१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

४-५ तारेसहित दर्जन होटल बन्दै

बुटवल- भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु भएपछि रुपन्देहीमा होटलमा लगानी ह्वात्तै बढेको छ। दुई वर्षयता बनेका र बन्दै गरेका होटलमा ७ अर्ब  लगानी भएको छ। विमानस्थल सञ्चालन हुनेबित्तिकै लुम्बिनीमा बौद्धमार्गी पर्यटकको आगमन बढ्ने भएकाले व्यवसायीले होटलमा लगानी बढाएका हुन्। सन् २०१७ को अन्त्यसम्म गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्य छ।

व्यवसायीले बुटवल, भैरहवा र लुम्बिनी क्षेत्रमा एक–दुई करोडदेखि १०–१५ करोड रुपैयाँ लगानीका मध्यम खालका दुई दर्जन होटल खोलिसकेका छन्। करोडौं लगानीका चारवटा पाँचतारे होटल सहित ठूला दर्जन होटल निर्माण भइरहेको पाइएको छ।

भैरहवामा सञ्चालित होटल बोधी रेडसनले स्तरोन्नति गर्दै पाँचतारे बनाउन लागेको छ। बोधी रेडसन होटल अहिले तीनतारेमा सूचीकृत छ। भैरहवानजिकै बसन्तपुरमा अहिले सञ्चालनमा रहेको तीनतारे बोधी रेडसनले सुविधा थप्दै ६४ नयाँ कोठा निर्माण गरिरहेको छ। नयाँँ कोठा निर्माणसँगै होटलमा १ सय ६ वटा कोठा हुनेछन्। नयाँ सबै कोठा अत्याधुनिक फायर फाइटिङ जडान रहेको महाप्रबन्धक अमृत खनालले बताए। निर्माण सकेपछि बोधी रेडसनमा २  सय ६ जनालाई एकैपटक आतिथ्यता दिन सकिने र यसै वर्षको अक्टोबरबाट पूर्ण रुपमा सञ्चालनमा ल्याउने योजना रहेको होटलका प्रबन्ध निर्देशक प्रमोद यादवले बताए।

व्यवसायी पवनकुमार हलुवाईले एक अर्ब ४० करोड रुपैयाँ लगानीमा लुम्बिनीमा पाँचतारे होटल पवन प्यालेस लुम्बिनी खोल्दै छन्। सन् २०१७ को अक्टोबरमा सेवा सुरु गर्ने गरी काम भइरहेको सञ्चालक हलुवाईले बताए। भैरहवा–लुम्बिनी सडकको पर्सा चोकदेखि एक किलोमिटर पूर्वमा साढे दुई बिघा क्षेत्रफलमा होटलको भौतिक पूर्वाधार निर्माण भइरहेको छ। होटलमा १ सय ४७ कोठा रहने छन्। जसमध्ये स्ट्यान्डर्ड किङ रुम २३, स्ट्यान्डर्ड टि्वन रुम ७६, डिलक्स किङ रुम १० डिलक्स टि्वन रुम २०, सुइट नौ र प्रेसिडेन्सियल सुइट एक रहने छन्। स्पा, ब्यांकेट हल,  स्विमिङ पुल, हेल्थ क्लब लगायत सुविधा हुने हलुवाईले जानकारी दिए। ‘क्यासिनोबाहेक पाँचतारे होटलमा हुनुपर्ने सबै सुविधा हुनेछ, होटल खर्चालु पर्यटक लक्षित हो,' उनले भने।

हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपले ३ अर्ब रुपैयाँ लगानीमा कोटिहवामा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउँदै छ। १६ बिघामा फैलिएको हेरिटेज नेपालका प्रमुख राजेन्द्र बजगाईंले बताए। रिसोर्टमा ४ सय कोठा बनाउने लक्ष्य लिइएको छ। त्यसमध्ये पहिलो चरणमा सय कोठा तयार हुँदैछन्। आगामी दुई वर्षमा ३ सय कोठा थप्ने योजना बनाइएको छ। कोठा डिलक्स, सुपर डिलक्स, सुइट प्रकृतिका हुने छन्। पहिलो चरणको काम सक्न २ अर्ब लाग्ने बजगाईंले बताए।

टाइगर प्यालेसमा सात सय अटाउने ठूलो हल र अरु साना हल पनि हुने छन्। त्यसैगरी ठूलो र साना स्विमिङ पुल, स्पा, टेनिस कोर्ट, चिल्ड्रेन पार्क, वाटर फनपार्क लगायत सुविधा रिसोर्टमा हुनेछन्।

लामो समयदेखि निर्माणको क्रममा रहेको बेलहियास्थित नान्स होटल आगामी अक्टोबरदेखि सञ्चालन गर्ने गरी काम भइरहेको छ। ७० करोड रुपैयाँ लगानीमा यो होटलमा सुविधा सम्पन्न ५० कोठा हुनेछन्। ‘होटलमा पाँचतारेमा हुने सबै सुविधा हुनेछ, कोठाको संख्यामात्रै केही थोरै हो, गुणस्तर हेरेर पाँचतारेको स्वीकृति दिनुपर्छ भन्ने हाम्रो माग छ,' होटलका अध्यक्ष सिपी श्रेष्ठले भने। सिद्धार्थ होटल एसोसिएसन (सान)का अध्यक्षसमेत रहेका श्रेष्ठको भैरहवामा तीनतारे नान्स होटल ६ वर्षदेखि  सञ्चालन भइरहेको छ।

सीमावर्ती सहर भैरहवाको तुलनामा स्तरीय होटलको अभाव भएको बुटवलमा पछिल्लो दुई वर्षयता स्तरीय होटल खुलेका छन्। यहाँको होटल व्यवसायमा एक अर्ब लगानी थपिएको व्यवसायीले बताए। ५० करोड रुपैयाँ लगानीमा डेनोभो होटल सञ्चालनमा आएको छ। बुटवलको होटल व्यवसायमा अहिलेसम्मकै ठूलो लगानी हो। ६ तले भवनमा ४० कोठासहितको होटल सञ्चालनमा आएको हो। यहाँ स्विमिङ पुल, फिटनेस सेन्टर र रेस्टुरेन्टको समेत व्यवस्था छ।

होटलका प्रबन्ध निर्देशक प्रवीण पाठकका अनुसार बुटवलको कालिकानगरमा १५ कट्ठा क्षेत्रफलमा रहेको यो होटलमा ३५ वटा स्ट्यान्डर्ड, ४ वटा डिलक्स र एक एक्जुकेटिभ डिलक्स गरी ४० वटा एसीजडित कोठा छन्।

बुटवलको बसपार्कमा व्यवसायी गोपाल पाण्डेले १५ करोड रुपैयाँमा डार्सी होटल सञ्चालनमा ल्याएका छन्। ४८ कोठाको यो होटलमा सुइट पा“च, डिलक्स ३० , कर्पोरेट १० वटा कोठा छन्। व्यवसायी जगधीश आचार्यले ५ करोड लगानीमा मैत्रीपथमा होटल वृन्दावन सञ्चालनमा ल्याएका छन्। एटेच, एसी र डिलक्स २४  कोठा रहेको होटलले व्यापारीलाई लक्षित गरेको आचार्यले जानकारी दिए।

व्यवसायी भीमलाल न्यौपानेले २० करोड लगानीमा बुटवल–५ गोलपार्कमा ५० कोठाको होटल श्रीनगर खोल्दै छन्। तीन वर्षअघि निर्माण थालेका न्यौपानेले एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको बताए।

१ करोडदेखि २ करोड रुपैयाँसम्म लगानी गरेर एक दर्जन होटल खुलेको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका पूर्वअध्यक्ष माधव नेपालले जानकारी दिए।

नयाँ होटल खुलेसँगै भएका होटलले सेवा र गुणस्तर दुवै बढाएका छन्। २२ कोठा भएको होटल न्यु इराले ५ करोड रुपैयाँ लगानी गरी २३ कोठा थप गरेको छ।

नेपालको प्रमुख आर्थिक केन्द्र बुटवलमा पाहुनाको चापलाई ख्याल गरेर होटलमा कोठा थपेको न्यु इराका सञ्चालक नेपालले बताए। त्यस्तै सिद्धार्थ ग्रुपले सञ्चालन गरेको सिद्धार्थ कटेजले २ करोड लगानी गरेर १६ कोठा थप गरेको छ।

बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्दैछ। सम्मेलन केन्द्र बनेपछि यस क्षेत्रमा होटलको माग अझै बढ्ने व्यवसायी नेपालले बताए।

बुटवलदेखि १५ किलोमिटर उत्तरपश्चिम पाल्पाको दोभान–७ नुवाकोटमा हिलसाइड भिलेज रिसोर्ट निर्माण सुरु गरिएको छ । पा“च वर्षभित्र ३० करोड रुपैयाँ लगानी गर्ने तयारी छ। रिसोर्टका लागि ४० रोपनी जग्गा खरिद गरेको व्यवसायी नेपालले बताए। रेस्टुरेन्ट र कटेज बनाउने काम सुरु भएको छ। केही समयभित्रै रिसोर्टका अरु संरचना बनाउने तयारी हुँदैछ। पाल्पाली राजा मणिमुकुन्द सेनको दरबारका भग्नावशेष रहेको नुवाकोट ऐतिहासिक स्थल मानिन्छ। बटौली बजारको सिरानमा रहेको नुवाकोटबाट तराईको रमणीय दृश्यावलोकन गर्न सकिन्छ। बुटवलदेखि नुवाकोटसम्म केबुलकार सञ्चालन गर्ने तयारी यहाँका व्यवसायीले गरेका छन्।

लुम्बिनीमा दुई वर्षयता आधा दर्जन मध्यम खालका सुविधासम्पन्न होटल सञ्चालनमा आएका छन्। ती होटलमा ५० करोड रुपैयाँ लगानी भएको सिद्धार्थ होटल एसोसिएसन सानका उपाध्यक्ष मिथुन श्रेष्ठले जानकारी दिए।

भैरहवामा पनि दुई वर्षयता मध्यम खालका एक दर्जन होटल खुलेका छन्। ह्वाइट लोटस, सिटी सेन्टर, जोशी होटल, सिपी म्याक्स इन्टरनेसनल, डिजिपार्क लगायत होटलमा कम्तीमा ५० करोड रुपैयाँ लगानी भएको छ।

लुम्बिनी र भैरहवा क्षेत्रमा होटल खोल्न काठमाडौं र पोखराका व्यवसायीले धमाधम जग्गा किनिरहेका छन्। उनीहरुले विमानस्थल सञ्चालन भएपछि पर्यटक आगमनको अवस्था हेरेर होटल निर्माणको काम सुरु गर्ने योजना बनाएको सिद्धार्थ होटल एसोसिएसनका पदाधिकारीको भनाइ छ।

प्रकाशित: १४ असार २०७३ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App