१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

पाटन विश्वको ३५ औँ ‘कला नगरी’ सहर

ललितपुर महानगरमा पर्ने पाटन क्षेत्र विश्वको ३५ औँ ‘कला नगरी’ सहर बनेको छ । विश्व कला परिषद्ले पाटनलाई ‘कला नगरी’ सहर घोषणा गरेको हो । परिषद्ले पाटनलाई सम्पदाले भरिपूर्ण र ऐतिहासिक बस्तीयुक्त सुन्दर सहरको रूपमा चित्रणसमेत गरेको छ।

बुधबार विश्व कला परिषद् एसिया प्रशान्त क्षेत्रका अध्यक्ष डाक्टर घादा हिज्जाबी कदामीले महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई ‘कला नगरी’को प्रमाणपत्र हस्तान्तरण गरेका थिए । यसले ललितपुरलाई कला र संस्कृति नगरीको भनेर चिनाएको मेयर महर्जनले जानकारी दिए । उनले ललितपुरको कला संस्कृति संसारले नै मूल्यांकन गरेकाले त्यसतर्फ आफूले विशेष चासो दिएर विकासका काम गरेको बताए । ‘यो नगरी हाम्रो गौरव हो, उपत्यकाका तीन दरबार क्षेत्रलाई जोगाउन सके हामीले विश्वमै परिचर्चा कमाउन सक्छौं,’ उनले भने, ‘अब झन् ललितपुरलाई व्यवस्थित र सौन्दर्य कला नगरी बनाउन हामी कस्सिन्छौँ।’

विश्व कला परिषद्ले पाटनलाई ‘कला नगरी’ सहर घोषणा गरेको हो । परिषद्ले पाटनलाई सम्पदाले भरिपूर्ण र ऐतिहासिक बस्तीयुक्त सुन्दर सहरको रूपमा चित्रणसमेत गरेको छ ।

उनका अनुसार विश्वको शक्तिशाली संस्थाले कला नगरी भनेर घोषणा गर्नु चानचुने कुरा होइन । परिषद्ले विश्वका मौलिक र परम्परागत कला भएका सहर यसरी नै कला नगरीको रूपमा घोषणा गर्दैै आएको छ । त्यसअन्र्तगत यो वर्ष नेपाल त्यसभित्र अटेको हो । त्यसलाई जोगाइराख्न अझ चुनौती हुने मेयर चिरिबावुको भनाई छ । ‘अब हामीलाई झन् चुनौती थपिएको छ, कला नगरीमा परेपछि त्यसको गरिमा पनि उच्च राख्ने गरी काम गर्नुपर्ने हुन्छ, पाटन क्षेत्रमा अझै केही सम्पदाहरू पुनर्निर्माण गर्न बाँकी छन्, त्यसलाई हामीले विषेश ध्यान दिएका काम थाल्छौं,’ उनले भने । उनले पाटन क्षेत्रमा तेस्रो शताब्दीमा बनेका सम्पदा रहेकाले त्यसले दरबार क्षेत्रको महिमा बढाएको बताए । उनको भनाइमा सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग झल्कने चार स्तूप पाटन नगरीमा छन् । ती संसारकै दुर्लभ मानिन्छन् । त्यसको संरक्षणका लागि स्थानीय र सम्बन्धित निकायले चासो दिँदै आएका छन्।

पाटन क्षेत्रमै रहेको हिरण्यवर्ण महाविहार पनि त्यस्तै उहादरण हो । यो पनि पुरातात्विक महत्वको सम्पदा हो । १२ औँ शताब्दीमा भाष्करदेवले यसलाई जीर्णोद्वार गरेको संस्कृतिविद् बताउँछन् । रातो मच्छिन्द्रनाथ, कृष्ण मन्दिर, भीमसेन मन्दिरलगायत श्रीनिवास मल्ल, सिद्धिनरसिंह मल्ल र योगनरेन्द्र मल्लमा बनेका अनेक ऐतिहासिक मूर्त र अमूर्त संस्कृति पाटन क्षेत्रमा छन्।

सो परिषद् विश्वभरमा छरिएका रहेका कला, संस्कृति र इतिहासको खोजी गरेर त्यसको मूल्यांकन गर्ने स्थापित संस्था हो । यो संसारभर परिचित छ । यसको मूल्यांकन प्रमाणित मान्ने गरिन्छ । परिषद्को केन्द्रिय कार्यालय संयुक्त अधिराज्यमा छ । कला नगरीको रूपमा घोषणा गर्नका लागि यसले विभिन्न चरणमा अध्ययन गर्दै आएको छ । सोही आधारमा सहरहरूलाई कला नगरीको रूपमा घोषणा गर्दै आएको विज्ञहरू बताउँछन्।

यसअघि विश्वका ३४ मुलुक कला नगरी घोषणा गरिएका थिए । ललितपुर पाटन त्यसभित्र अटेसँगै कला नगरीमा समावेश सहरको संख्या पनि ३५ पुगेको छ । नेपालमै पहिलोपटक पाटन कला नगरीको रूपमा घोषणा हुनु नेपालको लागि गौरवको कुरा रहेको ललितपुर महानगरकी उपमेयर गीता सत्यालले बताइन् । यसकारण पनि महानगर क्षेत्रमा अवस्थित सबै कला संस्कृतिप्रति उत्तिकै ध्यान दिएर महानगरले काम अघि बढाएको उनको भनाई छ । ‘पाँच महिनाअघि हामीले परिषद्लाई यहाँका सम्पदाबारे विस्तृत रूपमा लेखिएको प्रतिवेदन बुझाएका थियौं, त्योसँगै परिषद्का व्यक्ति पनि पाटन क्षेत्रलाई अवलोकन गर्न आउनुभएको थियो,’ उनले भनिन्, ‘त्यसै आधारमा घोषणा भएको हो।’

संस्कृतिविद् सत्यमोहन जोशीको भनाईमा पाटन दरबार १६ र १७ औँ शताब्दीमा निर्माण इतिहास छ । त्यसकारण पनि यसले उतिबेलादेखि अहिलेसम्मको जिवन्त इतिहासलाई बोकेको संस्कृतिविद् जोशीको भनाइ छ । उनले पाटन क्षेत्रकै पेमबहाल पोखरी १२ औँ शताब्दीको बनेको इतिहास रहेको बताए । ‘पाटन क्षेत्र कला संस्कृतिको उद्गम थलो हो, यहाँ अनेक संस्कृति लुकेका छन्, कतिपय त हेरचाह नपाएर लोप भइसकेका छन्, त्यसको जर्गेना गर्न सबै जाग्नु आवश्यक छ,’ संस्कृतिविद् जोशीले भने, ‘हाम्रा संस्कृति हामीले चिनेनौं भने विदेशीले चोरैर लैजान्छन् । कतिपय अति महत्वपूर्ण संस्कृति लोभ भएर जान्छन्।’

उनले पाटन क्षेत्र विश्वको ३५ औं कला नगरीभित्र पर्नु अहोभाग्य भएको बताए । ‘हामीले यतिधेरै हेलचेक्र्याइँ गर्दागर्दै पनि कहीँ न कहीँबाट मूल्यांकन भएको छ,’ उनले थपे, ‘अझ प्राथमिकतामा राखेर संस्कृति खोजी गर्दै अघि बढ्ने हो भने हामी त्यो भन्दा पनि अघि आउन सक्छौं, पाटनले विश्वको ध्यान खिच्न सक्छ।’

उनले पाटन क्षेत्रमा रहेको सुन्धारा र कृष्ण मन्दिर प्राचीन कला र कौशलबाट निर्माण भएकाले यो अझ ऐतिहासिक भएको बताए।

परिषद्ले सांस्कृतिक पक्ष, निर्माण शैली, इतिहास, सुन्दरता, सम्पदामा प्रयोग भएका सामग्री, हेरचाहलगायत विविध पक्षलाई हेरेर पाटन क्षेत्रलाई कला नगरीको प्रमाणपत्र थमाएको थियो । यो क्षेत्रमा ८० प्रतिशत मानिस हस्तकलामा संलग्न छन् । महानगरले कलाको विकासका लागि शाखाहरू पनि बनाउने तयारी गरेको मेयर महर्जनले जानकारी दिए। उनका अनुसार कला संस्कृतिलाई व्यवस्थित र संग्रहित गर्दै अघि बढ्ने योजना महानगरले राखेको छ।

प्रकाशित: ३० कार्तिक २०७५ ०५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App