२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बोक्सी आरोपमा महिलालार्इ दिसा खुवाउने ३ पक्राउ

बोक्सी आरोपमा दुर्व्यवहार भाेगेकी सयरा खातुन र बुहारी जुनैजा खातुन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा। तस्बिरः सन्तोष सिंह

सर्लाही– तराई मधेशमा अझै बिरामी हुँदा पहिलो उपचार धामिरझाँक्रीसँग गराउने रुढ परम्परा कायमै छ। भूतप्रेत, बोक्सी जस्ता अन्धविश्वाका कारण गरिब, दलित तथा एकल महिला मधेसी समाजमा प्रताडित हुँदै आएका छन। धामी–झाँक्रीले नाम लिएको अधारमा महिला प्रताडित हुनु परेको छ।

घरमा छोरा बिरामी भएपछि बोलाएको झाँक्रीले डाइन(बोक्सी)को कारण देखाएकै कारण सर्लाहीमा एकल महिलालाई पशुसरह व्यवहार गरी दिशा खुवाइएको छ। चौपायालाई औषधि खुवाउने सोते(काँरी)ले महिलालाई दिसा खुवाइएको हो। सर्लाहीको मधुवनीमा एकल महिलालाई बोक्सीको आरोपमा दिसा खुवाइएको हो।

मधुवनी–९ की ५५ वर्षीया सयरा खातुनलाई बुधबार राती कुटपिट गर्दै दिसा खुवाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मधुवनी–९ का सुलमान अन्सारी, आलम अन्सारी, मजिद अन्सारीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सुलमानका छोरा अलाउद्धिन अन्सारीलाई भूत लागेको आशंका परिवारले गरेपछि बोलाइएका झाँक्री बसिर अन्सारीले बोक्सीको नाम पोलेपछि तीन जना मिलेर राती ८ बजे घरबाट निकालेर सयरालाई मुक्का र थप्पड हानेर कुटपिट गर्दै सडकमा ल्याएर दिसा खुवाएको पीडितकी बुहारी जुनैजा खातुनले बताइन्।

‘श्रीमान घरमा थिएन, म र सासु घरभित्रै थियौं,’ जुनैजाले भनिन, ‘अचानक घर पसेर लछार पछार गरे। मुक्का र थप्पडले कुटपिट गरे। सडकमा ल्याएर दिसा घोलेर  खुवाए।’ घटना लगत्तै आएको प्रहरीले ३ जनालाई पक्राउ गरेको उनले बताइन्।

इलका प्रहरी कार्यालय गडहियाको टोलीले महिलामाथि अमानवीय व्यवहार गरेको आरेपमा तीनै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटना स्थलबाट महिलालाई खुवाउन प्रयोग गरीको दिसासहित अन्य प्रमाणहरुसमेत फेला परेको प्रहरीले जनाएको छ।

बोक्सी आरोपमा महिलाई अमानवीय व्यवहार गरेको आरोपमा तीनै जनामाथि अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक उतमराज सुवेदिले बताए। इलाका प्रहरी कार्यालय गडहियाले तीन जनलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएकोे उनले बताए।  

 

प्रकाशित: ६ आश्विन २०७३ १४:४० बिहीबार

बोक्सी आरोपमा महिलालार्इ दिसा खुवाउने पक्राउ