१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सप्तकाेसीमा डुबेका २९ जनालार्इ बचाउने ‘बहादुर’हरु सम्मानित

डुंगामा डुबेका २९ जना यात्रुलाई बचाउने बहादुरहरु। तस्बिरः अमर खड्का

इटहरी– सुनसरीको महेन्द्रनगर– ९ का नेपाल कविरथले सप्तकोसीमा डुंगा चलाएको १८ वर्ष पुग्यो। ३३ वर्षीय उनले १५ वर्षको उमेरदेखि नै डुंगा चलाउन थालेका हुन्। उनले डुंगा चलाएको कमाइले हरेक दिन जाँड–रक्सी खाएर साँझ–बिहान मातेको भेटिन्थे। यसले गर्दा उनलाई यात्रु चढेको डुंगा चलाउन ठेकेदारले विश्वास गर्दैनथे। उनले डुंगामार्फत सप्तकोसीले बगाएर लगाएका काठ–दाउरा संकलन गरी दैनिकी धान्थे।
उनलाई गाउँ–घरमा सबैले ‘मतुवा’ भन्थे। उनी आफै भन्छन, ‘म रक्सी खुब खान्थें।’ उनले जाँडरक्सी खाएर होहल्ला गर्ने बानी सुध्रिने छनक नदेखेपछि गाउँलेले ‘मतुवा’ भनेर घृणा गर्थे।

उनले गाउँसमाजमा आफ्नो इज्जत सबै गुमाइसकेको थिए। तर, एक सातायता उनको परिचय फेरिएको छ। उनलाई गाउँ–समाजमा बहादुर युवाको परिचयले चिन्न थालेका छन्। उनले बिहान–दिउँसो जाँड–रक्सी खान चटक्कै छाडेका छन्।

एक साताअघि सप्तकोसीको मूल भंगालोमा डुंगा दुर्घटना हुँदा २९ जना यात्रुको सकुशल उद्दार गरेपछि कविरथलाई गाउँ–समाज मात्र होइन, स्थानीय प्रशासनले समेत ‘बहादुर’ घोषणा गरेको  छ। बहादुर घोषणासँगै उनलाई नगद ३ हजारसहित सम्मान गरिएको छ।

उनको जीवनले यु टर्न लिइसकेको छ। उनी भन्छन, ‘सम्मान गर्दा मलाई गर्व लाग्यो, अब म समाजको हितमा सक्रिय भएर काम गर्नेछु।’ उनले आफूले जाँड–रक्सीसमेत पुरै ‘कन्ट्रोल’ गर्ने बताए। ‘अब मैले धेरै इज्जत कमाएको छु, जाँड–रक्सी खानै मन लाग्यो भने पुरै होसियार भएर खान्छु, भरसक त म त्यागेरै छाड्छु।’

डुंगा डुब्दा नेपाल कविरथसहित ५ जनाले यात्रुलाई उद्दार गरेका थिए। उद्दार गर्नेमध्ये महेन्द्रनगर वडा नं. ९ कै २९ वर्षीय अमृत खड्काले यात्रु उद्दार गरेर ठूलो विजय प्राप्त गरेजस्तो अनुभव भएको सुनाए। उनी विदेशबाट फर्किएर एक वर्षदेखि घरमै खेति गरेर बस्दै आएका छन्।

शुक्रबार सम्मानित भएपछि नागरिकन्युजसँग उनले भने, ‘डुंगा दुर्घटना हुँदा डुबेका यात्रुलाई उद्दार गरेर अहिलेसम्म जीवनमै ठूलो विजय हासिल गरेको ठानेको छु।’ अमृत पनि डुंगामा दाउरा संकलन गर्दै थिए। दुईवटा डुंगामार्फत दाउरा संकलन गरिहेको टोलीले दुईपटक गरेर २९ जनाको उद्दार गरेको सुनसरीका सिडिओ मोहनबहादुर चापागार्इंले बताए।

जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा नेपाल कविरथ, अमृत खड्कासहित महेन्द्रनगर– ९ कै २३ वर्षीय रोजन राई, ४४ वर्षीय रामचन्द्र मोची र प्रकाशपुर वडा नं. ३ का २१ वर्षीय बाबुराम चन्द्रवंशीलाई जनही ३ हजार नगदसहित सम्मान गरियो। सम्मानित सबै जना डुंगामा काठ र दाउरा संकलन गर्ने काम गर्दै आएका छन्। रामचन्द्र मोचीका अनुसार वर्षायाममा सप्तकोसी नदीमा बगाएर ल्याएका काठ र दाउरा संकलन गर्दा सरदर पाँच सयसम्म कमाई हुने गरेको छ।

डुबेका यात्रुलाई बहादुरीपूर्वक जिवितै उद्दार गरेर प्रशंसनीय काम गरेकाले गर्दा नगदसहित सम्मान गरेको सिडिओ चापागाईंले बताए।

सप्तकोसीको मुल भंगालोमा शनिबार डुंगा डुब्दा नौं जना बेपत्ता भएका थिए। डुंगा डुबेलगत्तै ३७ जनाको उद्दार गरिएकोमा २९ जनाको भने पाँच जनाले गरेका थिए।

डुंगा डुब्दा महेन्द्रनगर– ४ का २५ वर्षीया मीना झा र उनकी ३ बर्षीया छोरी पूजा बेपत्ता भएका छन्। यस्तै, वडा नं. ५ का ४० वर्षीया शकुन्तला चन्द्रवंशी र उनकी १२ वर्षीया छोरी अनिता बेपत्ता छन्। बेपत्ता हुने अन्यमा महेन्द्रनगर– ४ कै गोल्छा झाको ७ वर्षीया छोरी रेखा, ४५ वर्षीया पार्वती चन्द्रवंशी, प्रकाशपुर– ४ की ३० वर्षीया सीता कविरथ र ५५ वर्षीया तनमदेवी यादव बेपत्ता भएका छन्।  डुंगा डुब्दा ठेकेदार तुफानी चन्द्रवंशी पनि बेपत्ता छन्। बेपत्ता मध्ये हालसम्म कोही पनि फेला परेका छैनन्।  

यसैबीच, श्रीलंका टापु–प्रकाशपुर आउजाउ गर्ने डुंगा सञ्चालनमा रोक लगाइएको छ। पूर्ण सुरक्षित ढंगले डुंगा सञ्चालन गर्ने वातावरण नहुँदासम्म रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ।
मधेशका आदिवासी चन्दवंशीलगायत सबैखाले जातजाती पहाडका राई, लिम्बु, बाहुन क्षेत्री, मगरको बसोबास भएको १२ हजारभन्दा बढी जनसंख्या भएको वस्ती वर्षायाममा पानीले घेरिन्छ र टापुको रुप धारणा गर्दछ। सुनसरीको प्रकाशपुर र महेन्द्रनगरका तीन वडामा विभाजित टापु सप्तकोशीको पूर्वी र पश्चिमी भंगालोको बिचमा अवस्थित छ। कोशीबाट घेरिएको वस्ती सरकारभन्दा निकै टाढा छ। टापुका मतदाता चुनावका बेलामा भोट हाल्न कोशी पूर्वको प्रकाशपुर र महेन्द्रनगर आउँछन्।

 

प्रकाशित: ७ आश्विन २०७३ ११:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App