१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

नेपाली कम्युनिस्ट : कुहिरोको काग

नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक साम्यवादी समाज निर्माणसम्मको लक्ष्य बोकेका नेपाली कम्युनिस्ट पार्टीहरू यतिखेर आफ्नो रणनीतिक लक्ष्य प्राप्तिभन्दा अन्तरपार्टी संघर्ष र त्यसको व्यवस्थापनमै अल्झेका छन्।सानाठूला गरी दर्जनको हाराहारीमा रहेका कम्युनिस्ट पार्टीमध्ये ठूलाहरू आपसी मतभेद, व्यक्ति–व्यक्तिबीचको टकराव र नेतृत्व हत्याउने होडवाजीमै व्यस्त छन्। साना कम्युनिस्ट पार्टीहरूको हालत केही फरक देखिन्छ। सानालाई सांगठनिक अस्तित्व कसरी जोगाउने चिन्ता छ। तिनीहरू रक्षात्मक अवस्थामा देखिएका छन्। यिनीहरूबाहेक कुनैकुनै साना आकारका पार्टी नेतृत्वमा संकीर्ण–साँघुरोमन रहेको र कार्यकर्ताको क्षमता–योग्यता कमजोर र आवश्यकताको जाँच गर्ने फराकिलो विधि छैन। त्यसैले भुँई तहमा पार्टीहरू विस्तार हुन सकिरहेका छैनन्। 
यता जनताको अवस्था भने विलकुलै फरक छ। नेपाली जनता राजनीतिक संक्रमणकालबाट छुटकारा पाउन तडि्परहेका छन्। ऐतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न आतुर रहेको छन् जनता। अर्कोतिर कम्युनिस्ट पार्टीहरू ऐतिहासिक जिम्मेवारी पूरा गर्ने र रणनीतिक लक्ष्यको कार्यनीति छाडेर संगठनमा ब्यक्ति वर्चश्व स्थापित गर्न सक्रिय छन्। जीवनकै अन्तिम घडीसम्म पनि बागडोर आफ्नै हातमा राख्ने अधिनायकवादी प्रवृत्तिका कारण नेपाली कम्युनिस्ट पार्टीको रणनीतिक लक्ष्य अलमलिएको छ। 
२०४६ पछिको जनआन्दोलनबाट नेकपा (माले) हुँदै प्रकारान्तरले ठूलो कम्युनिष्ट पार्टी हुन पुगेको नेकपा एमाले संविधान निर्माणको ऐतिहासिक कार्याभार पूरा गर्नेतिरभन्दा गुट निर्माण गर्ने र पार्टी कब्जा गर्नमै व्यस्त छ। भर्खरै सम्पन्न महाधिवेशनमा यही प्रवृत्ति देखियो। महाधिवेशनमा राजनीतिक मतभिन्नता, फरक नीति र कार्यक्रमको आधारमा नभई कुन नेताले कति कार्यकर्तालाई साम, दाम, दण्ड र भेदका आधारमा कब्जा गर्ने भन्ने होड देखियो। एमालेले कम्युनिस्टको रणनीतिक लक्ष्य र नेपाली क्रान्तिलाई परित्याग गरेको सार्वजिक घोषणाका साथ नवौं महाधिवेशन सम्पन्न गर्योत। 
नयाँ जनवादी क्रान्तिको कार्यादिशालाई मदनकालमै पोको पारेर छानोमुनि सिउरिसकेको एमाले मार्क्सवादलाई देशकाल परिस्थिति अनुसार सृजनात्मक ढंगले प्रयोग गर्ने नाउमा 'जनताको बहुदलीय जनवाद'को भुत्तो क्रान्तिकारी हतियार बोकेर हिड्यो। यो दल पूर्णरुपमा यसअघि नै संसदीय भासमा फसिसकेको हो। बुर्जुवा पुँजीवादी धारमा लहस्सिँदै गएको एमालेले नेपाली श्रमजीवी, सर्वहारा वर्गको नारा र झण्डालाई आवरण बनाउँदै सामन्तवादी चरित्र, दक्षिणपन्थी पुँजीवादी चरित्र र यथास्थितिवादलाई ढाक्दै आएको छ। कम्युनिस्ट पार्टीको झन्डामुनि सुरक्षित हुँदै आएका घरेलु सामन्तवाद, चरित्र दक्षिणपन्थी भएका, यथास्थितिलाई नै कायम राख्न चाहनेहरू र कांग्रेस बन्न लाज मान्नेकै भरथेगमा यस पटकको संविधानसभा निर्वाचनमा एमाले फुकेको हो। संसदीय निर्वाचनलाई मात्र सवथोक ठान्ने एमालेले राजनीतिक क्रान्ति सम्पन्न भैसकेकोले मुलुक अव अर्धऔपनिवेशिक र अर्धसामन्ती चरित्रको नरहेको घोषणा गरेको छ। अर्थातः एमाले नवौं महाधिवेशनबाट भाइ कांग्रेस बनेको छ। एमाले नवौं महाधिवेशनबाट कम्युनिस्ट पार्टी रहेन। विधानबाटै साम्यवाद हटाएर महाधिवेशन उद्घाटन सत्रमा अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताहरूको फोटो समेत नराखी एमाले कम्युनिस्ट हैन भनेर देश र दुनियाँलाई प्रष्ट पारेको छ। 
त्यस्तै २०५२ साल फागुन १ गतेदेखि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे मागपत्र पेश गर्दै दुई नाल भरुवा बन्दुक बोकेर जंगल पसेका माओवादीे एमाओवादी हुँदै २०६२/०६३ को जनआन्दोलन पछि संख्यात्मक रुपमा सबै भन्दा ठूलो पार्टी बन्न पुग्यो। व्यक्तिगत रिसइवी, चन्दा नदिएको झोंकमा हत्या गर्दै आतंक फैलाएका भरमा क्रान्तिकारी बनेको पार्टी हो यो। गाउँघरमा जड्या, जुवाडेलाई भाटे कारवाही गरेको भरमा सामाजिक रुपान्तरण गरेको भन्ने माओवादी सशस्त्र आन्दोलन एमाले–कांग्रेसको सरकारी रवैयाकै कारण फस्टाएको थियो। २०४६ पछि पालैपालो सरकारको नेतृत्व गरेका एमाले–कांग्रेस गुटगत स्वार्थ, सत्ता टिकाउने र गिराउने खेलमा मात्र अभ्यस्त रहे। नेपालीको जनजीविकामा कुनै परिवर्तन भएन। महँगी, भ्रष्टचारको शिकार बन्नु नेपाली जनताको नियति बन्यो। पिछडिएको वर्ग, महिला, मधेशी, आदिवासी, जनजाति, सर्वहारा वर्गमा बहुदलीय व्यवस्था प्रति नै वितृष्णा बढ्नुको कारण यही थियो। यही मनोविज्ञानलाई मध्यनजर गर्दै 'जनयुद्ध' थालेको माओवादीलाई जनताको बहुदल प्रतिको वितृष्णा र पूर्व राजा ज्ञानेन्द्रको महत्वकांक्षी कदमले मलजल गर्योल। त्यतिखेर माओवादीप्रतिको आकर्षण नयाँ जनवादी क्रान्ति सम्पन्न गर्छ भनेर भएकै थिएन। आर्थिक, सामाजिक, भौगोलिक रुपमा शोषित–पीडित दुरदराजका जनता सुद्खोर, जुवाडे र जड्या पति र छोराहरूलाई गरेको भाटे कारवाही, तमसुक च्यात्ने र पर्ती जग्गा कब्जा गराउने अभियानबाट मात्र उनीहरूप्रति आकर्षण बढेको थियो। त्यही आकर्षणलाई उपयोग गर्दै माओवादीले उग्रवाम भड्काव, जातीय–क्षेत्रीय विखण्डनको बीष छर्दै गए। स्वतन्त्रता र मुक्तिको नाममा जातीय, क्षेत्रीय भड्काउमा लागेको माओवादी पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन गर्ने महत्वकांक्षी कदमका कारण खुल्ला राजनीतिक धरातलमा अवतरण गर्न सफल भयो। त्यहीकारण राजतन्त्र विरुद्धको २०६२/०६३ को खुल्ला जनआन्दोलनको हिस्सेदार बन्ने अवसर प्राप्त गरेको सत्यता कसैले नकार्न सक्दैन। 
पार्टीको जनवर्गीय, पेशागत, सामुदायिक संगठनहरूमा क्रान्तिकारी पदावली झुण्ड्याउने एमाओवादीले आफ्ना अराजक र अस्तव्यस्त संगठनलाई व्यवस्थित गर्ने नाममा सांगठनिक सम्मेलन गरे पनि त्यसभित्रको किचंगल साम्य हुन सकेन। पार्टीको नाम एउटै भए पनि व्यवहार र सिद्धान्तमा दुइ/तीन टुक्रा बाँढियो। त्यसकारण एमालेजस्तै एमाओवादी पनि रणनीतिक लक्ष्य प्राप्तिको कार्यायोजना र कार्यनीति परित्याग गर्दै पार्टी कब्जा गर्ने, बढीभन्दा बढी कार्यकर्ता आफ्नो गुटमा भित्र्याउने र एकाधिकार जमाउनेे होडमै व्यप्त रह्यो। 
नेपाली जनता एमाले–माओवादीबाट कम्युनिस्टहरूको रणनीतिक लक्ष्य प्राप्त नहनुे कुरामा प्रस्ट छन्। एमालेले जस्तै एमाओवादी पनि नयाँ जनवादी क्रान्ति सम्पन्न भैसकेको वकालत गरिरहेको छ। र, नेपाली समाजको चरित्र अव अर्धऔपनिवेशिक अर्धसामन्ती रहने भनिरहेको छ। एमाले र एमाओवादीको यही विश्लेषणले कम्युनिस्ट आन्दोलनलाई निस्तेज बनाउँदैछ। मुलुक गणतन्त्रमा प्रवेश गरेपछि नीतिगत रुपमा नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक जस्तो नदेखिए पनि व्यवहारमा नेपाली समाजको चरित्र अझै अर्धसामन्ती र अर्धऔपनिवेशिकै छ। सन् १९२६ मा नै माओले चीनलाई अर्धसामन्ती र अर्धऔपनिवेशी चरित्रको भनेर व्याख्या गरेका थिए। त्यसलाई सन् १९४९ तिर दस्तावेजीकरण गरेको हामीले पढ्ने गरेका छौं। त्यस्तै ४२१ वर्ष अघिनै नेपाली समाजको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक भएको विश्लेषण पुष्पलालले गरेका थिए। अहिले पनि नेपाली समाजको चरित्रमा आमूल परिवर्तन भएको छैन। हो, पक्कै पनि राजनीतिक परिवर्तनहरू भएकै हो। तर, नेपाली समाजको सामाजिक, आर्थिक सांस्कृतिक रुपान्तरणमा मात्रात्मकबाहेक गुणात्मक परिवर्तन भएको छैन। २०६२/०६३ सम्मको राजनीतिक परिवर्तनले अर्धसामन्ती, अर्धऔपनिवेशिक प्रवृत्ति केही कमजोर त भएको छ तर त्यो परिवर्तनले मात्र माग परिवर्तन भएको छ गुणात्मक फड्को मार्न सकेको छैन। आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा गुणात्मक परिवर्तन नहुन्जेल नयाँ जनवादी क्रान्ति पूरा भएको मानिने छैन। 
साना कम्युनिस्ट पार्टीहरूमा राजनीतिक लक्ष्य प्राप्तिका केही हदसम्म प्रष्ट देखिए पनि रणनीतिक लक्ष्य प्राप्तिको कार्यदिशा कार्यान्वयनका लागि अधि बढ्न सक्ने सांगठनिक आधार छैन। नेपाली सर्वहारा, श्रमजीवी, उत्पीडित वर्गले सोचेको वैज्ञानिक साम्यवादसम्म पग्ने रणनीतिक लक्ष्य ठूला कम्युनिस्ट पार्टीले अलपत्र छाड्दै गए भने साना पार्टीहरू त्यसलाई बोक्न र थेग्न अवस्थामा कहिले पुग्ने हो ठेगान छैन। त्यसैले कम्युनिष्ट पार्टीको रणनीतिक लक्ष्य कुहिरोको काग जस्तै बनेको छ।
सचिव, नेकपा (माले) बारा

प्रकाशित: २३ भाद्र २०७१ २०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App