१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

जाडोमा ब्रेनस्ट्रोक र हृदयघात

कोरोनाको समयमा आममानिस पनि आफ्नो स्वास्थ्यप्रति सचेत भइसकेका छन् तर कोरोनाको खतरा कम हुनेबित्तिकै हाम्रो लापरबाहीले स्वास्थ्यमा धेरै खतरा निम्त्याउन सक्छ। जाडो याममा ब्रेन स्ट्रोक र हृदयघातको जोखिमबाट बच्न वयस्कहरूले पनि आफनो जीवनशैलीमा केही अत्यावश्यक कुरामा ध्यान दिनुपर्ने हुन्छ।

‘सामान्यतया हामी जाडोको दिनमा जे खान्छौँ, पिउँछौँ, सबै पच्छ भन्ने विश्वास गर्छौँ र यही विश्वासका कारण हाम्रो खानपान अनियमित वा असन्तुलित हुन्छ। यो निश्चितताको कारण, धेरै पटक हामी सानातिना स्वास्थ्य समस्यालाई बेवास्ता गर्छौँ। जुन कहिलेकाहीँ गम्भीर अवस्थाको संकेत पनि हुन सक्छ।

जाडोयाममा हामी कम पानी पिउने गर्छौँ, शरीरमा वाष्पीकरणको प्रक्रिया जारी रहन्छ, त्यसैले पानी र गर्मी नियन्त्रण गर्ने कार्यले गर्दा रगत केही बाक्लो हुन्छ, जसका कारण रक्तचाप बढ्ने सम्भावना रहन्छ। साथै, स्वास्थ्य बढाउनका लागि धेरै बोसो र क्यालोरीयुक्त खाना उपभोग गर्दा कोलस्ट्रोल धेरै छिटो बढ्न सक्छ, जसले रक्त प्रवाहमा अवरोध उत्पन्न गर्न सक्छ।

त्यस्तो अवस्थामा यदि तपाईँलाई अचानक शरीरको कुनै भाग केहीबेरका लागि सुन्न वा कमजोर भएको महसुस भयो भने चक्कर लाग्ने वा टाउको दुख्ने, आँखाअगाडि अँध्यारो हुने वा बोल्दा आवाज लर्बराउनु वा अनुहारको कुनै भाग बाङ्गो भयो, यी सबै वा यीमध्ये कुनै पनि लक्षण एक या दुई मिनेटका लागि देखिन्छ। त्यसपछि फेरि सबै सामान्य देखिन्छ भने तिनीहरूलाई बेवास्ता गर्नुहुँदैन। किनकि यो मस्तिष्कको कुनै पनि भागमा भएको हलचलको संकेत हुन सक्छ। यस्तो स्थितिमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ।  

हाम्रो मस्तिष्कको कुनै पनि रक्तनलीमा क्लट (रगत जम्नु) भएमा वा त्यो भागमा रगतको सञ्चार कम भएमा त्यस भागसँग जोडिएको शरीरको अंगको काम पनि प्रभावित हुन जान्छ। मेडिकल भाषामा यसलाई ब्रेन स्ट्रोक भनिन्छ। यसबाट गर्मीमा भन्दा जाडोयाममा धेरै मानिस प्रभावित हुन्छन्। ब्रेन स्ट्रोक अर्थात मस्तिष्कमा प्रहार मस्तिष्कभित्र रक्तनलीमा आएको परिवर्तनको प्रभाव हो न कि बाहिरी कुनै चोट वा दुर्घटना।

त्यसैले प्रायःजसो जानकारीको अभावमा यसका संकेतहरूलाई अक्सर बेवास्ता गरिन्छ। व्यक्तिको शरीरको कुनै एक भाग (लकवा) मा पक्षाघात जस्तो अवस्था हुन सक्छ। ब्रेन स्ट्रोक भएपछि बिरामी अशक्त (विकलांग) हुन सक्छ वा देख्ने वा सुन्न सक्ने क्षमता गुमाउन सक्छन्। मधुमेह र मुटुका बिरामीले जाडोयाममा विशेष ख्याल गर्नुपर्छ।

रक्तनलीको भित्री पर्खालमा अत्यधिक बोसो जम्मा भएर त्यहाँ रगत प्रवाहमा अवरोध उत्पन्न भएमा इस्केमिक वा रक्तचाप बढेपछि ब्रेनभित्रका नलीहरू लिकेज हुनाले ब्रेन हेमरेज हुन सक्छ। यी दुवै अवस्थामा व्यक्तिलाई एक घण्टाभित्र अस्पताल लैजानु आवश्यक हुन्छ। बिरामीको सिटीस्क्यान परीक्षण आवश्यक हुन्छ ताकि उसलाई थप क्षतिबाट प्रभावकारीरूपमा सुरक्षित गर्न सकिन्छ।

त्यस्ता बिरामीका लागि २ देखि ३ दिनसम्म सम्बन्धित चिकित्सकको निगरानीमा नियमित चिकित्सा निकै महत्वपूर्ण हुन्छ। जानकारीको अभावमा मानिसले यसलाई हृदयघात जत्तिकै गम्भीररूपमा लिँदैनन् जबकि यो त्यो भन्दा गम्भीर समस्या हो। एक अध्ययनले पत्ता लगाएको छ कि प्रत्येक छैटौँ सेकेन्डमा एक व्यक्तिको ((मस्तिष्क घात) ब्रेन स्ट्रोकबाट मृत्यु हुन्छ। छिमेकी मुलुक भारतमा हरेक वर्ष करिब १६ लाख मानिस यस रोगको सिकार हुन्छन्।

के सावधानी अपनाउने?

उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोलका बिरामीले नियमितरूपले आफ्ना औषधि सेवन गर्ने। समय–समयमा चेकअप गराउनुपर्छ। साथै तनावमुक्त रहनुपर्छ। सही एवं सन्तुलित आहार लिनुपर्छ, नियमित व्यायाम गर्नुका साथे शारीरिक गतिविधिमा जोड दिनुपर्छ। चुरोट–सुर्ती, रक्सी वा अन्य नशालु पदार्थको बानीबाट टाढा रहनुहोस्। खानामा तारेको, भुटेको वा स्याचुरेटेड फ्याट, जस्तै– वनस्पति घिउ, डालडा आदि खानामा प्रयोग नगर्नुहोस्। पर्याप्त पानी (कमसेकम १२ गिलास) पिउनुहोस्। जाडोमा मनतातो पानी पनि पिउन सकिन्छ।

अत्यधिक चिसो वा बिहान–बिहान सबेरै हिँड्ने नगर्नुहोस्। घाम लागेमा बाहिर निस्कनुहोस्। कान छोप्नुहोस् किनकि नाक र कानबाट चिसोको प्रभाव प्रत्यक्ष हुन्छ। नुहाउँदा मनतातो पानीमात्र प्रयोग गर्नुहोस्। धेरै चिसो वा तातो दुवै पानीले नुहाउँदा शरीरको तापक्रम नियन्त्रण गर्न केही समय लाग्छ।

नुहाउँदा पहिले खुट्टामा, त्यसपछि शरीरको माथिल्लो भागमा र अन्त्यमा टाउकोमा क्रमशः पानी हालेर नुहाउनुहोस्। त्यसैगरी, बिहान ओछ्यानबाट तुरुन्तै नउठ्नुहोस्, केहीबेर बस्नुहोस्, हात–खुट्टा माडेर अनुहारमा हात राख्नुहोस् र केही समयपछि मात्र ओछ्यानबाट बाहिर निस्कनुहोस्।

प्रकाशित: १२ माघ २०७८ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App