१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

होमियोप्याथीमा हेनिमेनको योगदान

१० अप्रिल १७५५ मा जर्मनीको माइसेन सहरमा क्रिस्चियन फेड्रिक स्यामुअल हेनिमेन उदाए। निम्न वर्गीय कुम्हाले परिवारमा जन्मेका हेनिमेनलाई आज संसारले होमियोप्याथी चिकित्सा पद्धतिको जन्मदाताका रूपमा सम्झन्छ। हेनिमेनका बुवा क्रिस्चियन गोटे हेनिमेनले चिनियाँमाटो (सेरामिक) को भाँडामा बुट्टा भर्ने काम गर्थे। कहिलेकाहीँ उनीहरूलाई हातमुख जोर्न पनि धौ–धौ पथ्र्यो। त्यसैले हेनिमेनको बाल्यावस्था बडो कष्टकर थियो। अभावले उनको पढ्ने गोरेटो छेक्न सकेन। त्यसकै परिणाम स्वरूप, २४ वर्षको उमेरमै हेनिमेनले एलोप्याथीमा (एमडी) को उपाधि हासिल गरे।  

एमडी गरेलगत्तै ड्रेसडेनको अस्पतालमा सिभिल सर्जनका रूपमा काम गर्न थाले। त्यसपछि उनको १० वर्ष सिभिल सर्जनको पदमै बित्यो। उनी आफ्नो समयको चिकित्सा प्रक्रियामै सहमत थिएनन्, किनभने तितो, कष्टकारी एवं विपरीत प्रतिक्रिया (साइडइफेक्ट) उत्पन्न गर्ने औषधिको सेवनबाट रोगको उपचार त हुन्थ्यो, तर रोगीको शरीरमा विभिन्न थरीका नयाँ रोग उत्पन्न भइरहेका हुन्थे। असहमत हुनुमा उनको आफ्नो व्यक्तिगत भोगाइ पनि जोडिएको छ।  

हेनिमेनले चिकित्सकको रूपमा कार्य गरिरहेकै अवस्थामा उनकी छोरी बिरामी परिन्। हेनिमेन आफैँ एक कुशल चिकित्सक भएकाले आफ्नी छोरीको उपचारमा कुनै कसर बाँकी राखेनन्। अफसोस, उनले छोरीलाई बचाउन सकेनन्। यस घटनाले उनी यतिसम्म दिक्कदार भए, तत्कालीन चिकित्सा पद्धति एलोप्याथीप्रतिको उनको मोह भंग भयो र आफ्नो काम नै छाडिदिए। त्यसपछि उनले विभिन्न भाषाका चिकित्सा एवं विज्ञानका पुस्तक अनुवाद गर्न थाले। उनलाई ग्रिक, ल्याटिन, अंग्रेजी, इटालियन, अरबी, स्पेनिस, फ्रेन्च, जर्मन, सिरियन, हिब्रु लगायत दश भाषामा राम्रो दख्खल थियो।  

सन् १७९० तिर, त्यसबेलाका नाम चलेका चिकित्सक कुलैनको ‘मेटेरिया मेडिका’ (औषधीय गुणसंग्रह) पुस्तकलाई अंग्रेजीबाट जर्मन भाषामा अनुवाद कार्य हेनिमेनको जीवनमा टर्निङ प्वाइन्ट बन्यो। एक स्वस्थ शरीरमा सिनकोनाको अर्क (एक्सट्राक्ट) को सेवन गर्नाले मलेरिया त होइन, तर मलेरियाकै ज्वरोको जस्तै लक्षण उत्पन्न गर्छ भन्ने कुराको उनलाई जानकारी भयो। जबकि सिनकोना मलेरिया ज्वरोको महत्वपूर्ण औषधि थियो। यस कुराको गुणदोषलाई पुष्टि गर्न उनी स्वयंले सिनकोनाको अर्क औषधि सेवन गरेका थिए। त्यसपछि उनले चिन्तन मनन गर्न थाले। यही क्रममा उनको मनमा एउटा विचार उत्पन्न भयो– सिनकोनाको जस्तै प्रकृतिप्रदत्त अन्य औषधिय पदार्थमा पनि रोगोत्पादक र विनाशक शक्ति अवश्य विद्यमान छ। 

यसका लागि उनले ६ वर्षसम्म अनवरत रूपमा विभिन्न प्रकारका औषधिको सेवन गरेर परीक्षण गरे। यसै परीक्षणले हेनिमेनलाई लाग्यो– जसले रोग उत्पन्न गर्दछ, उसैले रोग निको पनि पार्छ। त्यही औषधि त्यस्तै प्रकारको लक्षणयुक्त भएको रोगी व्यक्तिलाई (शक्तिकृत) रूपमा सूक्ष्म मात्रामा सेवन गराउनाले आरोग्य प्रदान गर्दछ। अनि उनले सदृश रोगको सदृश चिकित्सा भन्ने नयाँ सिद्धान्त प्रतिपादन गरे। त्यसपछि समानताले समानताको उपचारलाई व्यावहारिक र स्वाभाविक बनाए। त्यसपछि हेनिमेनले परीक्षण, अनुभव तथा शोध गरी रोगको स्थायी चिकित्सा विधि खोज गरे। त्यसपछि गएर जन्म भयो, ‘होमियोप्याथी।’  

सन् १८औँ शताब्दीको अन्ततिर प्रतिपादन भएको चमत्कारी वैज्ञानिक चिकित्सा विधि हो, होमियोप्याथी अर्थात् रोगको सदृश रूपमा चिकित्सा विज्ञान। सन् १७९६ मा जर्मनीको हुकेल्यान डे जर्नलमा हेनिमेनको निबन्ध प्रकाशित भयो। उक्त निबन्धले दिएको सन्देश चिकित्सा जगत्मा क्रान्ति थियो। त्यसपछि एलोप्याथिक चिकित्सकको एउटा समूह होमियोप्याथिक चिकित्सा सिद्धान्तलाई अंगीकार गर्न थाल्यो। एलोप्याथिक चिकित्सा छाड्ने लहर सिर्जना भयो। विश्वमा उनको विरोध गर्नेको संख्या पनि ठूलै थियो। सन् १८०५ ल्याटिन भाषामा उनको ‘फ्रागमेनटा डी भिरिबस’ पुस्तक प्रकाशित भयो।

सो पुस्तकमा उनले स्वस्थ मानिसको शरीरमाथि परीक्षण गरिएका २७ वटा औषधिको गुणदोषबारे विस्तृत रूपमा वर्णन गरेका थिए। जुन होमियोप्याथिक चिकित्साको पहिलो मेटेरिया मेडिका (औषधिय लक्षण संग्रह) पुस्तक थियो। सन् १८१० मा ‘आर्गेनन अफ मेडिसिन’ नामक ग्रन्थ पनि प्रकाशित भयो। जसमा होमियोप्याथीको मूलभूत सिद्धान्तको वर्णन गरिएको थियो। सो पुस्तकलाई आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ। यसलाई होमियोप्याथी को ‘गीता’ पनि भनिन्छ। उनको योगदान यतिमा मात्र सीमित छैन। स्मरण रहोस्, जुन चिकित्सा पद्धतिको आज बोलबाला छ। १७औँ शताब्दीसम्म त्यसको कुनै पहिचान अर्थात् नाउँ थिएन। सन् १७९६ तिर हेनिमेनले होमियोप्याथी नामक चिकित्सा पद्धतिको खोज गरे।

यसअघि एलोप्याथी चिकित्सा पद्धति प्रचलनमा आएको थियो, तर यसले वैश्विक पहिचान पाएको थिएन। विभिन्न देशमा यसलाई भिन्नाभिन्नै नाउँले सम्बोधन गरिन्थ्यो। अमेरिकामा यसलाई अस्टियो प्याथिक मेडिसिनको नाउँले चिनिन्थ्यिो। सन् १८१० मा होमियोप्याथीका जन्मदाता डा.हेनिमेनले यस पद्धतिलाई विपरीत चिकित्सा पद्धति भनेर (ऐलोप्याथी) नाउँ राखे। जसलाई वैश्विक रूपमै आज स्वीकृति पाएको छ। यसरी एलोप्याथिक नामाकरण गर्ने पहिलो व्यक्ति हेनिमेन हुन्। सन् १८१२ मा डा.हेनिमेनले लिपिजिग विश्व विद्यालयमा होमियोप्याथिक चिकित्साको अध्यापन नै गर्न थाले। तर, उनीविरुद्ध विभिन्न भ्रम फैलन छाडेन। यतिसम्म कि सन् १८२१ तिर हेनिमेनलाई देश निकाला नै माग गरियो। 

तत्पश्चात् उनी कोटेन नगरमा आश्रय लिन पुगे। त्यहाँ पुगेर उनले अर्को चमत्कार गरे, कोटेन नगरका तत्कालीन राजाको दुस्साध्य (क्रोनिक) रोग होमियोप्याथिक उपचारबाट सफलतापूर्वक निको पारिदिएर। त्यसपछि रोयल फिजिसियन (राज वैद्य) पदमा बहाल भई काम गर्न थाले। उनी चिकित्सा कार्यका लागि फ्रान्सको राजधानी पेरिस पुगे। सन् १८३० मा एकेडेमी अफ मेडिसिन नामक संस्थाको सचिव समेत बन्न सफल बने। त्यसपछि विश्वभर हेनिमेनको ख्याति फैलिन थाल्यो। त्यसपछि परिस्थिति यस्तो बन्यो कि जर्मनीबाट देश निकालाको माग गर्नेले नै आफ्नो भुलको पश्चाताप गरी हेनिमेनलाई स्वदेश फर्कन आह्वान गर्न थाले। २ जुलाई १८४३ मा डा.हेनिमेनको निधन भयो। त्यसपछि जर्मनीको लिपिजिग नगरमा उनको पित्तलको भव्य प्रतिमूर्ति स्थापना गरियो। होमियोप्याथिकको जन्मदाताका रूपमा उनी सदा अमर रहिरहनेछन्। १० अप्रिल लाई उनकै स्मरणमा विश्व होमियोप्याथिक दिवस मनाइन्छ। यसपालि विश्वले २६६औँ विश्व होमियोप्याथिक दिवस मनाउँदैछ।

प्रकाशित: २७ चैत्र २०७७ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App