१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

मेरा मेन्टर

भीष्म उप्रेती

मञ्जुल दाइलाई भेटेपछि फेरि मलाई भोजपुर जाने रहर भएन। ट्याम्केको सौन्दर्य मैले मञ्जुल दाइमै भेटेँ।

'भाइ, तपाईं कविता लेख्नोस्, लेखिरहनोस्। तर, नाराचाहिँ कहिल्यै नखेख्नुस्।' उहाँले भनिरहनुभयो। मैले जहिल्यै उहाँको कुरालाई मानेँ। कहिल्यै कविताको नाममा नारा लेखिनँ। मैले कविताको नाममा लेखिएका नाराहरूलाई कहिल्यै स्वीकार गरिनँ र पढिनँ पनि। आज पनि म कविताका नाममा लेखिएका बेढंगका नाराहरू अस्वीकार गर्छु।

उहाँले साहित्यिक पत्रपत्रिकामा मेरा कविता छापिन थालेपछि एक दिन भन्नुभयो– 'तपाईं अब सतर्क हुन थाल्नुपर्छ। होशियार भएर मित्रता निर्वाह गर्नुपर्छ।'

मैले कुरो बुझिनँ। ट्वाल्ल परेर हेरेँ उहाँलाई।

'हिजोसम्म तपाईंलाई कसैले चिन्दैनथे। तपाईंको काम र नामसँग कसैलाई मतलब थिएन। सबै तपाईंका थिए। अब तपाईं विस्तारै उठ्न थाल्नुभयो, तपाईंलाई मान्छेले तपाईंकै नामले चिन्न थालेसँगै तपार्इंका साथी, शुभचिन्तकहरू पनि घट्न थाल्छन्। तपाईंलाई थाहै हुन्न यो कुरा। त्यसैले तपाईंले सतर्क हुन थाल्नुपर्छ अब,' उहाँले भन्नुभयो।

म यो कुरा जहिले पनि सम्झन्छु। उहाँका यी सल्लाह मलाई मन्त्रजस्तै लाग्छन्। उहाँले समयमै मलाई सचेत गराउनुभयो। नभन्दै पछि यस्तो अवस्था मैले धेरै पटक भोगेँ। मञ्जुल दाइले उहाँको अनुभवबाट सिकेको सत्य मलाई बुझाउनुभयो। नेपालमा यसरी सत्य देखाउन मानिस हिच्किचाउँछन् वा नचाहनेको संख्या ठूलो छ। त्यस्ता मानिस कालान्तरका एक्ला हुन्छन्। शत्रु वा इर्ष्यालुहरू कमाउन केही बिराउनु वा गल्ती गर्नै पर्दैन हाम्रो समाजमा। केही राम्रो काममात्र गरे पुग्छ। आजसम्मको मेरो जीवनको अनुभवले पनि यसै भन्छ।

म कविता लेखनमा सीमित थिएँ। कविताकै अभ्यास गरिरहेको थिएँ, कवितामै रमाइरहेको थिएँ। २०४६ सालको सुरुमै मञ्जुल दाइले अब तपाईं गद्य पनि लेख्नोस् भन्नुभयो।

'किन र?' मैले सोधेँ।

'गद्य र पद्य दुवै लेखन बलियो भएपछि मात्र साहित्यमा सुरक्षित बन्न सकिन्छ,' उहाँले भन्नु भयो। त्यसपछि मैले नियात्रा र निबन्ध लेख्न सुरु गरेँ। मैले त्यसैताका कथाको अभ्यास पनि गरेँ। तर पछि लाग्यो, कथा मेरो विधा होइन। मैले कथा लेखिनँ, तर नियात्रा र निबन्धमा रमाएँ, रमाइरहेको छु।

यो अञ्जान र महासागरजस्तो सहरमा म बबुरो हराउनबाट बचेँ। उहाँले नै मलाई रमेश विकलसँग चिनाउनुभयो, कृष्णचन्द्रसिंह प्रधान, मोहन कोइराला, कृष्णभक्त श्रेष्ठ, भागिरथी श्रेष्ठ, दिनेश अधिकारी, बेञ्जु शर्मा, मञ्जु काँचुली, विमल निभा, अविनाश श्रेष्ठ, गंगाप्रसाद उप्रेती, जंगब चौहान, किशोर पहाडीलगायतसँग भेट गराउनुभयो। मञ्जुल दाइले नै मलाई श्यामप्रसाद शर्मा, गोविन्द भट्ट र आनन्ददेव भट्टको नजिक पुर्‍याउनुभयो। उहाँले मलाई सुरुसुरुमा पत्रिपत्रिकाहरूमा छापिन सहयोग गर्नुभयो। मञ्चमा उभिन र निर्धक्क आफ्ना कुरा भन्न प्रेरित गर्नुभयो। मञ्जुल दाइ मेरो कविताको मात्र होइन, निबन्धकारिताको पनि 'मेन्टर' बन्नु भयो।

चालीसको दशकको उत्तरार्द्ध र पचासको दशकको सुरुमा मैले मञ्जुल दाइको अत्यधिक संगत गरेँ अवसर पाएँ। उहाँ झन्डै नशाजस्तो हुनुभयो मेरा लागि। म लगभग दैनिकजस्तो भेट्थेँ उहाँलाई। हरेक भेटमा कविताको कुरा गर्थ्यौं, कविताको शिल्प, विषय, नेपाली कविता हिँड्दै गरेको बाटोको कुरा गर्थ्यौं। नेपाली निबन्ध र यात्रा निबन्धको कुरा गर्थ्यौं। मञ्जुल दाइको 'सम्झनाका पाइला' यात्रानिबन्ध छापिएको थियो त्यही समय। अत्यधिक मन पराइएको र चर्चित त्यस किताबले उत्तमशान्ति पुरस्कार पाएको थियो। यसरी अत्यधिक संगतले उहाँको बढी प्रभावको घेरामा पनि परेँ। मेरा सुरुसुरुका कविताहरूमा त्यो अनुभव गर्न सकिन्छ भन्ने म आफैलाई लाग्छ। तर, मैले समयमै थाहा पाएँ यो कुरा। बडो मुश्किल र धेरै मेहनतले म त्यो नशाबाट मुक्त भएँ।

आज संगत र सम्बन्धको घेराबाट अलि टाढै बसेर मञ्जुल दाइलाई हेर्न मन लाग्छ। यसरी हेर्दा उहाँ मैले यसअघि कहिल्यै पनि गम्भीरतापूर्वक नसोचेको किसिमले देखिनुभयो।

चरम विद्रोह बोकेको मान्छे पल्टियो भने प्रकृतिको घना वस्तीबीच पुग्दोरहेछ। राल्फाकालमा आगो ओकल्दै, गाउँका सामन्त, ठालू र प्रतिक्रियावादीको मुटु हल्लाउँदै हिँडेका मञ्जुल दाइ 'गायक यात्री' मा खस्रा र मान्छेका जीवनका नांगा कविता लेख्नुहुन्थ्यो। तर, समयसँगै दौडँदै गर्दा जब पल्टा खानुभयो उहाँले, यसरी पल्टिनुभयो कि उहाँ मान्छेलाई चटक्क त होइन तर मान्छेका खस्रा र बुलन्द आवाज एवं अनुहारलाई छोडेर प्रकृतिका मिहिन तथा तरल भावनामा बग्नुभयो। 'मञ्जुलका नयाँ कविता', 'चोकटी कविता', पाइलाका नीबहरूले, 'गाउँका दृश्यदृश्यमा बाँधिएर' 'बाल्यकालसँग खेल्दै' र अन्य फुटकर कविता पढेर यही बुझिन्छ। उहाँले अनेकौँ अन्तर्राष्ट्रिय कविहरूलाई पढ्नुभयो। प्रशस्त विदेशी कविसँग सहकार्य र संगत गर्नुभयो। यसले उहाँलाई समकालीन कवितालेखन एवं यसमा विश्वव्यापीरूपमा आएको नयाँ चेतनाबारे जानकार बनायो। उहाँको कवितालेखनको शैली, शिल्प एवं कलात्मक चेतमा कायापलट भयो।

उहाँको यो परिवर्तनका सम्बन्धमा पहिलो अवस्था ठीक कि पछिल्लो भन्ने बहस एवं तर्कवितर्क पनि भएका छन्। यी तर्कवितर्क र बहसको सान्दर्भिकता केही छैन। कविता मान्छे र प्रकृति दुवैबाट अलग हुँदैन। मान्छे प्रकृतिबाट र प्रकृति पनि मान्छेबाट अलग हुँदैन। जुन दिन मान्छे र प्रकृति अलग वा असम्बन्धित हुन्छन् दुवैको अस्तित्व संकटमा पर्छ। यत्ति हो, कवि–लेखकहरू कोही मान्छेको अलि बढी नजिक होलान् कोही प्रकृतिको। तर, सबैले मान्छे र प्रकृति नै लेख्ने हो, मान्छे र प्रकृतिसँगको सहकार्य तथा अनुभूति नै लेख्ने हो। योबाहेक दुनियाँमा लेख्नलाई अरू केही विषय नै छैन। संसारका महान् लेखक, कविहरूले पनि यसभन्दा बाहेक केही लेखेका छैनन्। मञ्जुल दाइले पनि अघिल्लो समयमा मान्छेलाई अलि बढी प्रष्टसँग लेख्नुभयो, पछिल्लो कालमा अलि बढी कलात्मक बनाएर एवं मिहिन अनुभूति लेख्नुभयो। तर, मान्छे र प्रकृति तथा यी दुईबीचको सम्बन्धभन्दा बाहेक अरू केही लेख्नुभएन।

आज पहिचान वा अन्य जेसुकै नाममा कविता लेख्नेहरूले लेखिरहेको पनि त्यही नै हो। म स्वयंले लेखिरहेको पनि त्यही नै हो। सबैले लेख्ने आफ्नो कुरा हो, समाज र प्रकृतिबाट प्राप्त आफ्नो अनुभूति। मञ्जुल दाइले पनि जति लेख्नुभयो त्यही नै लेख्नुभयो।

गज्जबको रमाइलोचाहिँ के छ भने मञ्जुल दाइलाई नेपाली लेखकहरूको ठूलै ताँतीले मान्छेलाई चटक्कै छाडेर प्रकृतिमात्र लेख्न थाल्यो भनी निकै आलोचना गरे। यस्ता विरोध र आलोचनाकै बीचमा पनि मञ्जुल दाइ हिँडिरहनुभयो र आफ्नो बाटो आफै बनाउनुभयो। भूपि शेरचनले बनाएको बाटोमा पछिल्लो पुस्ताका अनगिन्ती कवि हिँडे जसरी वैरागी काइँलाले बनाएको बाटोमा थुप्रै पछिल्ला युवा कवि हिँडेजस्तो मञ्जुल दाइले खनेको बाटोमा हिँड्ने युवा कवि, लेखकहरूको पनि ताँती नै छ।

मञ्जुल दाइको जीवन सिनेमाजस्तो छ। आकर्षण, रोमाञ्चकता, कुतूहलता, रहस्य, शंका, आक्रोश र निराशा सबै मिश्रित। हिँड्दै गर्दा बाटामा साथीहरू छुटे, अग्घोरै माया गरेको साथ छुट्यो, सपनाहरू छुटे। मञ्जुल दाइले कहिलेकाहीँ पछिल्तिर फर्केर यी सबैलाई हेरे पनि, यी सबैसँगका सम्बन्ध एवं सहकार्यका पूर्वस्मृतिमा डुबेर बहकिए पनि, तर फेरि उहाँ हिँडिरहनुभयो। छुट्ने, भत्कने र फेरि भेटिने, बन्ने जीवनको प्रक्रिया हो। मञ्जुल दाइले यो बु‰नुभयो। उहाँ यी सबै प्रक्रियाबाटै हिँडिरहनुभयो। उहाँको निजी जीवन उहाँको आफ्नो हो, उहाँले आफ्नै कर्मले बनाएको। उहाँले कति राम्रा काम गर्नुभयो व्यक्तिगत जीवनमा वा कति कमी, कमजोरी र गल्ती गर्नुभयो– ती सबैले उहाँलाई निर्माण गर्दै गए। आजको मञ्जुल यी सबैको समष्टि रूप हो।

अहिले उहाँले कविता लेख्न सक्नुभएको छैन। तर, उहाँभित्रको कवि अहिले पनि उत्तिकै जिउँदो छ। मैले नेपालमा कवितामा मात्र होइन, सम्पूर्ण जीवनमा नै सम्पूर्ण कविको रूपमा देखेका अन्य थोरै कविमा मञ्जुल दाइ एक हो। उमेरले ७० छुन लाग्नुभएको उहाँ अचेल आराम गरिरहनुभएको छ, स्वास्थ्य लाभ गरिरहनुभएको छ। त्यसैले कहिलेकाहीँ पढ्नुहुन्छ, घरमै आएर अरू कविले वाचन गरेका कविता सुन्नु हुन्छ र रमाउनु हुन्छ। कवि जो हुनुहुन्छ कविता र गीत छोडेर कहाँ जानु हुन्छ र!

एक जनाले लेखे– 'जीवनदेखि निराश भएर आत्महत्या गर्न लागेको थिएँ, मञ्जुलको कविता पढ्न पाएँ। मलाई मञ्जुलको कविताले बचायो।' एउटा कविका रूपमा मञ्जुल दाइका लागि सबैभन्दा ठूलो सफलता र पुरस्कार यही हो। बाँकी बर्सेनि बाँडिने र हल्ला गरिने संसारभरिका कुनै पनि पुरस्कार यस सफलताका अगाडि पुड्का छन्।

नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य हुने ठूलो रहर थियो उहाँमा। एउटा सफल, सक्रिय र स्वप्नद्रष्टाका लागि त्यो उपयुक्त ठाउँ पनि हो। तर, राजनीतिको त्रू्कर खेलमा पिँधिनेमा उहाँ पनि पर्नुभयो। उहाँले हृदयको कुरा बोल्नुभयो, बोल्न हतारिएर पनि बोल्नुभयो, भावनामा बहकिएर पनि बोल्नुभयो। कहिलेकाहीँ नबोल्दा गल्ती मानिन्छ र कहिलेकाहीँ बोल्दा। उहाँले यी दुवै किसिमका गल्ती पनि गर्नुभयो। उहाँले नै कति माया गरेर, छँदाखाँदाको राम्रो जागिर छोडेर समय एवं श्रम खर्चेको, सपना खर्चेको राजनीतिले आखिर उहाँलाई नै पत्याएन! जालझेल गर्दै मूलप्रवाहमा हिँड्नेहरूले भरिएको राजनीतिको त्रू्कर अनुहार उहाँ किनारमा उभिएर हेरिरहनुभयो।

एक समय उहाँ राम्रा गायक हुनुहुन्थ्यो। त्योभन्दा पनि उहाँ राम्रो उद्घोषक हुनुहुन्थ्यो। उहाँ जुन मञ्चमा उभिनु हुन्थ्यो, त्यहाँ थामिनसक्नु मान्छेको भीड लाग्थ्यो। राल्फाकाल र त्यसपछि पनि उहाँ र उहाँका साथीहरूको कार्यक्रम नवीन प्रयोग भएका विद्रोही र कलात्मक गीत, संगीतले मात्र होइन, उहाँको प्रभावशाली उद्घोषणलाई समेत अत्यधिक मन पराइन्थ्यो। त्यसैताका उहाँले लेखेका केही गीत मलाई आज पनि अत्यन्त मन पर्छन्। तीमध्येको एउटा कोशी नदीमा डुंगा खियाउने बूढो माझीको जीवनमाथि लेखिएको छ। म जतिपल्ट झापा घर जान्छु, कोशी किनारमा पुगेपछि यही गीत सम्झन्छु।

कोशी छेउ उभेको सिमल जत्ति नि बाँच्दिनँ म

त्यही सिमल काटी बनाको डुंगा जत्ति नि बाँच्दिनँ म ......

चौबीस, पच्चीस वर्षको ठिटोमा कहाँबाट आयो होला जीवनको यति गहिरो अनुभूति! भर्खर जीवन बाँच्ने कला सिक्दै गरेको युवामा मृत्युचिन्तन यति कलात्मक भएर कसरी आयो होला! म जहिले पनि यो गीत सुन्दा अचम्ममा पर्छु।

त्यसो त भोजपुरमा जन्मेका मञ्जुल दाइले भोजपुर र ट्याम्के डाँडाको गीत पनि लेख्नुभएको छ। उहाँले भावमा पूरै डुबेर त्यो गीत गाएको पनि धेरै पटक सुनेको छु। उहाँले यो गीत गाइरहँदा हरेक पटक मैले उहाँभित्र ट्याम्केको सौन्दर्य देखेको छु। र, सोचेको छु– उहाँलाई भेटेपछि अब मैले फेरि ट्याम्केको सौन्दर्य हेर्न भोजपुर जानुपर्दैन।

प्रकाशित: ८ आश्विन २०७३ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App