१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

थ्री स्टारलाई बोर्डोलोइ ट्रफी

काठमाडौं- मेहनती र भाग्यशाली रुस्लान थ्री स्टार क्लब अन्ततः बार्डोलोइ ट्रफी फुटबल उपाधिका साथ स्वदेश फर्कने भएको छ। भारतको गुवाहिटीमा शुक्रबार राती विमल घर्तिमगरले थप समयको नवौं मिनेटमा गोल गरेपछि भारतको प्रतियोयिगताकै बलियो मानिएको चर्चित क्लब इस्ट बंगाललाई २–१ ले हराउँदै च्याम्प्यिन बनेको हो।

बोर्डोलोइ ट्रफ्रीको यो ६४औं संस्करण हो। निर्धारित समय १–१ को बराबरीमा सकिए पछि खेल थप सयमतिर धकेलिएको थियो।

प्रतिस्पर्धात्मक खेलमा गोलका लागि ८२ मिनेटसम्म कुर्नु परेको थियो। खेलमा अग्रता इस्ट बंगालले लिएको थियो। टोलीका लागि एडलेजाले गोल गरेका थिए। तर इन्जुरी समय सकिन १ मिनेट बाँकीमा देवेन्द्र तामाङले गोल गरेपछि थ्री स्टार खेलमा फर्केको थियो। थपिएको समयमा म्यान अफ दी म्याच विमलले गरेको गोल निर्णायक बन्यो र थ्री स्टारले उपाधिसहित १६ लाख रुपैयाँ प्राप्त गर्‍यो। थप समयको २० मिनेटमा दुवै टोली दस खेलाडीमा सिमित भएका थिए। थ्री स्टारका विजय गुरुङ र इस्ट बंगालका सामत अलि दुवैले रातो पाएका थिए।

६ वर्ष अघि पनि प्रशिक्षक मेघराज केसीको प्रशिक्षणमा थ्री स्टारले फाइनल खेलेको थियो। केसीले दक्षिण एसियाकै पुरानो र बलियो टोलीलाई हराएर इतिहास रच्न सफल भएको बताए। इस्ट बंगालले ८ लाख रुपैयाँमा चित्त बुझायो।

अघिल्लो महिना मंगोलिया पुगेर एएफसी कप २०१७ को फाइनल चरणका लागि छनोट भएको थ्री स्टारले समूह चरणमा नागाल्यान्डलाई ६–१ ले हराउँदै तथा सिलोङ लाजोङ र ओयल इन्डियासँग समान १–१ को बराबरी खेल्दै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको थियो।

सेमिफाइनलमा सिक्किम युनाइटेडमाथि ४–१ को जित निकाल्दै थ्री स्टाले उपाधि भिडन्त पक्का गरेको थियो।

फाइनलअघि सम्म एक गोल पनि नखाएको इस्ट बंगालविरुद्ध नेपालको राष्ट्रिय लिग च्याम्पियनले दुई गोल गरेको थियो। थ्री स्टार सेमिफाइनलमा पनि थप समयमा पुगेर विजयी भएको थियो।

समूह चरणमा बंगलादेशको बोनगोविर ओग्रागामी क्लबलाई ६–० र सिक्किम युनाइटेडलाई २–० ले हराएको इस्ट बंगालले गुवाहिटीको स्थानीय क्लबमाथि ३–० को जित पाएको थियो। टोलीले सेमिफाइनलमा सिलोङमाथि १–० ले नतिजा निकालेको थियो।

प्रकाशित: १५ आश्विन २०७३ ०२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App