१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक वर्षपछि निगमको पोखरा उडान सुरु

पोखरा- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले झन्डै एक वर्षपछि पर्यटकीय गन्तव्य पोखरासम्म हवाई उडान सुरु गरेको छ। निगमले बुधबारदेखि पोखरा–काठमाडौं–पोखरा रुटमा उडान सुरु गरेको हो।

निगमको १७ सिटे वाई १२–ई जहाजले दिनको एकपटक पोखरा–काठमाडौं रुटमा उडान गर्नेछ। त्यसबाहेक काठमाडौं–सिमरा र काठमाडौं–भैरहवा रुटमा पनि उडान गर्ने निगमको योजना छ। 'झन्डै एक वर्षपछि काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडान सुरु गरेका छौं,' निगमका पोखरास्थित प्रमुख विजय बस्नेतले भने, 'पर्यटकीय रुट भएर पनि लामो समयदेखि पोखरासम्मको यो रुटमा उडान गर्न सकेका थिएनौं। पाइलट नहुँदा उडान भएको थिएन। अब नियमित गर्ने हो।'

बुधबार बिहान ९ र बिहीबार मध्याह्न १२ बजे यो जहाजले पोखरा–काठमाडौं रुटमा उडान गरेको थियो। बुधबार ६ जना र बिहीबार १० जना यात्रु लिएर जहाज पोखराबाट काठमाडौंका लागि उडेको थियो। बस्नेतका अनुसार एक साताका लागि निगमले पोखरा–काठमाडांै बिनातालिका उडान गरेको छ। पर्यटन क्षेत्रसँग सल्लाह गरेर उपयुक्त समय निर्धारण गरेपछि तालिका तयार पार्ने उनले बताए। 'यो पनि एउटा बिजनेस हो। त्यसैले यहाँका पर्यटन व्यवसायीसँग सल्लाह गरेर तालिका बनाउनेछौं,' उनले भने।

चिनियाँ जहाजमा पाइलट अभावले पर्यटकीय गन्तव्यमा निगमले उडान गर्न सकेको थिएन। पोखरा–काठमाडौं रुटमा स्वदेशी यात्रुले एकतर्फी २७ सय रुपैयाँ र विदेशीले ८० अमेरिकी डलर भाडा तिर्नुपर्नेछ

नियमित उडान गरेर पोखरा रुटलाई नाफामा लैजाने योजना आफूहरुको रहेको बस्नेतले बताए। 'पर्यटकीय क्षेत्रको गन्तव्य भएकाले यो रुटमा निकै नाफामा चलाउन सकिन्छ। निजी कम्पनीले यो रुटमा उडान गरेर राम्रो कमाइ गरेका छन्। नियमित उडान गर्न नसक्दा निगमले आम्दानी गुमाएको थियो,' उनले भने, 'तर, अब नियमित उडान गर्ने योजनामा छौं। सकेसम्म एक दिन पनि उडान मिस गर्दैनौं।' लामो समय उडान नहुँदा यो रुटमा निगमले यात्रुको विश्वास गुमाएकोमा अब फर्काउने प्रयास गर्ने उनले बताए।

निगमले पोखरा–जोमसोम रुटमा पनि लामो समयदेखि उडान गर्न सकेको छैन। पोखरा–जोमसोम निकै चल्तीको रुट हो। पोखरा–जोमसोम रुटमा यो जहाजले उडान गर्न नसक्ने उनले बताए। 'पोखरा–जोमसोममा यो पटक सिजन गइसक्यो। अब अर्को सिजनसम्म टि्वनअटर जहाज ल्याएर उडान गर्ने योजना निगमको छ। निगमसँग रहेका तीनवटा टि्वनअटरमध्ये एउटा मात्र उड्न सक्छ। त्यस्तै पोखरा–मनाङ रुटको बारेमा पनि निगमले योजना बनाउँदैछ,' उनले भने, 'पोखरा–मनाङ रुटलाई पनि टि्वनअटर चाहिन्छ। हिमालपारिका गन्तव्यका लागि चिनियाँ जहाज उड्न सक्दैन। त्यसैले टि्वनअटर पर्खाइमा छौं।'

पोखरा–मनाङ रुटमा कुनै बेला सातामा ४ वटासम्म उडान गर्दै आएको निगमले वर्षौंदेखि एउटा पनि उडान गरेको छैन। पोखरा–जोमसोम रुटमा पनि निगमले उडान नगरेको करिब एक वर्षभन्दा बढी भइसकेको छ।

 

प्रकाशित: १४ आश्विन २०७३ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App