१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

विप्रेषणको फलदायी प्रयोग

विदेशमा स्थायी बसोबास गर्ने मानिस वा कामदारका रूपमा काम गर्न गएको व्यक्तिले स्वदेशमा आफ्नो घरपरिवारलाई आफूले कमाएको आम्दानीलाई मुद्रा वा वस्तुका रूपमा पठाउने कार्य गर्छ। त्यो नै विप्रेषण हो।विकासोन्मुख मुलुकमा विप्रेषणबाट प्राप्त आम्दानीले वैदेशिक मुद्रा आर्जनको स्रोत वृद्धि गरेको छ। विप्रेषणबाट प्राप्त आम्दानीलाई स्वदेशमा स्थानीय मुद्रामा भुक्तानी गरिन्छ। जसका कारण विप्रेषण आम्दानी वृद्धि हुँदै जाँदा राज्यको चालु खातामा वैदेशिक मुद्राको सञ्चिती बढ्छ। राज्यको चालु खातामा वृद्धि हुँदै गएको वैदेशिक मुद्रा सञ्चितिलाई मात्र आधार बनाएर विप्रेषणको आर्थिक वृद्धिमा सकारात्मक भूमिका रहन्छ भन्ने निष्कर्षमा पुग्दा त्यो गलत हुन्छ। विप्रेषण आम्दानीको उत्पादक प्रयोगले मात्र आर्थिक वृद्धिलाई सघाउँछ। अतः विप्रेषण आम्दानी प्राप्त गर्ने व्यक्ति परिवारले उक्त आम्दानीको उल्लेख्य हिस्सा लगानी गर्ने वातावरणको सिर्जना अर्थ व्यवस्थामा हुनु जरुरी छ। विप्रेषण आम्दानीलाई लगानीमा रूपान्तरण गर्ने वातावरण नहुँदा यसले पुँजीगत सञ्चिती वृद्धिमा योगदान गर्दैन। विप्रेषणको योगदान पुँजीगत सञ्चिती वृद्धि नभएसम्म आर्थिक वृद्धिमा यसको कुनै भूमिका रहँदैन। केही अर्थविद् तथा विकासवादीहरूले विकासोन्मुख तथा अति कम विकसित मुलुकहरूको सन्दर्भमा विप्रेषण आयलाई आर्थिक विकासका लागि जीवन रेखाका रूपमा चित्रित गरेका छन्। तथापि उक्त दृष्टिकोण यस्ता मुलुकहरुको सन्दर्भमा ठीक विपरीत रहेको कुरा यस्ता मुलुकमा प्रवाह भएको विप्रेषण र यसको प्रयोग भइरहेको प्रकृतिको अध्ययनबाट प्रष्ट हुन्छ। 
सरसर्ती हेर्दा आफ्नो आन्तरिक अर्थव्यवस्थामा रोजगारीका चुनौती थपिँदै गएका, थप रोजगारी सिर्जना गर्न नसकेका, विकासोन्मुख तथा अति कम विकसित राष्ट्रहरुमा विप्रेषण आम्दानी दिन प्रतिदिन वृद्धि भएको देखिन्छ। यस्ता मुलुकले मुलुकमा विद्यमान गरिबी, अस्थिरता तथा सामाजिक विभेदको विद्यमान अवस्थालाई सम्बोधन गर्न नसक्दा नै आन्तरिक अर्थव्यवस्थामा नयाँ रोजगारीहरु सिर्जना गर्न चुकेका देखिन्छन्। यसै कारण यस्ता कतिपय मुलुक दीर्घकालीन आन्तरिक गृहकलह तथा गृहयुद्धमा फसेका पनि छन्। यसबाहेक कतिपय अल्पविकसित मुलुकमा आन्तरिक अर्थव्यवस्थामा देखापरेको चरम राजनीतिक अस्थिरता, बेरोजगारी, कालोबजारी, आय तथा धनको चुलिँदो असमानता आदिलाई सम्बोधन गर्न नसक्दा गृहकलह चर्किएका छन्। जसका कारण देशमा कलह हुँदा स्थापित उद्योगधन्दासमेत बन्द भएका छन् भने नयाँ औद्योगिक संरचना निर्माण भएका छैनन्। जसले आन्तरिक रोजगारी सिर्जनामा थप जटिलता थपिएको छ। एकातर्फ यसले जनताको आक्रोश बढाएको छ भने अर्कोतर्फ काम र मामकै खोजीमा ठूलो जनशक्ति मुलुकबाट विदेशिनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ। धेरै मानिस कामका लागि बाहिरिने प्रवृत्तिका कारण नै विप्रेषणको मात्रा यस्ता मुलुकमा प्रतिवर्ष चुलिँदै जाने क्रम देखा परेको हो। प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको विप्रेषण आम्दानीले बवदेशिक मुद्रा आर्जनको स्रोत वृद्धि भएका छ। बढ्दो विप्रेषण आम्दानीले अर्थव्यवस्थाको चालु खातामा वैदेशिक मुद्रा सञ्चिती वृद्धि गरे पनि विकासोन्मुख मुलुकहरुमा विप्रेषण आम्दानीको ठूलो हिस्सा केबल आयातित उपभोग्य वस्तुहरुको प्रयोगमा नै खर्च भइरहेको देखिन्छ। विप्रेषण आम्दानीको अत्यधिक मात्रा उपभोगमा खर्च हुँदा यसले अर्थव्यवस्थाको खुद मूल्य वृद्धिमा खासै योगदान गर्दैन। साथै आर्थिक विकासमा पनि योगदान हुँदैन। विकासोन्मुख तथा अति कम विकसित मुलुकमा विप्रेषण आम्दानी प्राप्त गर्ने व्यक्ति वा परिवारको सामाजिक तथा आर्थिक जीवनस्तरमा सुधार गर्न भने यो सहयोगी देखिएकेा छ। तथापि यस्तो आम्दानीको प्राप्तिले आम्दानी प्राप्त गर्ने व्यक्ति तथा परिवारमा परनिर्भरता वृद्धि हुँदै गएको छ। उक्त आम्दानी प्राप्तिकै कारण आम्दानी प्राप्त गर्ने व्यक्ति वा परिवारको स्वदेशमा उत्पादन क्षेत्रमा देखिएको निष्त्रि्कयता भने दीर्घकालीन आर्थिक वृद्धि र विकासको सन्दर्भमा कुनै पनि मुलुकका लागि दुर्भाग्यपूर्ण हो। 
नेपाली अर्थव्यवस्थामा विप्रेषण आम्दानीको सुरुवात बेलायती सेनामा भर्ती भई आम्दानी प्राप्त गरेका नेपाली सेनाहरुको गोरखा विप्रेषणबाट सुरु भएको हो। वर्तमान समयमा नेपालीहरु कामको सिलसिलामा विश्वका विभिन्न मुलुकमा जाने क्रम बढेको छ। रोजगारीका लागि विदेशिने क्रम बाक्लिँदै जाँदा विप्रेषणबाट प्राप्त हुने आम्दानीको हिस्सा पनि नेपालको कुल गार्हस्थ्य उत्पादनमा बढ्दै गएको छ। सन् १९९५ भन्दा अगाडि विप्रेषणकेा हिस्सा नेपालको कुल गार्हस्थ्य उत्पादनमा वर्तमान समयको भन्दा तीन गुणा कम थियो। यसको प्रमुख कारण अधिराज्यका विभिन्न क्षेत्रमा साना तथा घरेलु उद्योगहरु सञ्चालित थिए। मानिस आन्तरिक ग्रामीण अर्थतन्त्रमा क्रियाशील रहने अवस्था विद्यमान थियो। जब सन् १९९५ भन्दा पछाडि मुलुकमा द्वन्द्वको अवस्था सिर्जना भयो यसले क्रमशः मुलुकका ग्रामीण क्षेत्रमा क्रियाशील साना तथा घरेलु उद्योग धन्दाहरु धरासायी हुँदै गए। द्वन्द्वकै कारण सर्वसाधारण मानिस ग्रामीण क्षेत्रमा बस्न नसक्ने परिस्थिति सिर्जना हुँदा ग्रामीण अर्थतन्त्रको आर्थिक गति नै बन्द हुन पुग्यो। दिनानुदिन बढ्दो असुरक्षा र बेरोजगारीका कारण मुलुकबाट विदेशी मुलुकहरुमा कामको खोजीमा विदेशिनेहरुको संख्या पनि तीव्र हुँदै जान थाल्यो र यो क्रम वर्तमान समयसम्म पनि निरन्तर नै छ। यसै कारणले नेपालमा विप्रेषणबाट प्राप्त आम्दानीमा पनि सन् १९९६ पछि क्रमिकरूपमा वृद्धि हुँदै गएको छ। सन् २००५ मा माओवादी युद्धविराम भई शान्ति प्रक्रियामा आइसकेपछि आर्थिक रूपान्तरणका लागि मुलुकमा खासै नयाँ उत्पादन क्षेत्र केन्द्रित उद्योगधन्दाहरुको कुनै विकास गर्न सकिएको छैन। जसले गर्दा वर्तमान समयसम्म पनि अन्तरिम संविधानपछिका ६ वर्षसम्म पनि रोजगारीका कुनै अवसर सिर्जना गर्न नसकिनाले दिनानुदिन नेपालबाट श्रमका लागि विभिन्न मुलुकमा कामका लागि निस्कने नेपाली कामदारहरूको दैनिक संख्या १ हजारभन्दा माथि रहेको देखिन्छ। यसैकारण वर्तमान समयको नेपाली अर्थतन्त्रमा विप्रेषणबाट प्राप्त आम्दानीको हिस्सा कुल आम्दानीको करिब २५.७ प्रतिशत रहेको छ भने चालु वर्षको प्रथम आठ महिनाको लागि उक्त आँकडा २९.१ प्रतिशत रहेको देखिन्छ। जुन विश्वका धेरै विप्रेषण प्राप्त गर्ने विकासोन्मुख मुलुकहरूको पाचौँ स्तरमा रहेको देखिन्छ। 
नेपाली अर्थतन्त्रमा दिनानुदिन बढ्दै गएको विप्रेषण आम्दानीले अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादनमा ठूलो स्थान ओगटे पनि उक्त आम्दानी नेपाली अर्थतन्त्रको आर्थिक वृद्धिका लागि भने त्यति फलदायी देखिन सकेको छैन। यसको प्रमुख कारण विप्रेषणबाट प्राप्त आम्दानीको ठूलो भाग करिब ९० प्रतिशतभन्दा बढी आम्दानी प्राप्त गर्ने व्यक्ति वा परिवारले आयातित वस्तुको उपभोगमा अनुत्पादक ढङ्गले खर्च गर्ने अवस्था विद्यमान रहनु हो। नेपाली अर्थव्यवस्थामा प्राप्त हुने विप्रेषण आम्दानी मुख्यतः तीन प्रकृतिको देखिन्छ। पहिलो, भारतबाट प्राप्त हुने विप्रेषण, जसबाट प्राप्त हुने कुल विप्रेषणको करिब ९८ प्रतिशत आम्दानी परिवारको उपभोगमा नै खर्च भइरहेको छ। दोस्रो मध्य पूर्वबाट प्राप्त विप्रेषण आम्दानी, जसको ठूलो हिस्सा विदेश जाँदाका बेला गरेको ऋण सापटी तिर्न, परिवारको भरणपोषण, छोराछोरीको शिक्षा–दीक्षा तथा अन्य खर्चको समायोजनमा नै खर्च भइरहेको देखिन्छ। तेस्रो बेलायत तथा अन्य पश्चिमा मुलुकहरूबाट प्राप्त हुने विप्रेषण आम्दानी, जसको उल्लेख्य प्रतिशत आम्दानी केबल विलाशिलताका वस्तुहरू उपभोगमा खर्च भइरहेको छ। यसबाट के प्रष्ट हुन्छ भने विप्रेषण आम्दानीको योगदान अर्थव्यवस्थाको खुद मूल्य जोडमा निष्प्रभावी देखिन्छ। फलतः अर्थतन्त्रले विनासित्तीमा ठूलो ऊर्जावान जनशक्तिलाई दिनानुदिन गुमाउँदा उत्पादनका लागि आवश्यक जनशक्तिको अभाव झेल्नुपर्ने परिस्थिति सिर्जना हुन पुगेको छ। 
अतः नीति निर्माण तहमा बसेर काम गर्ने व्यक्ति तथा नेपाल सरकारले के बुझ्नु जरुरी छ भने केबल विप्रेषण आम्दानीको मात्रामा हुने वृद्धिले हाम्रो विकासलाई टेवा पुर्यारउन सक्तैन। यसका लागि त प्राप्त विप्रेषण आम्दानीलाई स्वदेशमा स्वदेशीय वस्तु तथा सेवाको उत्पादनमा लगाउने वातावरण निर्माण हुनुपर्छ। यसो हुँदा मात्र प्राप्त विप्रेषण आयले हाम्रो अर्थतन्त्रको खुद आर्थिक वृद्धिमा मूल्य जोड गर्छ। बेलैमा सरकारले विप्रेषण आम्दानी प्राप्त गर्ने व्यक्ति वा परिवारलाई निश्चित योजनासहित उक्त आम्दानी केवल सामाजिक स्तर परिवर्तनका लागिमात्र प्रयोग नगरी आर्थिक उत्पादन र वृद्धिका लागि प्रयोग गर्न उत्साहित गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ। यसो भएमात्र विप्रेषण आम्दानीको फलदायी प्रयोग भई समग्र अर्थव्यवस्थाकै विकासका लागि टेवा पुर्यारउन सकिन्छ।

प्रकाशित: ७ भाद्र २०७१ २२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App