१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बी लिगको शीर्षमा च्यासल, एनआरटी बलियो

काठमाडौं– च्यासल युथलेसहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार खुमलटार युथ क्लबलाई ३–० ले पराजित गर्दै शीर्ष स्थान उक्लँदा दोस्रो स्थानको एनआरटीले श्रीकुमारी क्लबमाथि १–० को विजय पाएकोछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शीर्ष स्थानमा रहेर खेल सुरु गरेको श्रीकुमारीले एनआरटीलाई नतिजा सुम्पेपछि तेस्रो स्थानमा झरेकोछ । प्रदीप गुरुङले ५४ औं मिनेटमा गरेको गोल एनआरटीको जितमा निर्णायक बन्यो ।

जितपछि खुसी देखिएका एनआरटीका सहायक प्रशिक्षक श्याम मालीले अब ‘ए’ डिभिजन उक्लने लगभग पक्का भएको बताए । ‘आज कठिन खेल थियो । त्यसमा हामी ३ अंक लिन सफल भयौं । अब माथि उक्लने सम्भावना बलियो बन्यो,’ प्रशिक्षक मालीले भने, ‘आज खेलाडीले राम्रो प्रदर्शन गरे । पुरा अंक लिन कति मिहिनेत गर्नुपर्ने रहेछ भन्ने बुझे । जितसँगै खेलाडीको मनोबल पनि बढेकोछ । अबका खेलमा सौरभ(श्रेष्ठ), राजकुमार (घिसिङ) र सन्जिव (श्रेष्ठ) फर्कन्छन् त्यसैले टोली झन बलियो हुनेछ । आशा छ हामी माथि उक्लने छौं ।’

लिगमा दुई खेल खेल्न खेल्न बाँकी रहँदा समान२२ अंक बटुलेका च्यासल र एनआरटी गोलभिन्नताका आधारमा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तेस्रो स्थानको श्रीकुमारीसँग २१अंक छ । एक खेल कम खेलेको आरसिटी २० अंकसाथ चौथो स्थानमा छ ।

श्रीकुमारीका प्रशिक्षक राजकुमार केसीले गणितीय सम्भावना कायम रहेको प्रतिक्रिया दिए  ‘आजको खेल बराबरीको थियो । भाग्यले उनीहरूलाई साथ दियो,’ प्रशिक्षक केसीले भने, ‘हाम्रो खेलाडीहरूले दबाब थेग्न सकेनन् । गणितीय सम्भावना अझै कायम छ। आशा गरौं।’

‘ए’ डिभिजनमा उक्लने सम्भावना कायम राख्न श्रीकुमारी र एनआरटी दुवैलाई जित्नैपर्ने दबाब थियो । अंक गुमाउन नचाहेकाले दुवै टोलीले निकै होसियारीपूर्वक खेलेका थिए । दोस्रो सुरुमै मनीष घले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार श्रीकुमारीका गोलकिपरले बचाए । त्यस्तै दोस्रो हाफको इन्जुरी समयमा श्रीकुमारीका टंकबहादुर सिङ्दानले हानेको सुन्दर फ्रिकिक एनआरटी गोलकिपरले पन्च गरेका थिए ।

हल्चोकस्थित एपिएफ रंगशालामा भएको दोस्रो खेलमा राजेन्द्र देउलाको आत्मघाती गोलमा च्यासलले चौथो मिनेटमा अग्रता लिएको थियो । २५औं मिनेटमा विनोद केसीले अग्रता दोब्बर पारे । ७३ औं मिनेटमा दीपेन्द्र घिसिङले अर्को गोल गर्दै च्यासललाई ३ अंक दिलाएका थिए।

हल्चोकमै सम्पन्न पहिलो खेलमा टुसाल युथले महावीर क्लबलाई ४–० ले पराजित ग¥यो । जितपछि टुसाल १३ अंकसाथ सातौं स्थानमा छ भने ४ अंक बटुलेको महावीर पुछारमा छ ।

भक्तबहादुर थापामगरको गोलमा टुसालले चौथो मिनेटमा अग्रता लिएको थियो। दिनेश हेम्जनले ३२औं मिनेटमा अग्रता दोब्बर पारे भने सुजित गुरुङले ८४ औं मिनेटमा अर्को गोल थपे। लगत्तै भक्तबहादुरले अर्को गोल गरेका थिए।

प्रकाशित: १२ आश्विन २०७३ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App