४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

गालीमा तालीको राजनीति

संविधान सभाबाट संविधान निर्माणपछि देशले राजनीतिक, सामाजिक, आर्थिक र अन्य हिसाबमा कोल्टे फेर्ने आशा थियो। नेताहरुको भाषणबाजीमा यस्तै भनिन्थ्यो। तर अहिलेको असहजता हेर्दा देश पुरै उत्तानो भएजस्तो आभाष हुन्छ। यद्यपि संविधान कार्यान्वयन र प्रगतिको रफ्तारका लागि सहमतीय सरकारको आह्वान गरिँदैछ तर निर्माण भने बहुमतीय सरकार हुँदैछ। बाहिर सबैले सहमतिको आवश्यकता दर्शाए पनि भित्रचाहिँ एक/अर्कालाई सत्तोसराप गर्दैछन्। सार्वजनिक समारोह तथा संसद्भित्र भएका दलगत लफडाबाजी र पूर्वाग्रही आरोप/प्रत्यारोपले यही देखाउँछ।

अंगे्रजीको पुरानो शब्दकोशअनुसार 'पार्लियामेन्ट' को एउटा अर्थ लाटकोसेराहरुको सभा भन्ने पनि लाग्छ। त्यही संसद्लाई कार्ल मार्क्सले संभ्रान्तहरुको अहंकारी गफ गर्ने चिया पसल भन्थे। हाम्रो राजनीतिमा पनि यही विशेषता झल्कँदैछ। यद्यपि सबै दलले आफूलाई देश र नागरिकका लागि समर्पित भन्छन्। उनीहरुको लागि देशको परिभाषाचाहिँ फ्रान्सका पुराना शासक लुइस चौधाँैको 'देश म हुँ र म नै देश हो' भन्ने जस्तै छ। किनकि उनीहरुको धेरै समय केवल आफ्नो स्वार्थ हेर्नेमा र अरुलाई गाली गर्नेमा बित्छ।

गालीको सदाबहार बहाब

हाम्रा दल आफूलाई सुधार्दै अरुभन्दा अब्बल बनाउनेमा हैन, बाँकीलाई गाली गर्नेमा केन्द्रित छन्। आफूमाथि विश्वास आर्जन गर्नेभन्दा अरुको बेइज्जति गर्नेमा रमाउँछन्। विख्यात नवमार्क्सवादी लेखक नोम चोम्स्की दक्षिण एसियाको राजनीतिमा देखिएको 'वंशवाद अनि गाली मोह' लाई खेदजन्य अवस्थाको संज्ञा दिन्छन्। यसलेे राजनीतिलाई दिन/प्रतिदिन जीर्ण र क्षीण बनाउँदैछ। पुरानै सोचबाट विकास, समृद्धि र सभ्यताको सम्भव नहुने अनि एक पटक नुहाएको पानीले फेरि नुहाउन नसकिने भन्दै नयाँ शक्ति पार्टी पनि गठन भयो। उसले पनि अरुलाई गालीको वर्षा रोक्न सकेको छैन।

कसैलाई प्रधान शत्रु तोक्दै संघर्ष गर्ने नभई आफैँलाई सुधार गर्दै जनताका लागि राम्रा कार्यक्रम ल्याउनु आजको आवश्यकता हो। अरुलाई परास्त गर्न अतिरञ्जित प्रतिक्रिया दिने र आमनागरिलाई मुठभेडमा लैजाने राजनीतिले सफलता पाउँदैन। अहिले चर्का भाषणसँगै उत्तेजित नारामा राष्ट्रवाद देखाउनेभन्दा जनतालाई जीवन निर्वाहमा सघाउने कार्यक्रम खाँचो छ। विकसित र समुन्नत राष्ट्रका सफल राजनीतिहरुबाट प्रशस्त दीक्षित हुँदै दलहरुले राजनीतिक संस्कार बदल्नुपर्छ।

विश्व राजनीतिको शिक्षा

मार्गरेट थ्याचरले बन्दुक बोकिनन्। आफ्ना कार्यक्रमलाई अरुका विरुद्ध लक्षित गर्नेभन्दा नागरिकका जीवन निर्वाहलाई सहयोग गर्ने दिशामा लगाइन्। कोफी अन्नानले संयुक्त राष्ट्र संघको सुधार गर्ने योजना ल्याए र प्रख्याति कमाए। रोनाल्ड रेगनले कसैलाई शत्रु ठानेनन्। जनतालाई राम्रा सुधारका कार्यक्रम दिए, देश उनको पक्षमा रह्यो। सम्पूर्ण विपक्षी उनका समयभर कमजोर रहे। राजनीतिलाई लड्ने/भिड्ने र मारकाटको कित्तामा प्रयोग गरेनन्। जनतलाई शान्ति, सुरक्षा दिन, अमनचयन कायम राख्न, सुशासन, समृद्धि, आर्थिक विकास, सामाजिक न्याय उन्नयनको श्रीवृद्धिमा राजनीतिलाई प्रयोग गरे।

नागरिकलाई नाम हैन, काम आवश्यक छ। कठिन शब्दहरुले बुनिएका नबुझिने कार्यनीतिभन्दा अनुभव गर्न सकिने कार्यक्रम आवश्यक छन्। राम्रा कार्यक्रम दिए, कुनै पनि दलका विरोधी शक्तिहरुलाई जनताले नै परास्त गर्छन्। राजनीतिक तहमा खोचे थाप्नै पर्दैन। एउटा शक्तिले अर्को शक्तिविरुद्ध नेतृत्व तहमा संघर्ष गर्ने हैन, जनताको आदेश र अनुमोदनमात्र माग्ने हो।

महान् परिवर्तन गर्दै समाजको अग्रगामी रूपान्तरण गराएका सबै नेता अरुको विरोध हैन, आफ्नो क्षमता, सामर्थ्य वृद्धिमा तत्पर थिए। विड्रो विल्सन, विस्टन चर्चिल, नेल्सन मन्डेला, जोन एफ केनेडी जस्ता युगान्तकारी नेताहरुले सहजै आफ्ना विपक्षीलाई निस्तेज गरे। रुसमा भ्लादिमिर पुटिन लगातार राष्ट्रपति र प्रधान मन्त्री बन्छन्। फ्रान्कलिन डि रुजभेल्ट नियम नै परिवर्तन गर्नुपर्ने गरी जनताबाट चार/चार पटक राष्ट्रपतिमा निर्वाचित भए। लि क्वान, महाथिर विन मोहमदले उठाएका जस्तासुकै कदमलाई नागरिकले सहर्ष स्वीकारे र सहयोग गरे। केही वर्षअघिसम्म नेपाल जस्तै अल्पविकसित देश गनिने मलेसिया अहिले विकासोन्मुख छ, सन् २०२० मा विकासित हुने चरणमा छ। रहस्य यही हो कि नेतृत्वले अरुको विरोध गर्नुभन्दा नागरिकलाई परिवर्तनका कार्यक्रममार्फत आफ्नो पक्षमा राखे। नागरिक जीवन स्तरोन्नति, समाजको व्यापक पुनर्निर्माण अनि अधिकांश जनताले आत्मसन्तुष्टि महसुस गर्ने कार्यक्रम दिए। हाम्रा दलहरुले त्यसको सिको गर्न सकेनन्। आफू केही नगर्ने र अरुलाई दोष थुपार्नेखालको राजनीति मौलायो।

नागरिक सम्मान कमाउन दलहरुले आमविकास, व्यापक सामाजिक सुधार, गरिबी निवारण, भ्रष्टाचार निर्मूलीकरण, दमन र हिंसाको अन्त्य, बेरोजगारी व्यवस्थापन जस्ता अहंम मुद्दाका पक्षमा ठोस कार्ययोजना तय गर्नुपर्छ। ती कुरा कार्यान्वयन गर्न सरकार पाउन प्रयास गर्ने भनेर जनतालाई बुझाउनुपर्छ। जसले सरकार बनाए पनि ती कार्यक्रमलाई आफ्नै मानेर निरन्तर साथ दिनुपर्छ। 'कन्सेन्सस् डेमोत्रे्कसी' भनिने यस्तो अभ्यासले राजनीतिलाई सुसंस्कृत बनाउँछ। स्विट्जरल्यान्ड, जर्मनी, डेनमार्क र स्विडेनमा यसलाई राष्ट्रिय राजनीतिको मुख्य विशेषता भनिन्छ। ए लिजपर्टको पुस्तक 'प्याट्रन अफ डेमोत्रे्कसी' मा यसलाई प्रजातान्त्रिक व्यवस्थाको अलौकिक उदाहरण मानिएको छ। यस्तो हँुदा अधिक नागरिकले राजनीतिमा आफ्नो सहभागिता महसुस गर्छन्। मेरो वा तेरो पार्टीले राम्रो र नराम्रो गरेको भन्नेमा मतान्तर कम हुन्छ, सबैमा अपनत्व वोध हुन्छ। विकासका गतिविधिले गति लिन्छन्। सरकार फेरिए पनि नीति र कार्यक्रम निरन्तर रहन्छन्। राजनीतिक स्थिरतासँगै आर्थिक प्रगतिको पथ मुख्य सूचीमा पर्छ।

अझै पनि परिवर्तनकारीको स्वउद्घोष गर्ने केही दल भने अरु दलले राम्रो काम नगरेको भन्दै द्वण्द्व र आन्दोलन गर्ने भन्छन्। युद्ध छेडेर परिवर्तन गर्छु भन्नेसँग जनताको आक्रोश, शंका र तिरस्कारमात्र हुन्छ, अब त बुद्ध बनेर परिवर्तन गर्नेहरुको खाँचो छ। गान्धी बन्न सक्नुपर्छ, अन्ना हजारेको उचाइ लिनुपर्छ, नेल्सन मन्डेलालाई हेर्नुपर्छ। अरुको कमजोरी खोज्न हैन, नागरिकको बुझाइमा आफ्नो दललाई जिम्मेवार बनाउन सक्नुपर्छ। दलहरुले एकअर्कालाई गर्ने गाली र बेइज्जतिमा आफ्नो हैसियत देख्न छाड्नुपर्छ। जनताका लागि कामकाजी प्रस्ताव ल्याउनुपर्छ। गालीमा ताली साट्ने राजनीति अन्त्य हुनुपर्छ। यत्ति भएमा राजनीतिको आधा समस्या आफैँ निराकरण हुन्छ। सहमति होस् या नहोस्, अर्काको अनावश्यक विरोधभन्दा नागरिकका लागि प्रिय कार्यक्रम पस्कने प्रतिस्पर्धा भए राजनीतिको कुष्ठरोग आफैँ निको हुन्छ। उनीहरुको स्तर त ती कार्यक्रम र त्यसलाई व्यवहारमा लैजाने सामर्थ्यका आधारमा नागरिकले नै कायम गरिदिनेछन्। आफूलाई राम्रो देखाउन अरुलाई गाली गरिरहनु नै पर्दैन।

प्रकाशित: ७ श्रावण २०७३ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App