१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

होमियोप्याथी: जन्मदेखि अहिलेसम्म

होमियोप्याथी अर्थात रोगको सदृश चिकित्सा विज्ञान १८औँ शताब्दीको अन्ततिरको एउटा चमत्कारी तर वैज्ञानिक चिकित्साजगत्को उपलब्धि डा. ललितकुमार मिश्र  हो।

जीवनको उत्पत्ति सँगसँगै रोगको पनि जन्म भयो। यी दुवै सँगै हुर्के र सँगै खेले। मौका छोपी एकले अर्कालाई पछार्ने कार्य गर्दै आए र गर्दैछन्। तर मानिस प्रकृतिको सर्वश्रेष्ठ बौद्धिक प्राणी भएकाले लामो समयसम्म यस सांसारिक यात्रामा स्वस्थ भई संलग्न रहने उद्देश्यले रोगोपचारका विधिहरूको खोजीमा लाग्यो।

फलस्वरूप अहिले विश्वमा रोगोपचारका विभिन्न पद्धति विकास र प्रयोग भइरहेको छ। इतिहासमा केही चिकित्सा पद्धति सामाजिक स्वीकृतिको अभावमा अस्तित्व गुमाउँदै लोप भए भने केही उपचार विधि आफ्नो मौलिक गुण र विशिष्टताका आधारमा लोकप्रिय भए। त्यसमध्ये एक हो–होमियोप्याथी।

होमियोप्याथी विश्वमा स्थापित चिकित्सा पद्धतिहरूमा दोस्रो स्थानमा छ। यो लोकप्रिय एवं जनमानसमा स्वीकार गरी अपनाएको पद्धति हो। जुन लगभग २०० वर्षभन्दा बढी समयदेखि जनस्वास्थ्यको विषय बनेको छ। सन् १७५५ अप्रिल १० मा जर्मनीको माइसेन सहरमा होमियोप्याथीका जन्मदाता क्रिस्चियन फेड्रिकसेमुअल हेनिमेनको जन्म भएको थियो। यिनका पिता बहुतै गरिब थिए।

चिनियाँ माटो (सेरामिक) का भाँडामा बुट्टा हाल्ने (चित्रकारी) काम गरेर आफ्नो परिवारको पालनपोषण गर्थे। गरिबीका कारण हेनिमेनको बाल्यकाल संघर्षमा बित्यो। अध्ययनका लागि साह्रै दुःख गर्नुपर्‍यो तर हुने बिरुवाको चिल्लो पात भनेझैँ कुशाग्र बुद्धि र तीव्र प्रतिभाका धनी हेनिमेनले २४ वर्षको उमेरमा एलोप्याथीमा (एम.डी.) उपाधि हासिल गरे।

त्यसपछि ड्रेसडेनको अस्पतालमा सिभिल सर्जनको पदमा रही काम गर्न थाले। दस वर्षसम्म यिनले अस्पतालमा सेवा गरे। डा. हेनिमेन आफ्नो समयको चिकित्सा प्रक्रियाप्रति सहमत थिएनन्। तीतो कष्टकारी एवं विपरित प्रतिक्रिया उत्पन्न गर्ने औषधिहरूबाट एउटा रोगको उपचार हुनुका साथै शरीरमा कैयौँ नयाँ–नयाँ रोग उत्पन्न भइरहेका थिए।

यसैबीच उनकी छोरी बिरामी भइन्। राम्रो भन्दा राम्रो उपचार गरियो। तर छोरीलाई बचाउन सकेनन्। यस घटनाले उनको तत्कालीन चिकित्सा पद्धतिप्रति मोहभंग हुन गयो। यी सबै कुराबाट दिक्दार हेनिमेनले (एलोप्याथी) चिकित्सा छाडिदिए। हेनिमेन जीविकोपार्जनका लागि चिकित्सा एवं विज्ञानका पुस्तकहरूको विभिन्न भाषामा अनुवाद गर्ने कार्य गर्न थाले।

उनलाई ग्रिक, ल्याटिन, अंग्रेजी, इटालियन, अरबी, स्पेनिस, फ्रेन्च, जर्मन, सिरियन, हिब्रुसमेत गरी दश भाषाको ज्ञान थियो। सन् १७९० मा डा. कुलेनको मेटेरियामेडिका (औषधीय गुण संग्रह पुस्तक) को अंग्रेजीबाट जर्मन भाषामा अनुवाद गर्ने क्रममा हेनिमेनले ‘सिनकोना’ भन्ने औषधिका बारेमा विशेष जानकारी पाए। एक स्वस्थ व्यक्तिले सिनकोनाको अर्क (एक्सट्राक्ट) सेवन गर्दा मलेरिया ज्वरोको जस्तै लक्षण उत्पन्न हुन्छ।

तर, सिनकोना मलेरिया ज्वरोको महत्वपूर्ण औषधि हो भन्ने यिनलाई थाहा भयो। आफ्नै शरीरमा सिनकोनाको अर्कको प्रयोगले डा.हेनिमेन यस निष्कर्षमा पुगे कि जुन औषधीय गुणयुक्त पदार्थ (औषधि) एउटा स्वस्थ मानिसमा प्रयोग गर्नाले जुन किसिमका लक्षण उत्पन्न हुन्छन्, उही औषधि त्यस्तै लक्षणयुक्त भएको रोगी व्यक्तिलाई (शक्तीकृत) रूपमा थोरै मात्रामा सेवन गराउनाले आरोग्य प्रदान गर्दछ।

यही कुराको चिन्तन–मनन गर्दा गर्दै उनको मनमा विचार आयो कि सिनकोनाको जस्तै प्रकृतिप्रदत्त अन्य औषधीय पदार्थमा पनि रोगोत्पादन र विनाश शक्ति विद्यमान छ। यसै आधारमा हेनिमेनले ६ वर्षसम्म अनवरत आफ्नो शरीरमाथि नाना प्रकारका औषधि परीक्षण गरे। यसै परीक्षणले हेनिमेनलाई ‘समः समं शमयतिः’ अर्थात जसले रोग उत्पन्न गर्दछ, उसैले रोग निको पार्छ भन्ने जानकारी भयो र उनले सदृश रोगको सदृश चिकित्सा भन्ने नयाँ सिद्धान्त प्रतिपादन गरे।

उनले समानताले समानताको उपचारको पद्धतिलाई व्यावहारिक एवं स्वाभाविक बनाए। यसप्रकार हेनिमेनले व्यापक परीक्षण, अनुभव एवं शोधपश्चात रोगको स्थायी चिकित्सा विधि खोजे र त्यसलाई होमियोप्याथी नाम राखे। होमियोप्याथी अर्थात रोगको सदृश चिकित्सा विज्ञान १८औँ शताब्दीको अन्ततिरको एउटा चमत्कारी तर वैज्ञानिक चिकित्साजगत्को उपलब्धि हो।

यसको चिकित्सा दर्शनले विश्वलाई एक नयाँ चिकित्सा दर्शन दिएको छ जसको कुनै विकल्प छैन। होमियोप्याथीले विश्व स्वास्थ्य मिसन पूरा गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। जसको परिणाम आज हाम्रो सामु छ। होमियोप्याथी आज विश्वको नब्बेभन्दा बढी मुलुकमा मुख्यरूपले दक्षिण र उत्तरी अमेरिका, भेनेजुएला, अर्जेन्टिना, जर्मनी, युक्रेन, रुस, कनाडा, बेलायत, अमेरिका, फ्रान्स, जापान आदि मुलुकमा प्रचलित छ।

उल्लेखनीय कुरो के छ भने भारत, श्रीलंका, पाकिस्तान, ब्रिटेन, नेपाल आदि देशका स्वास्थ्य सेवामा होमियोप्याथी पनि समावेश गरिएको छ। एक रिपोर्टअनुसार विश्वमा लगभग १५ प्रतिशत भन्दा बढी मानिस होमियोप्याथी चिकित्सा पद्धतिद्वारा आफ्नो रोगको उपचार हुनेमा विश्वास गर्छन्। होमियोप्याथीको लोकप्रियताको अनुमान यस तथ्यबाट पनि लगाउन सकिन्छ कि आफ्नो जन्मको लगभग २०० वर्षभित्र नै समुन्द्रको गहराइलाई पार गर्दै विश्वको महत्वपूर्ण देशहरूमा फैलिएर जनस्वास्थ्यको विकल्प बन्नेतर्फ अग्रसर छ।

ध्यान दिनुपर्ने कुरो के छ भने विश्वको अन्य कुनै पनि चिकित्सा पद्धति यस्तो छैन जसको औषधि या उपचार विधि सरल, सौम्य, सुरक्षित, पीडामुक्त एवं दुष्प्रभावरहित होस्। यसका साथै संसारमा प्रचलित अन्य चिकित्सा पद्धतिमध्ये कसैको दर्शन लिखित या निश्चित छैन। होमियोप्याथी नै एक मात्र चिकित्सा पद्धति हो जसको दर्शन एवं सिद्धान्त निश्चित छ। यसमा रोगीको आचार, विचार, व्यवहार, शारीरिक बनावटदेखि लिएर उसको मनोभावना एवं व्यक्तित्वसमेतलाई ध्यानमा राख्दै औषधि छनोट गरिन्छ।

सिमलिमम (समान) औषधिको सेवनलै बिरामीलाई पूर्णरूपले स्वस्थ बनाउँछ। होमियोप्याथीको खास विशेषता के हो भने रोगीको उपचार आरम्भ गर्नका लागि तामझाम तथा धेरै जाँचपड्तालको आवश्यकता पर्दैन। आज पूरै विश्वमा जहाँ एलोप्याथिक उपचार गरिबको पहुँचबाट टाढा हुँदै गइरहेको छ। त्यही अपेक्षाकृत कम खर्चिलो हुने भएका कारण होमियोप्याथिक उपचार आममानिसको पहुँचमा छ।

केवल होमियोप्याथी औषधि नै यस्तो छ जसले आममानिसलाई अत्यधिक महँगो औषधिहरूको जालबाट निकाल्न सक्छ। विश्वमा होमियोप्याथिक चिकित्साविना सम्पूर्ण स्वास्थ्यको कल्पना सम्भव छैन। होमियोप्याथीले आफ्नो आविष्कारको लगभग २०० वर्षको अन्तरालमा रोगमुक्त समाजको स्थापनाको लक्ष्यलाई प्राप्त गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

अझै होमियोप्याथी सेवा विस्तारको असीमित संभावना विद्यमान छ। विशेषगरी विकासशील मुलुकहरू जहाँ स्रोत–साधनको पूर्णतया अभाव छ, सर्वसाधारणको आर्थिक अवस्था न्यून छ, त्यहाँ होमियोप्याथिक चिकित्साको महत्व अझ बढी छ। नेपालको स्वास्थ्य क्षेत्रमा होमियोप्याथिक चिकित्साले २००७ सालदेखि नै प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ। होमियोप्याथिक चिकित्साको क्षेत्रमा डा. हेनिमेनद्वारा प्रतिपादित सार्वभौम दर्शन एवं सिद्धान्तप्रति आमजनमानसमा सचेतना जागृत गर्ने बेला आइसकेको छ।

किनभने डा. हेनिमेनले विश्वलाई एउटा यस्तो चिकित्सा पद्धति दिएर गएका छन् जसको हालसम्म कुनै विकल्प छैन। प्रेरणादायी व्यक्तित्वहरूका उपलब्धिहरू राष्ट्रिय एवं अन्तर्राष्ट्रिय समस्याहरूको समाधान, विशिष्ट विचार एवं दर्शन तथा सिद्धान्तहरूप्रति जनचेतना विकास गर्नका लागि अनेक प्रकारका विश्व दिवसको आयोजना बेला–बेलामा विभिन्न एन.जि.ओ., आइ.एन.जि.ओ. को माध्यमले गरिँदैछ।

होमियोप्याथीका जन्मदाता डा. हेनिमेनको २६२औँ जन्मजयन्ती तथा विश्व होमियोप्याथिक दिवस पनि विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइँदैछ। नेपालमा पनि यो दिवस मनाउन थालेको धैरै वर्ष भइसकेको छ। जीवनको अन्तिम क्षणमा पनि मानव सेवामा समर्पित डा. हेनिमेनको सन् १८४३ जुलाइ २ मा ८९ वर्षको उमेरमा पेरिसमा निधन भयो।

उनी बितेको धेरै वर्ष भइसक्यो तर उनले विकास गरेको उपचार पद्धति संसारभर पुगेको छ। यस आधारमा भविष्यमा डा. हेनिमेनले विकास गरेका होमियोप्याथी संसारकै सबैभन्दा प्रभावकारी उपचार पद्धतिका रूपमा स्थापित हुने आशा गर्न सकिन्छ।

प्रकाशित: २७ चैत्र २०७८ ०३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App