१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फेरि अर्जेन्टिनाविरूद्ध चिली

सिकागो– खराब मौसमले बारम्बार बिथोल्दा ४ घन्टा लगाएर सम्पन्न भएको सेमिफाइनलमा बुधबार राति (नेपाली समयअनुसार बिहीबार बिहान) कोलम्बियामाथि २–० को विजय पाउँदै चिलीले कोपा अमेरिकाको फाइनल सुरक्षित गरेको छ।

ठूलो आँधीका कारण प्रभावित खेलमा विजय पाएपछि साबिक विजेता चिलीले गतवर्षकै फाइनल प्रतिद्वन्द्वी अर्जेन्टिनासँग आइतबार उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछ । जारी प्रतियोगितामै भने अर्जेन्टिना र चिलीबीच हुन लागेको यो दोस्रो खेल हो । समूह ‘डी’ अन्तर्गत प्रतियोगिताको पहिलो चरणमा दुई टोलीबीच भेट हुँदा अर्जेन्टिनाले चिलीलाई २–१ को नतिजामा निराश पारेको थियो ।

शनिबार क्वार्टरफाइनलमा मेक्सिकोमाथि ७–० को रवाफ जमाएको चिलीले बिहीबार पहिलो ११ मिनेटमै दुई गोल गरेर खेल आफ्नो पकडमा राखेको थियो । बायर लेभरकुसनका मिडफिल्डर चाल्र्स एरानग्विसले सातौं मिनेटमा गोल गर्दै दिलाएको अग्रता चार मिनेटपछि होजे पेड्रो फुइनजालिन्डाले दोब्बर पारेका थिए ।
‘कठिन प्रतिद्वन्द्वीहरूलाई पन्छाउँदै फेरि फाइनल पुग्नुको मजा बेग्लै छ । हामी अहिले फाइनल पुगेको खुसी मनाइरहेका छौं । साथमा फाइनलको तयारी पनि गरिरहेका छौं,’ चिलीका प्रशिक्षक हुँवा एन्टोनियो पिजीले भने, ‘हामीले आज खेलको सुरुआत निकै राम्रो पारामा गरेका थियौं । हामीले हरेक अवस्थाको सही आँकलन गरेका थियौं, जसले गोल गर्न सहयोग पुग्यो ।’

खराब मौसमले मैदानभित्र चिलीको दमदार सुरुआत छायाँमा पा¥यो । मध्यान्तरमा सिकागोका मुख्य सहरभर ठूल्ठुला आवाजमा बिजुली चम्किनुका साथै ठूलो आँधीहुरी चल्दा खेल धेरैबेर स्थगित गरियो । दसौं हजार दर्शकलाई रंगशालाभित्र सुरक्षित रुपमा बस्न आह्वान गर्नुप¥यो भने भारी वर्षाका कारण मैदान खाली गरियो । प्यारापिट पनि हावाहुरीसहितको वर्षाका कारण पूरै भिजेको थियो ।

अत्यन्तै खराब मौसमका कारण केहीबेर बाँकी खेल स्थगित गर्नेसम्मको विकल्पमा आयोजकहरू पुग्न लागेका थिए । खेल बिहीबारका लागि स्थगित गरिएको भए २४ घन्टापछि बाँकी ४५ मिनेटको खेलका लागि पुनः दुवै टोली मैदान धाउनुपर्ने थियो । तर, मौसममा सुधार आएपछि मैदानमा जमेको पानी सुकाउनुका साथै प्यारापिटसमेत सफा गर्न भ्याएपछि दोस्रो हाफ सुरु भयो । फुटबलको विश्वव्यापी नियमअनुसार १५ मिनेटको मध्यान्तर हुने भए पनि सिकागोमा बिहीबार बिहान खराब मौसमका कारण २ घन्टा २५ मिनेटको मध्यान्तर भयो ।

‘मौसमका कारण खेलमा केन्द्रित भइरहन केही समय निकै गाह्रो भयो,’ पिजीले भने, ‘मौसम बिग्रिएका बेला हामीले फुटबल नै बिर्सिएका थियौं । हामी ड्रेसिङ रूममा बसेर सुधारको मात्र कामना गरिरहेका थियौं ।’
लामो समयपछि खेल पुनः सुचारु हुँदा दर्शकले दोस्रो हाफमा प्रतियोतिगाकै रोचक फुटबलको मजा लिए । पुनरागमनको आशामा कोलम्बियाले लगातार आक्रमण गरिरह्यो भने चिली पनि विपक्षीको खेलमा फर्किने आशा समाप्त पार्न तेस्रो गोलको प्रयासमा निरन्तर जुटिरह्यो ।

गोन्जालो जाराको खुट्टामा अल्झिएर पेनाल्टी बक्समा ड्यानिअल टोरेज लडेपछि कोलम्बियाले दोस्रो हाफको सुरुआतमै पेनाल्टीको जोडदार अपिल गरेको थियो । जसलाई रेफ्रीले अस्वीकार गरे । रियाल मड्रिडका स्टार हामेस रोड्रिग्वेजले खेल कोलम्बियाको नियन्त्रणमा ल्याउन विपक्षी रक्षापंक्तिमा धेरै दबाब दिइरहे । उनको प्रेरणामा कोलम्बियाली फरवार्डहरू विपक्षी पोस्टमा हाबीजस्तो देखिए पनि चिलीको रक्षापंक्ति तोड्न भने सफल भएनन् । एस्टन भिल्लाका मिडफिल्डर कार्लोस सान्चेजले ५७ औं मिनेटमा दोस्रो पहेँलो कार्ड सामना गर्दै मैदान छोडेपछि कोलम्बियाको पुनरागमन प्रयास थप कठिन भयो । एरानग्विसमाथि खतरनाक फाउल गरेबापत सान्चेजले दोस्रो पहेँलो कार्ड दर्शन गर्नुपरेको थियो ।
खेलको अन्तिम समयतिर दुवै टोलीले आक्रामक रूपमा खेल्दा भएका घम्साघम्सी नियन्त्रणमा लिन एल साल्भाडोरका रेफ्री सिकास एग्विलरले आठ पहेँलो र एक रातो कार्ड देखाउनुपरेको थियो । चिलीले सुरुमै गरेको दुई गोल गरेको अवस्थामा कोलम्बियाले खेलमा पुनरागमन जनाउने जति प्रयास गरे पनि चिलीको रक्षात्मक प्रदर्शनका कारण सफल भएन ।

‘कहिलेकाँही फुटबलमा अन्यायपूर्ण नतिजा आउँछ । आज पनि मेरो विचारमा त्यस्तै भयो,’ कोलम्बियाका प्रशिक्षक होजे पेकरम्यानले भने, ‘हामीले पूरा खेल राम्रो खेलेका थियौं तर सुरुमै गरेका केही गल्तीको मूल्य निकै महँगो भयो । तथापि दोस्रो हाफमा हामीले कम्तीमा बराबरीको लक्ष्यसहित आक्रामक प्रयास गरेका थियौं । हामीले पेनाल्टी पाउनैपर्ने मुभ थियो । रेफ्रीले त्यो दिएनन् । त्यो बेला पेनाल्टी पाएको भए खेलको दृश्य फेरिथ्यो ।’

 

प्रकाशित: १० असार २०७३ ०४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App