काठमाडौं– गत तीजमा ‘पानी नखाई बस्नै पर्दैन’ गीत निकै चर्चित भयो। अजय अधिकारी सुशील र कमल वलीले गाएको उक्त गीतका गायक तथा रचनाकार अधिकारीले तीजको एल्बमपछि ‘दशैं तिहार’ एल्बम ल्याए। अहिले उनै अधिकारीले ‘फेरि यो कस्तो रहर’ एल्बम बजारमा ल्याएका छन्।
उनी इन्टरटेनमेन्टले बजारमा ल्याएको म्युजिक भिडियोसहितको तीनवटा गीतको एल्बम कलाकार मदनकृष्ण श्रेष्ठ, उपेन्द्र महतो, पूर्व मुख्यसचिव लिलामणि पौडेल, शिक्षासेबी उत्तम सञ्जेल र कलाकार अधिकारीले संयुक्त रुपमा विमोचन गरे। म्युजिक भिडियोमा अजय र केकी अधिकारी अभिनय रहेको छ।
अधिकारीले यसभन्दा अगाडि ‘रहर’, ‘फेरि अर्को रहर’ एल्बम पनि बजारमा ल्याइसकेका छन्। ‘फेरि यो कस्तो रहर’ अधिकारीको पाचौं एल्बम हो। उनले यसअघि ‘सोच’ सर्टफिल्म पनि बनाएका थिए भने ‘भोगेँ, देखेँ, लेखेँ’ पुस्तक समेत लेखेका छन्। त्यसैगरी अधिकारको नाटक ‘कमल फर्किएन’ केही दिनअघि मात्रै मञ्चन भएको थियो।
प्रकाशित: १० असार २०७३ ०९:२७ शुक्रबार