१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

भूगोलको रेखांकन उत्तर–दक्षिण

हिमाल नेपालको मुकुट हो । र, हो– पहाड नेपालको शिर । हिमाल, पहाड र तराई–मधेस सिंगो शरीर हो । नदी–नाला नसा हुन् र तिनमा बग्ने पानी नेपालीको रगत र पसिना हो । शरीरको कुनै अङ्गमा चोट लाग्दा सिंगो शरीर झन्झनाउँछ जसरी, ठीक त्यसैगरी हिमाल, पहाड र तराई–मधेसका कुनै भागमा आघात प¥यो भने सिंगो नेपाल दुख्छ, दुख्नुपर्छ । हिमालको हिउँ पग्लेर पहाडमा हिम–नदी बग्छन् र ती तराई–मधेसमा बग्दै गएर त्यहाँका सम्म मैदानी फाँटलाई सिँचन गर्छन् । त्यहाँको ऊर्वर भूमिमा उब्जेको अन्न हिमाल र पहाडमा जान्छ र त्यहाँ बसोबास गर्ने नेपालीको जीवन बाँच्छ । यसरी हिमाल, पहाड र तराई मधेसको सम्बन्ध गाँसिएको छ । यो सृष्टि कालदेखि चलिआएको परम्परा हो । त्यसमा क्रमभङ्ग गर्दा मानवीय जीवनमा संकट आइपर्छ ।

हिँजोका मानिसले गरेका काम सबै राम्रा छैनन् र सबै नराम्रा पनि छैनन् । चौध अञ्चल र पाँच विकास क्षेत्रमा विभाजित नेपालको भूगोल, जो विवादरहित नामाकरण गरेर गरिएको थियो । त्यहाँ जात, लिंग र क्षेत्रमा कुनै विभेद थिएन । हिमाल, पहाड र तराई–मधेस एउटै सिंगो शरीर बनेका थिए । मेची अञ्चल, कोशी, सगरमाथा, वाग्मती, धवलागिरी, नारायणी, जनकपुर, लुम्बिनी, राप्ती, सेती, कर्णाली र महाकाली अञ्चल, जो हिमाल, पहाड र तराई–मधेसको सन्तुलन मिलाएर गरिएका थिए । त्यहाँ न जातिको कुरा थियो न क्षेत्रको कुरा थियो । पहाड र तराई मधेसलाई  जोडेर उत्तर–दक्षिण भौगोलिक वर्गीकरण गरिएको थियो । राजतन्त्रीय शासकले गरेको भए पनि उसको यो राम्रो कामलाई अनुशरण गरेको भए राम्रै हुने  थियो । पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाइदिएको भए राडीचाडी हुने थिएन । त्यसको क्रमभङ्ग गर्दै १४ प्रदेश, ८ प्रदेश र पाँच प्रदेशको विवादमा लामो समय दलका नेता अल्झिए । अन्ततः तीन दलका बीच ७ प्रदेशमा सहमति भएको छ । त्यसको पनि अन्तिम टुंगो लागिसकेको छैन । मधेसी मोर्चाको माग सम्बोधन गर्दा के हुने हो, संवाद हुन बाँकी छ । सहमति हुन बाँकी छ ।

तराई–मधेसमा बस्ने नेपालीको सम्बन्ध हिमाल र पहाडसँग छ । त्यहाँ बस्ने नेपालीको तराई–मधेससँग छ। भूगोललाई अलग गर्दैमा जनता अलग हुन सक्दैनन् । त्यसैले पश्चिममा थारू बाहुल्य प्रदेश बनाउनुपर्छ र त्यहाँ पहाडलाई समेत गाभ्नुपर्छ । पूर्वमा मधेसी बाहुल्य प्रदेश बनाउनुपर्छ र त्यहाँ पनि पहाडलाई गाभ्नुपर्छ । समग्रमा उत्तर र दक्षिण भौगोलिक सीमाङ्कन गरेर हिमाल, पहाड र तराई–मधेसका नेपालीको परम्परागत अटुट सम्बन्ध कायम गर्दै भावनात्मक र व्यावहारिक एकतालाई अक्षुण्ण राख्नुपर्छ । दृष्टान्तका रूपमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची पहाड र तराई–मधेसका जोडिएका जिल्ला हुन् । त्यहाँ बस्ने नेपालीको भावनात्मक र व्यावहारिक सम्बन्ध गाढा र अविच्छिन्न छ । त्यसलाई तोडेर तराई अलग, पहाड अलग गरियो भने राम्रो हुँदैन । उत्तर–दक्षिण सीमाङ्कन नै उचित र व्यावहारिक हुन्छ।

अतिले खती गर्छ । अतिवाद अन्ततः प्रत्युत्पादक हुन्छ । पुरानोलाई पूरै निषेध गरेर नयाँको नाममा अति गर्दा खती हुन्छ । मकैको दानाको ध्वंश धेरै दाना फलाउनका लागि हुुनुपर्छ । निषेधको नाममा विध्वंशात्मक काम गर्दा त्यो समाजलाई पाच्य हुँदैन । कुनै पनि नीति, नियम, विचार सिद्धान्त युग र समाज सुहाउँदो हुनुपर्छ । पुरानाले गरेका काम सबै खराब हुँदैनन् र नयाँले गरेका सबै काम असल नहुन सक्छन् । पुर्खाले जुराएका कतिपय उखानटुक्का अहिले पनि कामलाग्दा÷घतलाग्दा छन्। उनले गरेका राम्रा कामलाई आग्रह÷पूर्वाग्रहबाट माथि उठेर तिनको सचेतनतापूर्वक अनुशरण गर्दै वर्तमानमा कार्यान्वयन गर्दा आकाश खस्नेवाला छैन ।

भू–राजनीतिक दृष्टिले संवेदनशील नेपालको भूगोलको प्रादेशिक विभाजन गर्दा हिमाल, पहाड र तराई मधेसको नाल–नाता र कुल–कुटुम्बको सम्बन्ध र जीवन र जगत्को ख्यालै नगरी खल्बल्याउन खोज्दा आन्तरिक एकतामा खलल पुग्ने र त्यसले परचक्रीलाई धमिलो पानीमा माछा मार्ने मौका मिल्ने हुनाले तिनोटै क्लस्टर र तिनोटै क्षेत्रका बीच समतामूलक सन्तुलन मिलाएर गर्नुपर्छ । कसैले पनि मेरा गोरुको बाह्रै टक्का भन्ने अहं पालेर बस्नुहुँदैन । मधेसलाई पहाड चाहिन्छ, पहाडलाई मधेस । पूर्वलाई पश्चिम चाहिन्छ, उत्तरलाई दक्षिण । विश्व ग्रामका दृष्टिले चीनलाई भारत चाहिन्छ, भारतलाई चीन । नेपाललाई चीन र भारत दुवै चाहिन्छ । नेपालले चीन र भारतसँग समान मित्रता कायम गर्दै दुवैको सहयोगमा देशको विकास गर्नुपर्छ र उत्तर चीनसँग र दक्षिण भारतसँग सीमा जोडिएको नेपालले भूगोलको प्रादेशिक विभाजन गर्दा दुवै छिमेकी मित्रसँगको मित्रतामा आँच नआउने गरी गर्नुपर्छ ।

पृथ्वीनारायण शाहले भूगोलको एकीकरणको शुभारम्भ गरे । र, उनका उत्तराधिकारीले त्यसलाई पूरा गरे। यदि यसो नगरेको भए भारतीय बृटिस उपनिवेशवादीले बाइसे–चौबीसे राज्यमा विभाजित नेपालको अस्तित्व समाप्त पार्ने खतरा थियो । यस मानेमा पृथ्वीनारायण शाहको योगदान अविस्मरणीय छ । तर त्यो एकीकरण पहाडिया खस–आर्य अहंकारवाद र केन्द्रीकृत र एकात्मक अधिनायकवादमा आधारित थियो। तिब्बती भोट बर्मेली आदिवासी जनजाति र अस्ट्रो द्रविड र मैदानी आर्यमूलका मधेसी जनताको शासकीय पहुँच हुन पाएन । लामो समय चलेको यसखालको शासकीय स्वरूपका कारण आर्य–खसको तुलनामा अरु पछाडि परे । त्यसबाट एकखालको भावनात्मक ठेस पुग्नु स्वभाविक थियो र हेपिएको अनुभूति भएकै हो । सामन्ती राजतन्त्रात्मक शासनकालमा कायम भएको त्यो विभेदकारी नीति अब लागु हुन सक्दैन ।

मुलुक संघात्मक बनेको छ, गणतन्त्रात्मक बनेको छ । हिमाल, पहाड, तराई–मधेसका नेपाली जनता सचेत भइसकेका छन् । हिँजोझैं तिनलाई अन्धकारमा राखेर अधिकारबिहीन बनाएर शासन चलाउन खोज्नु राष्ट्रिय विखण्डन र पृथकतावादलाई आमन्त्रण गर्नु हुनेछ । त्यसैले हिँजोका शासकले गरेका यी कतिपय काम नराम्रा हुन् । उनका राम्रा कामको सचेतनतापूर्वक ग्रहण गर्ने र नराम्रा कामलाई हटाउनुपर्छ । हिमाल, पहाड र तराई–मधेस सिंगो शरीर हो र यसका प्रत्येक अङ्ग महत्वपूर्ण छन् । जसरी आँखा, कान, हात–गोडा आदि अङ्गको आ–आफ्नै महत्व छ, ठीक त्यसैगरी सबै जात–जाति, लिंग र क्षेत्रका जनताको उत्तिकै महत्व छ । यी सबै व्यक्तिको समष्टि नै नेपाल हो । अतः भूगोलको सीमाङ्गन गर्दा त्यहाँ बसोबास गर्ने नेपालीको भावना र आकांक्षाको सम्मान गर्दै संविधानमा सम्बोधन भएमा आन्तरिक एकता सुदृढ हुने र त्यसबाट राष्ट्रियता बलियो हुनेछ । संविधान त जारी भइसकेको छ । त्यसलाई असफल पार्न खोज्नेहरु सफल हुन नपाउन् भन्ने विषयमा सजग हुँदै आन्तरिक एकतालाई सुदृढ पार्न राष्ट्रिय सहमति कायम गर्नु अनिवार्य आवश्यक छ।

प्रकाशित: २३ कार्तिक २०७३ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App