर्छ, ऊ हत्याका विरोधमा लेख्छ। एउटाले गाउँमा मन्दिर बनाउँछ, ऊ धर्म र दानका विषयमा लेख्छ। एउटा छोराले आमा–बाबुलाई परित्याग गर्छ, ऊ सन्तानको कर्तव्यका बारेमा लेख्छ। लेखकले हुँदै नभएको कल्पिएर त के लेख्छ र? समाजमा भइरहेका राम्रा–नराम्रा विषयलाई प्रतिकृत गर्छ।

 तर, लेखनलाई पनि सीमाबद्ध गर्ने, बाँध्ने, एउटा बाटोमा हिँडाउने, कुनै खास विषय र विचारमा केन्द्रित गराउने केही प्रविधि तयार भएका छन्। यस्ता प्रविधिले लेखकलाई जब पैनीको पानीलाई डोहोर्‍याएर खेतमा पुर्‍याएजस्तो गरिन्छ– लेखक एउटा यन्त्र बन्छ। लेखक स्वतन्त्र दृष्टिकोण राखेर समाजमा देखिएका जस्ता पनि कुरालाई नदेख्ने र एउटा कुनोबाट मात्र समाज पढ्ने यन्त्रमानव बन्छ। मान्छेलाई मेसिन बनाउने यो प्रविधि लेखकहरूमा लागु भयो भने समाजलाई त्यसले बन्दी बनाउँछ। मानवसभ्यता अघोषितरूपमा कुनै खास प्रविधिको बन्दी भइसकेको हुन्छ।

 हरेक बन्धनबाट मुक्ति मानव सभ्यताको परम्परा र प्रवृत्ति हो। बन्धन चाहे घरभित्रबाट होस्, चाहे समाजबाट, चाहे राज्यबाट हरेक बन्धनविरूद्धको आन्दोलन नै आजसम्म सभ्यताले बोकेर आएको र हामीलाई प्राप्त भएको उज्यालो हो। जब धर्मले धेरै हुँदैनहरूद्वारा हामीलाई थिच्यो, हामीले धर्मलाई च्यातेर ती थिच्नेहरू फाल्यौँ, जब कानुनले हामीलाई धेरै दण्डनीय बाध्यता थोपर्‍यो, त्यसलाई उखेलेर फ्याँकियो, संस्कृति र परम्पराले बोकेर आएका हरेक अप्ठयारा भारी प्रत्येक बिसौनीमा अलिकति–अलिकति गर्दै छोड्दै नजानिँदो पाराले त्याग्दै यहाँसम्म आयौँ।

 आज आधुनिकता भनिएको यस युगले पनि त्याग्नुपर्ने, छोड्नुपर्ने र फ्याँक्नुपर्ने कत्ति कुरा अझै छँदैछन्। परम्परावादका विरूद्ध बोलिरहने हामीहरू निरन्तर आफ्ना विश्वासलाई परम्परा बनाउन संघर्षशील छौँ! पुर्खाले बनाएका परम्पराहरू राम्रै भए पनि भत्काएर तिनमाथि हाम्रा विश्वासलाई नभत्किने गरी विचार र तर्कका लिउनले जोडेर आउने युगलाई भारी कसिरहन्छौँ, तर हामीले दह्रो र आधुनिक चेत र सोच मानी उभ्याइएको परम्परा र विश्वास परालको पुतला जस्तै जल्छ–ढल्छ आगतको रापले। केही कुरा पनि अपरिवर्तनशील छैन, केही कुरा पनि निर्विकल्प छैन, कुनै कुरा पनि अजर–अमर छैन, तर हाम्रो विश्वासले हामीलाई भन्छ– हाम्र्रो विश्वासचाहिँ निर्विकल्प छ, हाम्रो आस्था अपरिवर्तनीय छ, हामी उभिएको धर्ती अभूकम्पीय छ, हामीमाथिको आकाशमा बादल आउनु असम्भव छ! तर, आफ्नै जीवनकालमा, आफैले देख्दादेख्दै, आफैलाई विश्वास नहुने गरी सबै भत्किँदै गएको हुन्छ।

 भत्किएका विश्वास, भत्किएका आस्था, घाइतेे इतिहास र कमजोर वर्तमानमा उभिएर भविष्यलाई फेरि पनि मुठठ्ी कस्न खोज्छौँ हामी। तर, लेखकले बु‰छ समयको गति, समयको चाल, विगत र आगतको समीकरण गर्न सक्छ ऊ। इतिहास पढ्ने प्रत्येक मस्तिष्कले भविष्यको रेखाचित्र खिच्न सक्छ। सदा एउटै विषय र सोचमा अडिन नसक्ने यस गतिशील संरचनामा मानवजीवन पनि एक आवधिक उपस्थितिमात्र हो। यस कुनै खास समयको क्षणिकतालाई समातेर उभिएको जीवनले, तत्वबोध गर्न सक्यो भने युगान्तकारी अभिव्यक्ति र अनुभूति दिन सक्छ। चिन्तनका अनेकौँ शैली र प्रविधिमध्ये कुनै एउटाको घेराभित्र बाँधिएर, थुनिएर, त्यहीँ एकातिर फर्किएको प्वालबाट मात्र सदा हेरेर सारा संसार देखिँदैन। संसार देखिन अनेकौँ कोण, आँखा, विश्वास, मान्यता र प्रविधि छन्, तिनलाई अध्ययन गरेर, तिनको सम्मान गरेर, उपयोग गरेर, जीवन र संसारलाई हेर्न सकिन्छ। एउटा अग्राखजस्तो अविचल, स्थिर र गतिहीन विश्वास धारण गरेर अघि बढ्छु भन्दा कहाँ पुगिएला? मर्दै जाने विश्वासहरू, सँगै मर्दै जाने हाम्रा सोचहरू हाम्रै निम्ति शोकपूर्ण छन्।

 झलक्क हेर्दा देश र समाजलाई व्यवस्थित गरेको हुन्छ राजनीतिक पद्धति र कानुनले। बाह्यरूपमा प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ राजनीतिको। त्यसैले मात्र हाँकेको जस्तो लाग्छ जीवनलाई। तर गमेर, ध्यान दिएर विचार गरियो भने राजनीतिले त पोशाकको जस्तो काममात्र गरेको हुँदोरहेछ। त्यसले त पोशाकले शरीरको नग्नता ढाकेजस्तो मात्र गरेको हुँदोरहेछ। समाजभित्र दबेर रहेका विकृति अथवा राम्रा कुरा सबैलाई एकैसाथ गम्लङ्ङ छोपेर सुरक्षा दिइरहेको हुँदोरहेछ। शरीरको कुरूपतालाई लुगाले छोप्नुबाहेक विशेष सुधार के नै गरेको हुन्छ र?

 समाज त राजनीतिक पद्धति र कानुनभन्दा आफैभित्रका पुराना विश्वास र मान्यताको परिधिमा रहेको हुन्छ। त्यसलाई देख्छ लेखकले र लेख्छ। लेखकले लेख्ने भनेको समाजमा उसले देख्ने दृश्य हो जसलाई राजनीतिले देख्न सकेको हुँदैन। राजनीतिले समाजलाई सत्ताप्राप्तिको खुड्किलो बनाएको हुन्छ। दर्शन र चिन्तनका आकर्षक प्रस्तुतिहरूले भुल्याएर समूह र जत्था बनाइ शासनमा पुग्ने र शक्तिका बलले जबरजस्ती समाजमा बाध्यात्मक परिवर्तन ल्याउने कल्पना गर्छ। बाध्यात्मक परिवर्तन भनेको कानुनसँग डराउनेहरूको अभिव्यक्तिमात्र हुन्छ, वस्तुतः प्राकृतिक तवरले भित्रैदेखि विश्वासबाटै त्यो परिवर्तित नभएसम्म कडा एन्डिबायोटिक औषधिले दबाएको बिरामीजस्तो मात्र त्यो रहन्छ। कुनै पनि कमजोर परिस्थितिमा यस्ता सत्ताहरू परिवर्तन भइरहन्छन् राजनीतिका, तर सामाजिक जीवन र विश्वास एउटा राजनीतिक सत्ता परिवर्तनका क्षणिकतासँगसँगै परिवर्तन हुँदैनन्। युगौँयुगदेखि सर्दै आएका विश्वास र मान्यतालाई मेट्दै जान पनि समय लाग्छ। लेखकले सम्झाउँदै, फूल्याउँदै, बुझाउँदै, हँसाउँदै, रूवाउँदै, उदाहरणहरू दिँदै बिस्तारै पुराना अव्यावहारिकतालाई विस्थापित गरिरहेका हुन्छन् नयाँ, भरपर्दा र विश्वासिला चिन्तन र सोचहरूले।

 तर, योजनापूर्ण ढंगबाट लेखनमा ओर्लिएका लेखक समाजपरिवर्तनका संवाहक भएर आएका हुँदैनन्, राजनीतिक सत्ताप्राप्तिका निम्ति कलमलाई हतियार बनाइ ओर्लिएका हुन्छन्। उनीहरूले आफ्नो लेखनमा राजनीतिक पार्टीका घोषणापत्र, मान्यता, नारा र विश्वास कोर्छन्। राजनीतिक सत्ताप्राप्तिसँग जीवनको आमूल परिवर्तनको सपना देखाएका हुन्छन्। समाजमा द्वन्द्व र संघर्षको बीज रोपेर एकअर्काको रगतको प्यासी बनाएका हुन्छन्। एउटालाई छिनाउँदा पनि नदुख्ने, अर्कालाई अलिक दह्रो हावाको झोक्काले पनि पीडा भएको देख्ने हुन्छन्। भावुकता, संवेदनशीलता, कलाकारिता, कल्पनाशीलता, शाश्वतता र मानव विश्वासजस्ता लेखकीय विशेषता अनुपस्थित रहेको एउटा पार्टीको कार्यकर्ता, लाठी, झन्डा, बन्दुक बोक्नु सट्टा कलम बोकेर साधु बिरालो जस्तो समाजमा पसेको हुन्छ। त्यस्तो साहित्यले क्षणिक चमत्कार पनि देखाउँछ। सत्तापरिवर्तनमा त्यसले सफलता पाउन पनि सक्छ, तर त्यसको युगान्तकारी, चिन्तन सम्पन्नता भने रहँदैन।

 साहित्य कस्तो हुनुपर्छ वा के लेखिनुपर्छ? भनेर त्यसलाई योजनाभित्र हाल्नेहरूले लेखेका साहित्य एक खास अवधिपछि निष्त्रि्कय भएका छन्। जीवनलाई जीवनजस्तै सरल र सहज ढंगले हेर्दै लेखिएका कृतिका कालजयिता आज पनि हाम्रा अघि प्रमाण छन्।

 जीवन गणित होइन, जसलाई कुनै सूत्रबाट प्रमाणित गर्न सकियोस! जीवन कुनै एउटा खास बिन्दु होइन, जसलाई तारो हानेर छेड्न सकियोस्। जीवन त प्रकृति हो। जीवनमा प्रकृतिका सबै तत्व समाहित छन्। भोक, तिर्खा, सुख, दुःख, रिस, आवेग, यौन, व्यभिचार, क्रोध, विद्रोह, क्रान्ति, हीनता, सहादत वा आत्महत्या सब तत्व जीवनसँग छ। कसैभित्र कुन तत्व जागृत हुन्छ, कसैभित्र कुन। हामीले सबैभित्र एउटै तत्व जागृत होस् भन्ने कामना गरेर वा जागृत गराउन खोजेर त्यो हुने होइन। सबैलाई एउटा कारखानाबाट उत्पादित एउटै फर्माका इँटा बनाउन चाहने कैयौँ तानाशाह इतिहासभरि डुङ्डुङ्ती गनाइरहेका छन्। मेरै विश्वासमात्र महाविश्वास हो, तेरो विश्वास विश्वासै होइन भन्नेहरू तानाशाही चिन्तनका बीजबिन्दुबाट उठेका हुन्। यत्रो ठूलो संसारमा, यत्रो अज्ञात विगत र अविदित भविष्यमा आज हामी भइरहेको दिन र समयमात्र सत्य हो र? आज हामीले देखेको, भोगेको, सोचेको नै अन्तिम आधुनिकता हो र?

 भविष्यमा आउने अगणित युगलाई अब सोच्नैनपर्ने पूर्णताको संसार के हामीले दिइसकेका छौँ? हाम्रा राजनीतिक पार्टीहरूले वा चिन्तनहरूले सदासदाका लागि जीवनका कल्पनाशीलतालाई प्राप्त गरिसके? हामीले मुक्तताको बाटोलाई खुल्ला छोडिदिनुपर्छ। जान चाहने प्रत्येक सम्भावनाका लागि हाम्रा विचार, चिन्तन र सोचहरू अवरोध बन्नु हुँदैन। कुनै महात्माले कुनै दिन भनेको एउटा सूक्ति नै सदाकाल सबैका लागि अन्तिम सत्य हुन सक्दैन। प्रकृतिमा असम्भव भन्ने नभएपछि सम्भवमात्र अन्तिम हो र?

 हामी त लेखकहरू। हामीले जीवनलाई सबै कोणबाट, सबै दृष्टिकोणबाट, सब आँखाहरूबाट घुमीघुमी हेर्नुपर्छ। यसरी हेर्दा देखिन्छ यसलाई ‰यालहरूबाट, ढोकाहरूबाट, कुनातिरबाट। एउटा बिन्दुलाई विभिन्न दिशाबाट हेर्दा विभिन्न अवस्थितिमा देखिँदैन र? त्यो विज्ञान होइन? वाद, धर्म, जाति, लिंग सबै दृष्टिबाट वस्तुको मूल्यांकन गर्नुपर्छ, सबै दृष्टिकोणबाट त्यसको सम्मान गर्नुपर्छ। सबै दृष्टिबाट त्यसलाई ज्यामितीय प्रमाण भेट्नुपर्छ। यसो गर्न कुनै एउटा जडसूत्रवादी आँखा सक्षम हुँदैन। आफ्नो विश्वास नै सबैको विश्वास नभएपछि अरूको विश्वासपट्टिबाट पनि त आफ्नो विश्वासलाई जाँची हेर्नुपर्छ। स्त्रीले स्त्री विश्वास मात्र र पुरूषले पुरूष विश्वासमात्र बोक्ने भए घर, परिवार र समाज चल्छ? नितान्त जन्मैले विपरीत लिंग भएका नारी र पुरूषको सम्झौताले सृष्टि चलेको छ, त्यहाँ कहिल्यै अवरोध छैन।

 मुक्त लेखकले देखेको सत्य लेख्छ। देख्दा राम्रो–नराम्रो, पाप–धर्म जे छ त्यही लेख्छ। देखेको एउटालाई धारण गरिएको विश्वासमा ढालेर लेख्नु सूत्रबद्ध लेखन हुन्छ। सूत्रबद्ध लेखन पाठकले एक पृष्ठ पढ्दै बुझिसक्छ। कुनै फिल्मको कथानक बुझिएझैँ कृितको सूत्रबद्धता थाहा भएपछि त्यस्तो साहित्यले समाजमा निष्पक्षता दिन सक्दैन। एउटा सम्पन्न घरमा उपचार गर्दागर्दै छोरो मर्छ, एउटा झुपडीमा उपचार गर्न नपाएर छोरो मर्छ। सूत्रबद्ध लेखनले ठूलो घरमा पुँजीपतिको छोरो मरेकाले त्यति पीर गर्दैन, तर झुप्रोको छोरो गरिबीको कारण मरेकोमा साह्रै छट्पटाउँछ।

 यथार्थमा त्यहाँ दुइटा घरमा एउटै पीडा रोएको छ। आमाको मन पुँजीपति र सर्वहारा हुँदैन। माया, प्रेम, वात्सल्य पार्टीको नाराभन्दा कताकता महान् र उँचो हुन्छ। मुक्त लेखनले सबै पीडा र संवेदनालाई समातौँ भन्छ, सबै वर्ग, तह र तप्काका मानवीय पीडाका कुरा देखौँ भन्छ। दुःख र सुखका प्रस्तुतिहरू भिन्नाभिन्नै भएपछि त्यसलाई हेर्ने नजरलाई व्यापकता दिऊँ भन्छ।

 विश्वासका आधारहरू, आस्थाका धरतीहरू, अडेसिने भित्तोहरू जसका पनि हुन्छत्, तर देख्ने नजर र दृष्टि त फैलिन सक्छ नि! जीवन त भित्तोजस्तो अविचल छैन नि! नित्य अघि बढ्दै जान, प्रगतिशील हुँदै जान, सभ्य र सुसंस्कृत हुँदै जान के लेखकहरूले कर्मकाण्डीय पण्डितहरूको जस्तो बिरालो बाँध्ने विश्वासबाट मुक्ति नलिने? पट्टी बाँधिएका एक्काका घोडाहरूजस्तो जड दृष्टिबाट मुक्त नहुने?

 सिद्धान्तमा उभिएर जति नै राम्रो लेखेँ भने पनि त्यसका पाठक कति हुन्छन्? त्यसले मान्यता कतिबाट पाउँछ? त्यो कति निर्विवाद हुन्छ र? पानीलाई जसले खाए पनि तिर्खा मर्ने हो। साहित्य हामीले निर्मल पानीजस्तो किन नबनाउने? जसले पढे पनि उसकै जीवन बोल्ने। गाली, नारा, झन्डा र पार्टी लेख्यौँ भने पो त्यो पूर्वाग्रही हुन्छ त! जीवनका दुःख–सुख त सबैका उस्तै होइनन् र!

 प्रकृतिको द्वन्द्वलाई परिभाषित गर्ने विद्वान्हरूका आआफ्ना शैली छन्, तर त्यसलाई परिभाषित गर्नेहरू नआएका बेला पनि द्वन्द्व त थियो नि! उज्यालोलाई यो उज्यालो हो भनेर नाम दिन नसकेको बेला पनि संसार उज्यालिएकै थियो! नाम नदिइएका कति वस्तु, कति भाव, कति दृश्य आज पनि हाम्रा वरिपरि छन्। तिनले भोलि नाम पाउलान्, अर्थ पाउलान्, परिभाषा पाउलान्, एउटा विशेष अवस्थामा पुग्लान्। हामीले वस्तुताकै अवस्थाबाट लेखन प्रारम्भ गर्‍यौँ भने मुक्तताको निकै नजिक पुगिन्थ्यो कि!

प्रकाशित: ११ भाद्र २०७३ ०३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App