१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

भूकम्पीय असर

महाभूकम्पको त्रास अझै हटेको छैन। वैशाख १२ गते दिउँसो सुरु भएको महाविनाशकारी भूकम्पपछि पनि त्यसका प्रतिकम्पनहरु आइरहेकाले हामी अझै भूकम्पीय त्रासबाट सुरक्षित नदेखिएका हौं। कतिखेर घर–कोठा छाडेर खुला चौरमा लुट्पुटिनुपर्ने हो, पालमुनि घुस्रिनुपर्ने हो अनिश्चित छ।सबैको मनस्थिति कतिखेर भूकम्पको झट्का आउने हो, वैशाख १२ भन्दा ठूलै भूकम्प त आउने हैन भन्ने त्राही–त्राहीमा गुजि्ररहेको छ। भूकम्पबाट विचलित मनस्थितिका कारण नियमित पेशा, व्यवसाय, विद्यार्थीको पठनपाठन लथालिङ्ग बनेको छ। र सबैको ध्याउन्न छ– कहिले यस विनाशकारी भूकम्पकोे त्रासबाट सधैंका लागि मुक्ति पाइएला।

महाभूकम्पका कारण खासगरी सिन्धुपाल्चोक, दोलखा, गोरखा, रसुवा, नुवाकोट, धादिङ, रामेछाप, मकवानपुर र उपत्यकाका तीन जिल्लामा अत्याधिक मानवीय र भौतिक क्षति भयो। पटकपटकको पराकम्पनका केन्द्रविन्दु परेकाले सिन्धुपाल्चोक, दोलखा, गोरखा थिलथिलो नै भएको छ। यी जिल्ला संकटग्रस्त बनेका छन्। काठमाडौं उपत्यकालाई एकैचोटी घुमिघुमी हेर्न सकिने, मनोरञ्जन दिइरहने हाम्रा अमूल्य सम्पदा, ऐतिहासिक धरोहर ...धरहरा' गर्ल्याम्मै ढलेर धुलोमाटो हँुदा सयौंको एउटै चिहान बन्यो। उपत्यकाका हजारौं वर्ष पुराना सांस्कृतिक ऐतिहासिक र कलात्मक मठ मन्दिर, बिहार, गुम्बा छिनमै कुरूप बने। देउतै–देउताको सहर भनेर विश्वमा चर्चित काठमाडौं सहरलाई विनाशकारी महाभूकम्पले हेर्दाहेर्दै छ्याके बनायो। जुन अब हाम्रा मानसपटलमा मात्र छन्, जुन बनाए पनि दुरुस्त हुनै सक्दैनन्।

यतिखेर सिंगो देश महाविपत्तिमा परेको छ। मुलुकले गुहार मागिरहेको छ। पचासौं लाख नेपाली प्रत्यक्ष विपत्तिमा परेका छन् र खुला आकाशमुनि बसेर सम्भावित विपत्तिको सामना गरिरहेका छन्। एक मुठी चिउरा, एक पाकेट चाउचाउका भरमा नाङ्गो आङ थापेर दैनिकी गुजार्दैछन्। घर भत्किएको छ, अन्नपात पुरिएका छन्, चुलो बाल्ने ठाउँ छैन, पकाउने अन्नपात छैन। विपत्तिको दलदलमा फसेका छन् हाम्रा पचासौं लाख नेपाली सन्तान। तर यतिखेर पुर्पुरोमा हात राखेर बस्ने अवस्था भने छैन। महाविपत्तिबाट शोकमा परेका हामी नेपालीले शोकलाई शक्तिमा परिणत गर्नु छ। विपत्तिको सामना गर्दै पुनर्निर्माणमा जुझारु भएर जुट्नु छ।

सर्वनाश भयो भनेर हात बाँधेर बस्ने बेला हैन यो। राज्यले देला, दातृसंस्थाले देला भनेर सहयोगको कचौरा मात्र थापेर विपत्तिबाट बच्न सकिँदैन। आफूसँग जे साधन, स्रोत र शक्ति बचेको छ, त्यसलाई अधिकतम उपयोग र प्रयोग गर्दै पुनर्निर्माण, उद्धार र राहतको कार्यमा लाग्नु एकमात्र विकल्प हो। शोकलाई शक्तिमा बदल्दै जहाँ–जहाँ विपत्ति परेको छ, उद्धार र राहतको आवश्यक छ, त्यहाँ–त्यहाँ पुगेर आफूलाई अधिकतम उपयोग गराउन सक्नु नै यतिखेरको प्राथमिकता हो। यद्यपि विश्व समुदायले पनि प्रशस्तै सहयोगी हात बढाइरहेका छन्। देशभित्रका सामाजिक, सामुदायिक संघ–संस्था, व्यापारिक प्रतिष्ठानहरु, साहू/महाजनहरुले पनि प्रशस्तै आर्थिक, भौतिक सहयोग गरेका छन्। राजनीतिक दलका संगठनहरु आफ्ना हैसियतअनुसार पुनर्निर्माण कार्यमा जुटेका छन्। उद्धार गर्ने क्रममा विदेशी मित्रहरुले प्रविधियुक्त उद्धार टोली पठाएर धेरैको उद्धार गरे। पुरिएका, भासिएकाहरुको जिउँदै उद्धार गरे भने लाससमेत निकाल्न सफल भए। यस अर्थमा ती सहयोगी हातहरुलाई साधुवाद र राजनीतिक कारणले सधैं आलोचनाको शिकार बनिरहने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले गरेको अमूल्य योगदानको सराहना गर्नुपर्छ।

धन/जन गुमाएकाहरुका लागि विश्व समुदायले प्रशस्तै सहयोग गर्ने वचन दिएका छन्। राहत सामग्री आउने क्रम पनि जारी छ। यस्तो सहयोग पारदर्शी ढंगबाट वितरण हुनसकेमा कोही भोकै नाङ्गै बसेको समाचार सुन्नुपर्ने छैन। भनाइको मतलव प्राप्त सहयोगलाई राज्यले उचित व्यवस्थापन मात्र गर्न सके पनि भूकम्पपीडितहरुको राहत र पुनर्निर्माणमा कुनै कमी हुने छैन। जसले नेपालीको पीडा थोरै भए पनि कम गर्न सघाउने निश्चित छ।

प्रकाशित: १४ असार २०७२ २१:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App